+
+
Shares

विशेष महाधिवेशनको नाममा हुने गतिविधमा सहभागी नहुन मधेशका ८ जिल्ला सभापतिको आग्रह

नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गतका आठ जिल्लाका जिल्ला सभापतिहरूले पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आग्रह गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १७:०९

२५ पुस, काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गतका आठ जिल्लाका जिल्ला सभापतिहरूले पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आग्रह गरेका छन्।

आ-आफ्नो जिल्लाको लेटरप्याडमा संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा पार्टी विधानअनुसार ‘महाधिवेशन’ वा ‘विशेष महाधिवेशन’ बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको स्पष्ट पारिएको छ। कुनै पनि पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा महाधिवेशन वा विशेष महाधिवेशनको नाममा कार्यक्रम वा गतिविधि सञ्चालन गर्नु विधानविपरीत हुने उल्लेख गर्दै त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरिएको छ।

विज्ञप्तिमा जिल्ला, प्रतिनिधिसभा क्षेत्र, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्र, पालिका, वडा तथा टोल तहका समिति, भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई पार्टीको निर्णय, नीति र अनुशासन पालना गर्न आह्वान गरिएको छ।

यसैगरी, मिति २०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य तथा २०८२ फागुन २ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका आधिकारिक उम्मेदवारहरूलाई विजयी गराउन एकताबद्ध र सशक्त रूपमा अभियानमा जुट्न सबै नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई आग्रह गरिएको छ।

संयुक्त विज्ञप्तिमा महोत्तरी जिल्ला सभापति नागेश्वर प्रसाद यादव, सप्तरी जिल्ला सभापति रामदेव शाह, सर्लाही जिल्ला सभापति डा. सरोज कुमार यादव, बारा जिल्ला सभापति राजेश राय यादव, सिराहा जिल्ला सभापति रामचन्द्र यादव, रौतहट जिल्ला सभापति सुनिल कुमार यादव, पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री तथा धनुषा जिल्ला सभापति योगेन्द्र पञ्जियारले हस्ताक्षर गरेका छन्।

पार्टीको हित, प्रतिष्ठा र संगठन सुदृढीकरणका लागि अनुशासन, एकता र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै विज्ञप्तिको अन्त्यमा ‘जय नेपाल’ भनिएको छ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?