२४ पुस, काठमाडौं । काठमाडौंमा बसका यात्रु लुटपाट गर्ने गिरोहका ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको दक्षिणकाली नगरपालिका-२ का ३७ वर्षीय सरोज खड्का, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका-७ घर भई काठमाडौंको काँडाघारी बस्ने ४२ वर्षीय विकाश लामा, तनहुँको म्याग्दे गाउँपालिका-५ घर भई काठमाडौंको टोखा बस्ने ३३ वर्षीय राजु गुरुङ र ललितपुरको ललितपुर महानगरपालिका-७ का ३३ वर्षीय सुवास मगर रहेका छन् ।
उनीहरूले मंगलबार सिनामंगल गोल्डेनगेट अगाडिबाट बसमा चढी काठमाडौंको मित्रपार्क जाने क्रममा एक युवकको साथमा रहेको नगद २ लाख ७५ हजार नगद र बुधबार सिनामंगलबाट एक महिलाको सुनको सिक्री लुटपाट गरेका थिए ।
पक्राउ परेका खड्का विरुद्ध अभद्र व्यवहार, चोरी, डाँका, लागुऔषध कसुर समेत गरी ११ वटा मुद्दा, लामाविरुद्ध अभद्र व्यवहार कसुरमा २ वटा मुद्दा, गुरुङविरुद्ध अभद्र व्यवहार कसुरमा ४ वटा मुद्दा र मगरविरुद्ध अभद्र व्यवहार कसुरमा २ वटा मुद्दा दर्ता भएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई तिलगंगाबाट नियन्त्रणमा लिएको थियो । काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिएर उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4