+
+
Shares

२१ बर्षदेखि त्रिशूलीको बालुवामा सुन खोज्दै बोटे परिवार, वर्षदिनमा भेटिन्छ ४ लाल

हरेक वर्ष कात्तिकदेखि घर छोडेर सुन खोज्ने धुनमा बोटे श्रीमती र बहिनीसहित फिस्लिङस्थित त्रिशूली किनार आउने गर्छन् । विगत २०-२१ वर्षदेखि यही काम गर्दै आएको बोटे बताउँछन्

दानबहादुर गुरुङ दानबहादुर गुरुङ
२०८२ पुष २५ गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कासी बोटे परिवारले विगत २०-२१ वर्षदेखि त्रिशूली र बूढीगण्डकी नदी किनारमा सुन खोज्ने काम गर्दै आएका छन्।
  • उर्मिला बताउँछिन्, खेतीले खान पुग्दैन, त्यसैले बालुवा चाल्न आउँछन् र सुनका कणहरू अहिले कम भेटिन्छन्।
  • कात्तिकदेखि वैशाखसम्म सुन खोज्ने बोटे परिवारले बाँकी समयमा माछा मारेर घर खर्च चलाउँछन् र अप्सराले दुई छोरालाई आफन्तको घरमा राखेकी छिन्।

२५ पुस, कुरिनटार । पुसको महिना कठ्याङ्ग्रिँदो जाडो छ,तर ६० वर्षीय कासी बोटे र उनको परिवारलाई चिसोको कुनै प्रवाह छैन । तनहुँको मध्यनेपाल नगरपालिका २ पिप्लेका बोटे परिवारको त्रिशूली किनारमै दिन काटिरहेका छन् ।

हरेक वर्ष कात्तिकदेखि घर छोडेर सुन खोज्ने धुनमा बोटे श्रीमती र बहिनीसहित फिस्लिङस्थित त्रिशूली किनार आउने गर्छन् । विगत २०-२१ वर्षदेखि यही काम गर्दै आएको बोटे बताउँछन् ।

बाउ-बाजेको पालादेखि यही पेसा गर्दै आएको तर अहिले यसलाई निरन्तरता दिनेको संख्या कम भएको उनी बताउँछन् ।

कात्तिक लागेदेखि वैशाखको अन्तिमसम्म त्रिशूलीको फिस्लिङ क्षेत्र हुँदै गल्छीसम्म बोटे परिवारले सुन खोज्ने गरेको छ । त्यसपछि उनीहरू बूढीगण्डकी नदीतर्फ लाग्छन् र गोरखाको आरुघाटसम्म पुग्छन् ।

मर्स्याङ्दी नदीमा पनि सुन पाइने भएकोले केही समय त्यता पनि जाने उनले बताए ।

‘असार-साउनको बाढीले बगाएर ल्याउने ढुंगासँगै सुन पनि माटोमा मिसिएर बग्छ,’ उनले उनले भने, ‘हिउँदको समयमा पानी घट्छ । यहाँका ढुंगाका चेपमा हुने वालुवा खोतलेर सुन खोज्छौँ । कतै भेटिन्छ, कतै भेटिँदैन ।’

किनारको बालुवाको थुप्रोमा त्रिपालको टहरो बनाएर बस्ने उनीहरूले दैनिकी गुजार्ने खर्च सुन खोजेर जुटाइरहेका छन् ।

५० वर्षकी उर्मिला घरमा छोरा, छोरी र बुहारीलाई यहाँ आएको बताउँदै भन्छिन्, ‘खेती गर्ने जमिन कम छ। भएको जग्गाको खेतीले खान पुग्दैन अनि यहाँ बालुवा चाल्न आयौँ । यहाँ नआए बिहान, बेलुका छाक केल्ले टार्ने ?’

उनले पहिलेजस्तै सुनका कँण भेटिन छोडेको पनि सुनाइन् । ‘यो सुन धुने काम सजिलो छैन। झन आजभोली सुनका कँणहरू कमै भेटिन्छन्,’ उनले गुनासो गरिन् ।

केही वर्षपहिले उनीहरूले वर्षमा ६ देखि ७ लालसम्म सुनका कँण जम्मा गर्दै आएकोमा पछिल्लो वर्षमा ३-४ लालसम्म मात्रै संकलन गरिरहेको बताए ।

कात्तिकदेखि वैशाखसम्म खोला किनारको बालुवामा सुन खोज्ने अरु बाँकी समयमा घर नजिकैको खोलामा माछा मारेर घर परिवारको खर्च आएको उनले बताए ।

बहिनी अप्सराका श्रीमानले अर्कैसँग विवाह गरेपछि कासीले बहिनीलाई पनि सँगै सुन खोज्न लिएर आउन थालेका हुन् । अप्सराका १५ वर्ष र २ वर्षका दुई छोरा छन् । उनीहरूलाई आफन्तको घरमा बस्न पठाएर आफू सुन खोज्न आएको अप्सरा बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?