+

प्रकृत, सोहम र अवानी फाल्डो जुनियर गल्फ एसिया ग्रान्ड फाइनलमा छनोट

२०८२ पुष  २५ गते २१:०६ २०८२ पुष २५ गते २१:०६
प्रकृत, सोहम र अवानी फाल्डो जुनियर गल्फ एसिया ग्रान्ड फाइनलमा छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रकृत तामाङ, सोहम अग्रवाल र अवानी राई फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलका लागि छनोट भएका छन्।
  • प्रकृत तामाङले ब्वाइज १७–२१ वर्ष उमेर समूहको उपाधि जित्दै समग्रमा ९–ओभर २१३ स्कोर गरे।
  • सोहम अग्रवाल र अवानी राईले क्रमशः ब्वाइज १२–१६ वर्ष र गल्सतर्फ उपाधि जिते र मार्चमा भियतनाममा हुने ग्रान्ड फाइनलमा प्रतिनिधित्व गर्नेछन्।

२५ पुस, काठमाडौं । प्रकृत तामाङ, सोहम अग्रवाल र अवानी राई फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलका लागि छनोट भएका छन्। आ–आफ्नो उमेर समूहको उपाधि जित्दै उनीहरू ग्रान्ड फाइनलमा स्थान बनाउन सफल भएका हुन्।

प्रकृत तामाङ ओभरअल तथा ब्वाइज १७–२१ वर्ष उमेर समूहका च्याम्पियन बने। अन्तिम दिन इभन–पार ६८ स्कोर गरेका उनले समग्रमा ९–ओभर २१३ सहित उपाधि जिते। पहिलो दुई दिनका लिडर स्वप्निल भट्टराईलाई उनले २ स्ट्रोकले पछि पारे।

तेस्रो दिन ३ स्ट्रोकले पछि परेर खेल सुरु गरेका प्रकृतले फ्रन्ट नाइनमा १–अन्डर ३३ खेल्दै स्वप्निललाई १ स्ट्रोकले उछिने। उनले पहिलो र चौथो होलमा इगल, तेस्रो र छैटौँ होलमा बोगी तथा सातौँ होलमा डबल बोगी खेपे। आठौँ होलमा एक स्ट्रोक बचाए। स्वप्निलले फ्रन्ट नाइन ३–ओभर ३६ मा समाप्त गरे।

ब्याक नाइनमा प्रकृतले १–ओभर ३५ स्कोर गरे। १५औँ होलमा बर्डी गरे पनि १४औँ र १७औँ होलमा बोगी खेपे। स्वप्निलले ब्याक नाइन २–ओभर ३६ खेले।

अन्तिम दिन ५–ओभर ७३ स्कोर गरेका स्वप्निल समग्रमा ११–ओभर २१५ सहित दोस्रो भए। सिद्धान्त सापकोटा तेस्रो स्थानमा रहे। उनले अन्तिम दिन १०–ओभर ७८ खेल्दै समग्रमा २९–ओभर २३३ स्कोर गरे।

ब्वाइज १२–१६ वर्ष उमेर समूहमा सोहम अग्रवाल १७–ओभर २२१ सहित च्याम्पियन बने। अन्तिम दिन ११–ओभर ७९ खेलेका सोहमले रूबेन थापालाई ४ स्ट्रोकले पराजित गरे। फ्रन्ट नाइनमा ५–ओभर ३९ खेलेका उनले दोस्रो, तेस्रो र पाँचौँ होलमा बोगी तथा नवौँ होलमा डबल बोगी खेपे। ब्याक नाइनमा थप बोगीहरू खेर्दै ६–ओभर ४० स्कोर गरे।

रूबेन थापाले अन्तिम दिन ६–ओभर ७४ खेल्दै समग्रमा २१–ओभर २२५ सहित दोस्रो स्थान हासिल गरे। ड्यानियल बानियाँ १२–ओभर ८० सहित समग्रमा २४५ स्कोर गर्दै तेस्रो भए।

गल्सतर्फ अवानी राई च्याम्पियन बनिन्। उनले बेलायतकी एमिली लो ग्लुडाइसलाई १ स्ट्रोकले पराजित गरिन्। अवानीले अन्तिम दिन १७–ओभर ८५ खेल्दै समग्रमा २५२ स्कोर गरिन्। एमिलीले १८–ओभर ८६ खेल्दै समग्रमा २५३ सहित दोस्रो स्थानमा चित्त बुझाइन्। यश्वी श्रेष्ठ २७० स्कोरसहित तेस्रो भइन्।

अन्तिम दिनको खेल सुरु हुँदा अवानी र एमिली बराबरी स्कोरमा थिए। फ्रन्ट नाइनमा ३९ स्कोर गरेकी एमिलीले २ स्ट्रोकको अग्रता बनाइन्। तर ब्याक नाइनमा १३–ओभर ४७ खेलेपछि उनी १ स्ट्रोकले पछि परिन्। अवानीले फ्रन्ट नाइन ४१ र ब्याक नाइन ४४ स्कोर गरिन्।

छनोट भएका प्रकृत, सोहम र अवानीले आगामी मार्चमा भियतनाममा हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

नेपाल गल्फ संघद्वारा आयोजित तीन दिने प्रतियोगितामा ४१ खेलाडीको सहभागिता थियो। प्रतियोगिताका विजेतालाई नेपाल गल्फ संघका अध्यक्ष टासी घले, सदस्य अर्शिया बानु, बागमती प्रदेश गल्फ संघका अध्यक्ष मदन राणा, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा, क्याप्टेन मिथुन राई तथा कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे।

फाल्डो जुनियर गल्फ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय