News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२६ मा नेपालले आईसीसी टी-२० विश्वकप क्रिकेटमा तेस्रो पटक सहभागिता जनाउनेछ र समूह सी मा इंग्ल्याण्ड, वेष्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्नेछ।
- नेपालले सन् २०२६ को सुरुमै आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर आयोजना गर्नेछ, जसमा विश्वका १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
- २०२६ मा जापानको आइची नागोयामा आयोजना हुने २०औं एसियन गेम्समा नेपालले ३२ खेलमा ४३४ खेलाडीको सहभागिता जनाउने तयारी गरेको छ।
काठमाडौं । यतिबेला अंग्रेजी नयाँ वर्ष २०२६ लाई स्वागत गर्ने बेला भएको छ । खेलकुदमा पनि नयाँ वर्षमा के-कस्ता प्रतियोगिता आयोजना होला भन्ने कौतुहलता सबैलाई छ ।
सन् २०२६ मा विश्व खेलकुदमा फुटबल र क्रिकेटको विश्वकपदेखि मल्टी गेम इभेन्ट लगायत ठूला प्रतियोगिताहरू पनि आयोजना हुनेछन् ।
यस्तै एसियामा एसियाको ओलम्पिक मानिने २०औं एसियन गेम्स पनि यही वर्ष आयोजना हुँदैछ । कमनवेल्थ गेम्स जस्ता मल्टी गेम इभेन्ट पनि यसै वर्ष छ ।
हरेक चार वर्षमा आयोजना हुने फिफा विश्वकप फुटबल र दुई वर्षमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट जस्ता ठूला इभेन्टहरू सहित वार्षिक रुपमा आयोजना हुने अन्य खेलका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताले निरन्तरता पाउनेछन् ।
नेपाली खेलकुदका लागि पनि सन् २०२६ महत्वपूर्ण वर्ष बन्नेछ ।
फिफा विश्वकप खेल्न नसकेपनि नेपालले क्रिकेटको टी-२० विश्वकप भने यही वर्ष खेल्दैछ । नेपालले तेस्रो पटक टी२० विश्वकप खेल्न लागेको हो । यस्तै एसियन गेम्सका पनि नेपालबाट विभिन्न खेलले सहभागिता जनाउने र पदक जित्ने लक्ष्य राखेको छ ।
क्रिकेट विश्वकप खेल्ने नेपालले वर्ष २०२६ मा फुटबलमा भने साफ च्याम्पियनसिप मात्र खेल्ने तालिका छ । २०२६ मा नेपालले सहभागिता जनाउने विश्वकप देखि ठूला खेल प्रतियोगिताहरू यस प्रकार छन् ।
आईसीसी टी-२० विश्वकप

आईसीसी टी-२० विश्वकपको दशौं संस्करण भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुँदैछ । जसमा नेपालसहित कूल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । टी-२० विश्वकपमा एसोसिएट राष्ट्रहरूले पनि टेष्ट राष्ट्रहरूसँग खेल्ने पाउने भएकोले साना राष्ट्र र नेपाल जस्ता उदाउँदै गरेको राष्ट्रको लागि पनि महत्वपूर्ण हुनेछ ।
नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकप खेल्न लागेको हो । नेपालले सन् २०१४ मा बंगलादेशमा टी२० विश्वकप खेल्दै विश्वकपमा डेब्यु गरेको थियो । यस्तै गत वर्ष नेपालले अमेरिका र वेष्ट यन्डिजमा भएको टी२० विश्वकप खेलेको थियो ।
विश्वकपमा नेपाल समूह सी मा छ । जहाँ नेपालले तीन टेष्ट राष्ट्र इंग्ल्याण्ड, वेष्ट इन्डिज र बंगलादेशसँगै पहिलो पटक टी२० विश्वकपमा छनोट भएको इटलीसँग समूह चरणमा खेल्नेछ । इंगल्याण्ड र वेष्ट इन्डिज पूर्व विजेता समेत हो । वेष्ट इन्डिज र बंगलादेशसँग नेपालले यसअघि नै टी२० अन्तर्राष्ट्रिय खेल खेलेपनि इंग्ल्याण्ड र र इटलीसँग भने नेपालको पहिलो भेट हुनेछ ।
नेपालले पहिलो खेल नै इंग्ल्याण्डसँग फेब्रुअरी ८ मा खेल्नेछ भने इटलीसँग फेब्रुअरी १२ मा दोस्रो खेल खेल्नेछ । यस्तै वेष्ट इन्डिजसँग फेब्रुअरी १५ र बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले सबै खेल मुम्बईस्थित वान्खडे स्टेडियममा खेल्नेछ ।
टी-२० विश्वकपमा कूल २० राष्ट्र सहभागी छन् र चार समूहमा (५-५ टिम) विभाजन गरिएको छ । समूह चरणको खेलपछि हरेक समूहबाट २-२ टिम सुपर एट चरणमा प्रवेश गर्नेछन् ।
महिला टी२० विश्वकप ग्लोबल क्वालिफायर

वर्ष २०२६ को सुरुमै नेपालले महत्वपूर्ण प्रतियोगिता नै आयोजना गर्दैछ त्यो हो आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर ।
नेपाली महिला क्रिकेटको इतिहासमा यो अहिलेसम्मकै ठुलो प्रतियोगिता हुनेछ । नेपालले आयोजना गर्न लागेको पनि यो ठूलो क्रिकेट प्रतियोगिता हो । यसअघि नेपालमा पुरुष टी-२० विश्वकपको एसिया क्षेत्रिय छनोट आयोजना भएको थियो । तर कुनै पनि विश्वकपको लागि ग्लोबल क्वालिफायर नै आयोजना हुन लागेको यो पहिलो पटक हो ।
सन् २०२६ मै इंग्ल्याण्ड र वेल्समा आयोजना हुने महिला टी-२० विश्वकपमा छनोट हुने माध्यम पनि यही महिला टी-२० ग्लोबल क्वालिफायर नै हो । जहाँ नेपालसहित विश्वका १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालको महिला टिमले एसिया क्षेत्र छनोटको शीर्ष दुईमा रहँदै पहिलो पटक ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो ।
यस क्वालिफायरको खेलहरू कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेलाइनेछ ।
ग्लोबल क्वालिफायरमा बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका समूह ए मा छन् भने आयोजक नेपालहसित नेदरल्याण्ड्स, स्कटल्याण्ड, थाइल्याण्ड र जिम्बाव्वे समूह बी मा छन् ।
नेपालले पहिलो खेल थाइल्याण्डसँग जनवरी १८ मा मुलपानीमा खेल्नेछ । त्यसपछि नेपालले जनवरी २२ मा मुलपानीमै नेदरल्याण्ड्ससँग खेल्नेछ भने जनवरी २४ मा जिम्बाव्वे र जनवरी २६ मा स्कटल्याण्डसँग टीयू स्टेडियममा खेल्नेछ ।
समूह चरणको खेलपछि दुवै समूहबाट शीर्ष ३-३ टोली सुपर सिक्स चरणमा पुग्नेछन् । सुपर सिक्समा हरेक टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछ । सुपर सिक्समा शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् र आईसीसी महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
आईची नागोया एसियन गेम्स

वर्ष २०२६ मा नेपालले खेल्ने ठूलो खेल मेलाको रुपमा २०औं एसियन गेम्स रहने छ ।
जापानको आइची नागोयामा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २०औं आइची नागोया एसियन गेम्समा नेपालले सहभागिता जनाउनेछ ।
एसियन गेम्समा स्वर्ण पदकसहित दोहोरो संख्यामा पदक जित्ने लक्ष्यका साथ मिसन २०२६ अन्तर्गत विभिन्न खेलका विशेष प्रशिक्षण सञ्चालन भइरहेको छ ।
पछिल्लो समय नेपालमा ओलम्पिक कमिटीको विषयमा विवाद हुँदा नेपालले कति खेलमा कति खेलाडी सहभागि गराउने भन्ने अन्योल कायमै रहँदा नेपालबाट ३२ खेल एसियन गेम्समा दर्ता भएको छ ।
सुरुमा जीवनराम श्रेष्ठ मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी र सरकारको तर्फबाट युवा तथा खेलकुद मन्त्रालयले छुट्टा छुट्टै खेलको सूची दर्ता गराएका थिए ।
तर २०औं एसियन गेम्स आयोजक कमिटीले सरकारले पठएको सूची दर्ता गरेन भने जीवनराम श्रेष्ठ नेतृत्वको कमिटीले पठाएको खेललाई दर्ता गरेको थियो ।
त्यसपछि श्रेष्ठ नेतृत्वकै कमिटीले फुटबल र तेक्वान्दो थप गर्दै ३२ खेलमा पुरुषतर्फ २३९ र महिलातर्फ १९५ खेलाडी गरी कूल ४३४ खेलाडीको नाम दर्ता गराएको छ । यही खेल र खेलाडीबाटै नेपालबाट सहभागी हुने अन्तिम टोलीको टुङ्गो लाग्नेछ ।
जेनजी आन्दोलनपछि बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बने । उनै गुप्ताको अध्यक्षतामा बनेको राखेपको १२४औं बोर्ड बैठकले पनि २०औं एसियन गेम्समा सहभागी हुने निर्णय गरेको छ । तर बैठकले कुन मोडालिटीमा खेलाडी सहभागी हुने, जीवनराम श्रेष्ठ नेतृत्वकै कमिटीले पठाएको खेल र खेलाडीको नाम सदर गर्ने/नगर्ने विषयमा कुनै निर्णय गरेको छैन ।
श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको सोमबार सम्पन्न वार्षिक साधारण सभाले राखेपको बोर्ड बैठकले एसियन गेम्समा सहभागि हुने निर्णय गर्नु सकारात्मक भएको तर त्यसका लागि ओलम्पिक कमिटीसँगै समन्वय गर्नुपर्ने बताए ।
विन्टर ओलम्पिक / विन्टर पारालिम्पिक

विन्टर ओलम्पिक र विन्टर पारालिम्पिक पनि सन् २०२६ मै आयोजना हुँदैछ । विन्टर ओलम्पिक यस वर्ष फेब्रुअरी ६ देखि २२ सम्म इटलीको मिलान एण्ड कोर्टिना डी, एम्पेजोमा आयोजना हुँदैछ ।
जहाँ हिउँमा खेलिन्ने विभिन्न १६ खेल समावेश छन् । विश्वका ९० राष्ट्रबाट करिब ३ हजार खेलाडीले विन्टर ओलम्पिकमा भाग लिने अनुमान छ ।
नेपालबाट भने अहिलेसम्म कुन खेलमा कुन खेलाडीले भाग लिने तय भएको छैन । विन्टर ओलम्पिक खेल्नका लागि छनोट हुनुपर्ने भएकोले नेपालबाट अहिलेसम्म कुनै पनि खेलाडी छनोट भएका भने छैनन् ।
यसैगरी इटलीमै मार्च ६ देखि १५ सम्म विन्टर पारालिम्पिक पनि आयोजना हुँदैछ । जहाँ विभिन्न ६ पारा खेल समावेश हुनेछ ।
एसियन बिच गेम्स

छैटौं एसियन बिच गेम्स पनि यही वर्ष हुँदैछ । एसियन बिच गेम्स अप्रिल २२ देखि ३० सम्म चीनको सान्यामा आयोजना हुनेछ । जहाँ विभिन्न १४ खेलमा प्रतिस्पर्धा गराइनेछ ।
एसियन बिच गेम्समा ओलम्पिक काउन्सिल अफ एसियाका ४५ वटै सदस्य राष्ट्रले सहभागिता जनाउने अपेक्षा छ ।
सन् २००८ मा इन्डोनेसियाको बालीमा पहिलो संस्करण आयोजना भएको एसियन बिच गेम्सको हरेक दुई-दुई वर्षको अन्तरमा आयोजना भएको थियो । सन् २०१६ मा पाँचौ संस्करण बयोजना भएपनि भने एसियन बिच गेम्स आयोजना हुन सकेको छैन ।
कोभिड महामारीले गर्दा २०२० मा तय भएको एसियन बिच गेम्स आयोजना हुन सकेन । एक दशकको ब्रेकपछि एसियन बिच गेम्स आयोजना हुन लागेको हो ।
सान्या एसियन बिच गेम्स आयोजना गर्ने चीनको दोस्रो शहर बन्नेछ । यसअघि सन् २०१२ मा चीनको हाईयाङमा एसियन बिच गेम्स आयोजना भएको थियो ।
यसैगरी एसियन इन्डोर एण्ड मार्सल आर्ट्स गेम्स पनि सन् २००६ मै आयोजना हुँदैछ । सन् २०२१ मा थाइल्याण्डको चोनबुरीमा एसियन इन्डोर गेम्स हुने भनिएपनि कोभिड महामारीका कारण रद्द भएको थियो ।
यस पटक साउदी अरेबियामा हुने घोषणा भएपनि आधिकारिक मिति भने आइसकेको छैन ।
नेपालले एसियन बिच गेम्स र एसियन इन्डोर एण्ड मार्सल आर्ट्स गेम्स दुवैमा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
डाकार युथ ओलम्पिक्स २०२६

यस वर्ष युथ ओलम्पिक खेलकुद पनि आयोजना हुँदैछ । अफ्रिकी राष्ट्र सेनेगलमा डाकार युथ ओलम्पिक २०२६ अक्टोर ३१ देखि नोभेम्बर १३ सम्म आयोजना हुँदैछ ।
नेपाल ओलम्पिक कमिटीले डाकार युथ ओलम्पिक्समा पनि नेपालले सहभागिता जनाउने जनाएको छ ।
सन् २०१० मा सिंगापुरबाट सुरु भएको युथ ओलम्पिक गेम्सको चौथो संस्करण सेनेगलमा हुन लागेको हो । दोस्रो संस्करण चीनको नान्जिङ र तेस्रो संस्करण अर्जेन्टिनाको ब्युनस आयर्समा २०१९ मा आयोजना भएको थियो ।
चौथो संस्करण सन् २०२२ मा आयोजना हुने तय भएपनि कोभिड महामारीले गर्दा स्थगित भएको थियो ।
नेपालले खेल्ने अन्य क्रिकेट, फुटबल र भलिबल प्रतियोगिता/सिरिजहरू
सन् २०२६ मा नेपाली पुरुष टिमले टी-२० विश्वकप क्रिकेट खेल्ने पक्का छ नै । एकदिवसीय विश्वकपको आधारको रुपमा रहेको आईसीसी टी२० विश्वकप लिग टु अन्तर्गतका बाँकी चार सिरिजहरू पनि खेल्नेछ । त्यसमा दुई त्रिकोणात्मक सिरिज नेपालले आफैं आयोजना गर्ने तालिका छ भने दुई सिरिज नेपालले बाहिर गएर खेल्नुपर्नेछ ।
सन् २०२४-२६ को लिग टु साइकलमा नेपालसहित एसोसिएट राष्ट्रका ८ टोली सहभागी छन् । लिग टु आधाभन्दा बढी सिरिज भइसक्दा नेपालको प्रदर्शन कमजोर देखिएको छ ।
अमेरिका २४ खेलबाट ३६ अंक जोडेर शीर्ष स्थानमा रहँदा समान खेलबाट स्कटल्याण्ड ३० अंकसहित दोस्रो र नेदरल्याण्ड्स २८ अंकका साथ तेस्रो स्थानमा छ ।

२० खेल खेलेको नेपाल भने जम्मा ५ खेल मात्र जित्दै १२ अंकसहित सातौं स्थानमा छ ।
लिग टु मा शीर्ष चारमा रहने टोली सिधै एकदिवसीय विश्वकपको लागि क्वालिफायरमा पुग्नेछ भने बटमको चार टिमले क्वालिफायर प्लेअफ खेल्नेछ ।
विश्वकपमा छनोट हुने आधारसँगै वानडे स्ट्याटस कायम राख्न समेत लिग टुका खेलहरू महत्वपूर्ण रहेकोले नेपालले बाँकी रहेका सिरिजहरूमा प्रदर्शनमा सुधार गर्नुपर्ने चुनौती छ ।
फुटबल
यस्तै फुटबलतर्फ भने नेपालको अवस्था क्रिकेट भन्दा ठिक उल्टो छ । घरेलु लिग हुनै मुस्किल भइरहेको अवस्था नेपाल एसियन कप छनोटको होडबाट बाहिरिसकेको छ । यस्तै नेपालको लागि दक्षिण एसियाका टिमहरूबीच प्रतिस्पर्धा हुने साफ च्याम्पियनसिप जित्नु नै ठूलो चुनौती बनिसकेको छ । नेपालले अहिलेसम्म साफ जित्न सकेको छैन ।
पुरुष र महिला दुवैको साफ च्याम्पियनसिप यही वर्ष २०२६ मा आयोजना हुने तय छ । साफ महिला च्याम्पियनसिप जुन-जुलाईतिर भारतमा आयोजना हुने तयारी छ ।
यस्तै साफ च्याम्पियनसिप भने कुन मोडलमा कुन देशमा आयोजना हुने अहिलेसम्म टुङ्गो छैन । यसअघि श्रीलंकामा साफ च्याम्पियनसिप आयोजना गर्ने तयारी भएपनि हुन सकेन ।

यस्तै त्यसपछि होम अर अवेको अवधारणमा पुरुक्षको साफ च्याम्पियनसिप गर्ने साफले घोषणा गरेको थियो । तर त्यो फर्म्याटमा पनि हुने सम्भावना कमजोर बनेपछि अब साफ च्याम्पियनसिप २०२६ सेप्टेम्बर-अक्टोबरतिर गर्ने तयारी छ । अब ‘सेन्ट्रलाइज्ड भेन्यू’मा हुनेछ भने सम्भवत बंगलादेशले पुरुष साफ आयोजना गर्नेछ । यद्यपी यसको आधिकारिक रुपमा घोषणा हुन भने बाँकी नै छ ।
यस बाहेक उमेर समूहका महिला र पुरुषको साफ च्याम्पियनसिपका केही प्रतियोगिता पनि यस वर्ष हुनेछ ।
२०२६ को फेब्रुअरीमा साफ यू-१९ महिला च्याम्पियनसिप पोखरामा गर्ने तयारी भइरहेको छ ।
काभा क्लब भलिबल माल्दिभ्समा

