+
+
Shares
इशान मृत्यु प्रकरण :

परिवारले पत्याएन प्रहरी प्रतिवेदन, हत्या दाबी गर्दै प्रशासन घेराउ

प्रहरीले गाडीको ठक्करबाट इशानको मृत्यु भएको प्रारम्भिक अनुसन्धान रिपोर्ट बनाएको छ । तर मृतकका परिवार र गाउँलेले योजनावद्ध हत्या भन्दै दुई सातादेखि प्रशासन कार्यालय घेराउ गर्दै आएका छन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ पुष १५ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीको कञ्चन गाउँपालिकाका १७ वर्षीय इशान शर्माको शव पुस ३ गतेदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ र १४ दिनसम्म शव उठ्न सकेको छैन।
  • प्रहरीले इशानको मृत्यु गाडीको ठक्करबाट भएको प्रारम्भिक अनुसन्धान रिपोर्ट परिवारलाई सुनाएको भए पनि परिवारले योजनावद्ध हत्या भएको दाबी गरेका छन्।
  • जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चालकसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र चालकको पोलिग्राफ परीक्षण हुने जानकारी दिएको छ।

१५ पुस, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाका १७ वर्षीय इशान शर्माको शंकास्पद मृत्युको १४ दिनसम्म शव उठ्न सकेको छैन । कञ्चन गाउँपालिका-३ धौलागिरिचोक घर भएका इशानको शव पुस ३ गतेदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा छ ।

इशान स्थानीय बुद्धदीप बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए । उनी तेक्वान्दो खेलाडी र प्रशिक्षकसमेत थिए ।

पुस २ गते इशान पढाइ सकेर स्कुलबाट घर आएर पुनः तेक्वान्दो सिकाउन विद्यालय पुगेको र फर्केर जिम हाउस गएका थिए । तर साँझ घर फर्केका थिएनन् ।

अर्को दिन इशानको शव आफ्नै घरबाट डेढ सय मिटर उत्तरमा सडक किनारको नालीमुनि पुस ३ गते भेटिएको थियो । प्रहरीले गाडीको ठक्करबाट पुस २ गते साँझ इशानको मृत्यु भएको र ३ गते शव फेला परेको प्रारम्भिक अनुसन्धान रिपोर्ट परिवारजनलाई सुनाएपछि परिवार र स्थानीयले त्यसलाई अस्वीकार गर्दै योजनावद्ध हत्या भएको दाबी गरेका छन् ।

मृतक इशानको परिवारले मंगलबार घरमै पत्रकार सम्मेलन गरी गाडीको ठक्करबाट मृत्यु भएको भन्ने प्रहरीको भनाइ पत्यारलाग्दो नभएको तर्क गरेका छन् ।

मृतकका बुवा अर्जुन शर्माले प्रहरीले घटनाका वास्तविक दोषीलाई उम्काउन नक्कली (डमी) घटना देखाउन गाडीको ठक्करबाट इशानको मृत्यु भएको प्रारम्भिक अनुसन्धान प्रतिवेदन जानकारी गराएको बताए ।

प्रहरीले ‘इशानको शव ढक्कन भएको नालीमुनि लुकाइएको अवस्थामा भेटिनु, ठक्कर दिएको भए गाडीको ब्रेक लागेर टायर घिस्रिएको र रगतको कुनै दाग सडकमा हुनुपर्नेमा त्यो नभएको र गाडी चालकले बयानमा इशानलाई ठक्कर दिएको बयान नदिएको हुँदा यो दुर्घटना हुँदै होइन, हत्या हो,’ शर्माले भने, ‘ढक्कन भएको नालीमुनि खुट्टा पसारेर सुतेको अवस्थामा शव कसरी पुग्न र रहन सक्छ ? यसबाटै यो दुर्घटना हो भन्ने पत्याउन सकिन्न ।’

शर्माले छोराको अन्यत्र हत्या गरेर शवलाई घर नजिकै नालीमुनि ल्याएर राखिदिएको दाबी गरे । यदि आफ्नो गाडीको ठक्करबाट मृत्यु भएको भए चालकमा सहानुभूतिको भाव हुनुपर्नेमा पटक्कै नभएको बरु हाँसेर कुरा गर्ने गरेकाले पनि नक्कली दोषी खडा गरिएको आशंकालाई बल पुगेको शर्माको तर्क छ ।

‘यो घटनामा वास्तविक दोषी उम्काउन हाई प्रोफाइलकै संलग्नताको आशंका छ । कतै निर्मला पन्तको हत्या जस्तै दोषी पत्ता नलाग्ने हुन् कि भन्ने डर छ,’ उनले भने, ‘वास्तविक दोषी उम्किने हो भने सिंगो गाउँ असुरक्षित हुन्छ । भविष्यमा पनि यस्ता घटना दोहोरिन्छन् ।’

इशानकी आमा रमा शर्माले आफ्नो परिवारको सहारा गुमेको तर गाडीको ठक्करबाट मृत्यु भएको विश्वास नलाग्दा शव बुझ्न अस्वीकार गरेको बताइन् । १४ दिनसम्म घटनाको विश्वसनीय कारण पत्ता नलाग्दा दुई सातासम्म निदाउन नसकेको गुनासो गर्दै उनले निष्पक्ष छानबिन गरी न्याय दिन सरकारसँग माग गरिन् ।

मृतकका ठूलोबुबा पुष्पराज शर्माले प्रहरीको अनुसन्धानमा चित्त नबुझेको तर्क गर्दै प्रभावकारी अनुसन्धान गर्न मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर ध्यानाकर्षण गराइएको बताए ।

इशानले सानै उमेरमा तेक्वान्दोमा राम्रो प्रगति गरेको र केही समयअघि उनी पढ्ने स्कुलको गेट बाहिर साथीसँग विवाद र धक्कामुक्का भएको र उसले मार्ने धम्कीसमेत दिएकाले घटनाको बहुआयामिक कोणबाट अनुसन्धान गर्न परिवारले माग गरेको छ ।

घटनाको सत्यतथ्य अनुसन्धान गरी वास्तविक दोषी पत्ता लगाउन दबाब दिन उनीहरूले पटकपटक इलाका प्रहरी कार्यालय रुद्रपुर र सल्लझन्डी हुँदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पुगेर धर्नासहित नाराबाजी गरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलमा कञ्चन गाउँपालिकाका जनप्रतिनिधि र मृतकका आफन्तको उपस्थितिमा इशानको कुनै व्यक्तिबाट हत्या भएको नभई लु२ख ४९४८ नम्बरको गाडीले ठक्कर दिई मृत्यु भएको प्रारम्भिक प्रतिवेदन प्रहरीले सार्वजनिक गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले प्रारम्भिक रूपमा प्राप्त प्रमाणका आधारमा गाडीको ठक्करबाट मृत्यु भएको पाइएको, चालक सन्तोष खत्रीले बयानमा पनि स्वीकार गरेकाले चालकसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । चालकले सत्य वा झुठ बोलेको प्रमाणित गर्न एक/दुई दिनमै पोलिग्राफ जाँच हुने क्रममा रहेको कार्कीले बताए ।

उनले राज्यका निकायले गरेको अनुसन्धान निष्पक्ष र विश्वसनीय रहेको भन्दै विश्वास गर्न पीडित पक्षलाई आग्रह गरे

पुस २ गतेदेखि परिवारसँग सम्पर्कविहीन भएका इशान अर्को दिन ३ गते घर नजिकैको नालीमा टाउको पछाडि गम्भीर चोट र आँखा फोडिएको अवस्थामा मृत अवस्थामा भेटिएका थिए ।

 

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?