२५ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि संसद् र सरकार दुवैमा युवाहरूको वर्चश्व रहने दाबी गरेका छन् ।
शुक्रबार आफ्नो मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आंकलन गरेका हुन् ।
‘चुनाव हुन्छ फागुन २१ मा । चुनाव भएपछि तपाईंहरूलाई एउटा कुरा भनौँ–मेरो विचारमा जुनसुकै पार्टीले पनि अहिले कोटाहरू तोकेको छ युवाहरूका लागि । यो हामी आशा गर्ने ठाउँ हो । मैले यो फेक धरातलमा भनेको होइन । यस पटक पार्लियामेन्टमा वा गोभरर्मेन्टमा जुनसुकै पार्टीबाट आएपनि युवाहरूको यस्तो वर्चश्व हुनेवाला छ,’ उनले भने ।
मन्त्री खरेलले तोकिएको मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद र सरकारमा युवाहरूको वर्चश्व हुने भएकाले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासले त्यसले महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरे ।
संसद् र सरकार दुवैमा युवाहरूको वर्चश्व हुनु मुलुकका लागि नै खुशीको कुरा भएको समेत बताए ।
‘युवाहरूको वर्चश्व हुुन भनेको यो डिपार्टमेन्टको लागि खुशीको कुरा हो । त्यो संसदको समिति हुन्छ । त्यहाँ आवाज उठछ । सरकारमा आवाज उठ्छ कि अब आईसिटीतर्फ नबढी हुँदैन नेपाल बनाउने हो भनेर त्यो युवाहरूको जमात आईराख्दा यसलाई अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘अब म आफैं तपाईंसँग मन्त्रीको रुपमा तपाईहरूसँग रहेर काम गर्ने अवधिसम्म मैले त डिजी सावलाई भनेको छु–हलो अडकाएर जति गोरु चुटेपनि अगाडि बढ्न सक्दैन । मेरै ठाउँबाट ती कुराहरू अडकीराखेको हुनाले तपाईंहरूले जे गर्नुहुन्छ, त्यसमा मेरो सहमति हुन्छ ।’
प्रतिक्रिया 4