२५ पुस, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सही तथ्यांकले नै असल नीति निर्माण सकिने बताएका छन् ।
शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले केही समयभित्रै स्थानीय तहमा मानव विकास सूचकांक प्रतिवेदन तयार पार्ने बताए । त्यसले नीति निर्माणलाई वैज्ञानिक र समयसान्दर्भिक बनाउने उनको विश्वास छ ।
मानव विकास सूचकांकले प्रशासकीय विकासमा फाइदा पुर्याउने उनले बताए । तथ्यांक संकलनका लागि नेपाल सरकारकै बजेटबाट पूर्ण रूपमा तथ्यांक कार्यालयले मागे बमोमिको बजेट विनियोजन हुने पनि विश्वास व्यक्त गरे ।
औद्योगिक विकासका लागि नीति निर्माण गर्न पनि तथ्यांकहरूको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।
उनले भने, ‘तथ्यांकहरू भएन भने हामी असल नीति निर्माण गर्न सक्दैनौँ । केही समय पछि एचडीआई निकाल्दैछौँ । गाउँपालिका, नगरपालिका तहमा निकाल्न सक्यो भने वैज्ञानिक हुनसक्छ । प्रशासकीय विकासमा यसले राम्रो गर्छ । ती नीतिहरू निर्माण गर्नको निमित्त फाइदाजनक हुन्छ । यसका लागि राष्ट्रिय तथ्यांक कार्यालयलाई सहयोग गर्न सरकार तयार छ ।’
उनले राष्ट्रिय महत्त्वका नीति निर्माण गर्न यस किसिमका तथ्यांकहरूको महत्त्वपूर्ण भूमिका हुने बताए । आवश्यक तथ्यांकहरू नेपाल आफैँ आत्मनिर्भर भएर निकाल्नुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया 4