१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशनको मिति वैशाख २८-३१ मा गर्ने प्रस्ताव बहुमतले पारित भए पनि विशेषको कुरा नटुंगिएको बताएका छन् । उनले विधानको धारा १७(२) अनुसार नै पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बताएका हुन् ।
‘आजको बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नु भएको छ । धारा ४३ को प्रयोग गरेर प्रस्ताव राख्नु भयो। हामी ४-५ जनाको फरक मत भयो तर, बहुमतले पारित भयो,’ उनले भने, ‘विशेष महाधिवेशन माग गरेर पत्र बुझाएको ३ महिनाभित्र बोलाउन पर्नेछ । पुसको २८-२९ तीन महिनाको अन्तिम म्याद हो ।’
मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन नियमित महाधिवेशन हुने अवस्थामा मात्रै त्यो स्थगित हुने भनिएको तर नियमित नभए उक्त माग सम्बोधन गर्नुपर्ने अवस्था सुरु हुने थापाको भनाइ छ ।
उनले अब विशेष महाधिवेशनबारे निर्णय हुने पनि बताए । ‘आजको बैठकमा फरक मत लेख्यौँ, घर गयौँ सुत्यौँ भन्ने होइन । अझै एक दुई दिन हेर्छौँ । सभापतिले, कार्यवाहकले भोलिनै बैठक राखेर विधानको धाराअनुसार विशेष बोलाउनु भयो भने उत्तम हुन्छ,’ उनले भने, ‘हैन थप्यौँ सबै घर जाऔं भन्नुभयो भने यो मान्दैनौँ । यस्तो अवस्थामा मैले विधान १७ को २ को पालना मैले गर्छु, गराउँछु ।’
केन्द्रीय समिति बैठक तुरुन्तै डाकेर निर्णय भएन भने महामन्त्रीले डाक्ने पनि उनको भनाइ छ ।
‘केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय भएन भने महामन्त्रीले डाक्छ । एक दुई दिनमा प्रष्ट हुन्छ,’ उनले भने, ‘महाधिवेशन प्रतिनिधिहरूलाई यति भन्छु- पुसको मसान्तमा विशेष महाधिवेशन हुन्छ भने काठमाडौँमा आउने तयारी गर्नुस् ।’
प्रतिक्रिया 4