२० पुस, काठमाडौं । रास्वपाको महामन्त्रीमा काठमाडौंका मेयर बालेन शाहसँग निकट रहेर काम गरिरहेका सुनिल लम्सालको नाममाथि छलफल थालिएको छ ।
रास्वपा स्रोतका अनुसार, एक जना थप गरिने महामन्त्रीमा बालेन समूहका व्यक्तिको नाम अघि सार्ने सहमति यसअघि नै भइसकेको छ ।
जस अनुसार, आइतबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीसहित ४ जना पदाधिकारी थप्ने निर्णय पनि गरिसकेको छ । अहिले रास्वपा केन्द्रीय कार्यालयमा नयाँ थपिने पदाधिकारीबारे छलफल चलिरहेको छ ।
बालेन समूहबाट आउने नाम कुरिरहेको सो छलफलमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।
बालेन निकटस्थहरूले बताए अनुसार, उनीहरूले आफ्नो समूहबाट सुनिल लम्सालको नाम महामन्त्रीमा अघि सार्ने गरी छलफल भएको छ ।
‘सुनिलजीको नाम हाम्रो तर्फबाट फाइनल भएको छ,’ बालेन निकट एक नेताले भने, ‘अन्तिम समयमा कुनै फेरबदल नभए हामीले उहाँलाई नै महामन्त्री बनाउनेगरी अघि सारेका छौं ।’
लम्साल काठमाडौं महानगरपालिकामा विज्ञका रुपमा कार्यरत इन्जिनियर हुन् । उनी मेयर शाह निर्वाचित भएबेलादेखि नै एउटै टिममा रहेर काम गरिरहेका व्यक्ति हुन् ।
प्रतिक्रिया 4