भलिबलमा वर्षको सुरुमा नेपालको पुलिस क्लबले काभा महिला क्लब च्याम्पियनसिप खेल्दैछ । काभा महिला च्याम्पियन्स लिग फेब्रुअरीमा माल्दिभ्सको मालेमा हुनेछ ।
यसअघि यो च्याम्पियनसिप डिसेम्बरमा काठमाडौंमै आयोजना हुने तालिका थियो। तर जेन्जी आन्दोलनका कारण नेपालमा हुने अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरू प्रभावित बन्यो ।
जसको फलस्वरुप काभा महिला च्याम्पियनसिप र काभा महिला च्याम्पियन्स लिग भलिबल नेपालमा हुन सकेन ।
महिला टी-२० विश्वकप

आईसीसी महिला टी२० विश्वकप पनि यही वर्ष इंग्ल्याण्डमा आयोजना हुँदैछ । जुन१२ देखि जुलाई ५ सम्म आयोजना हुने महिला टी२० विश्वकपमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जहाँ ८ टोली यसअघि नै सिधै छनोट भइसकेका छन् भने बाँकी चार टोलीको टुङ्गो नेपालमा हुने ग्लोबल क्वालिफायरबाट लाग्नेछ । यदी नेपाल ग्लोबल क्वालिफायरको शीर्ष चारमा पुग्न सकेमा पहिलो पटक महिला विश्वकपमा पुग्नेछ ।
आयोजक इंग्ल्याण्डसँगै अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इन्डिज सन् २०२४ मा भएको विश्वकपका आधारमा स्वत छनोट हुँदा पाकिस्तान र श्रीलंका उच्च वरियतामा आधारमा छनोट भएका हुन् ।
फिफा विश्वकप फुटबल

वर्ष २०२६ को सबैभन्दा ठूलो खेलमेला भनेकै फिफा विश्वकप हो । विश्व खेलकुदको राजा मानिने फुटबलको विश्वकप हरेक चार-चार वर्षमा आयोजना हुने गर्छ ।
यस पटक अहिलेसम्मकै धेरै राष्ट्र सहभागी र अहिलेसम्मकै ठूलो फिफा विश्वकप हुँदैछ । उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने २३औं संस्करणको यस विश्वकपमा विश्वभरका ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो पटक तीन राष्ट्रले फिफा विश्वकप आयोजना गर्न लागेका हुन् । यस्तै विश्वकपमा अहिलेसम्मकै सबैभन्दा धेरै ४८ राष्ट्रले सहभागिता जनाउन लागेका हुन् ।
जुन ११ देखि जुलाई १९ सम्म तीन राष्ट्रका विभिन्न १६ भेन्युमा विश्वकपका खेलहरू आयोजना हुनेछन् । जोर्डन, केप भर्डे र कुराकाओ पहिलो पटक विश्वकपमा छनोट भएका छन् ।
कमनवेल्थ गेम्स

मल्टी स्पोर्ट्स इभेन्ट कमनवेल्थ गेम्स पनि यही वर्ष आयोजना हुँदैछ । कुनै समयमा बेलायतको उपनिवेशमा रहेका राष्ट्रहरू सहभागि हुने खेलकुद मेला हो कमनवेल्थ गेम्स ।
यस पटक कमनवेल्थ गेम्स स्कटल्याण्डको ग्लास्गोमा जुलाई २३ देखि अगष्ट २ सम्म आयोजना हुनेछ ।
जसमा कमनवेल्थ गेम्स एसोसिएसन अन्तर्गत रहेका ७४ राष्ट्रले भाग लिनेछन् । यसमा १० खेलको २१५ इभेन्स समावेश हुनेछ भने करिब ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
***
क्रिकेट र फुटबल बाहेक पनि वर्ष २०२६ मा अन्य विभिन्न खेलका ठूला प्रतियोगिताहरू आयोजना हुनेछन् । हरेक खेलको वार्षिक क्यालेन्डर अनुसारको विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता यस वर्ष पनि आयोजना हुनेछ ।
विश्वकप बाहेक चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल), टेनिसका चर्चित चार ग्राण्डस्लाम जस्ता ग्ल्यामरस खेल प्रतियोगिताहरू पनि यस वर्ष हुनेछन ।
प्रतिक्रिया 4