+
+
Shares
यात्रा :

६० दिन अस्ट्रेलियामा

यात्रा मार्गबाट सिड्नी टावर, डार्लिङ हार्बर, हार्बर ब्रिज र ओपेरा हाउसको दृश्य मनमोहक लाग्छन्। सिड्नीको डार्लिङ हार्बरमा शनिबार राति नौ बजे फायरवर्क्स शो हुन्छ। डार्लिङ हार्बरमै हार्बर ब्रिज र ओपेरा हाउसलाई पृष्ठभूमि बनाएर हरेक वर्ष न्यू इयर सेलिब्रेसन गरिन्छ।

प्रकाश तिवारी प्रकाश तिवारी
२०८२ पुष २६ गते २०:४८

मानव जाति लाखौं वर्षको विकास यात्रा पार गरेर हालको अवस्थामा आइपुगेको हो। एक कोषियदेखि होमो सेपियन्ससम्मको विकास शृङ्खला यो वा त्यो स्वरूपमा यात्रा नै थियो। निल आर्मस्ट्रङले चन्द्र धरातलमा चालेको पाइला, कोलम्बस–मार्कोपोलोको सामुद्रिक पदचाप अनि ह्वेन साङको ज्ञान परिभ्रमण मानवजातिलाई सदियौंसम्म दिशानिर्देश गरिरहने यात्राहरू थिए ।

मानिस यात्राप्रिय जीव हो। समकालीन विश्वमा देश–देशावरको यात्रा सामान्य विषय बनेको छ। हाम्रो सन्दर्भमा प्रत्येक दिन स्थल र हवाई मार्ग भएर हजारौं नेपाली विदेश भ्रमणमा जाने गर्छन्। साल २०८२ मेरो आफ्नै निम्ति समेत यात्रारत वर्ष रह्यो। म यस वर्ष हजारौं माइलको दूरी छिचोल्दै पृथ्वीको दक्षिणी गोलार्धमा अवस्थित मुलुकमा पाइला टेक्न पुगें। भ्रमण दल भने ठूलै थियो। म, श्रीमती सुषमा, साढुभाइ तरुण लगायत सात जनाको बटालियन थियो हाम्रो।

हामी काठमाडौंबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्ली हुँदै सिड्नी एअरपोर्टमा अवतरण गर्‍यौं। जेठो सालो सन्तोष र कान्छो शैलेस एअरपोर्ट बाहिर हाम्रो प्रतीक्षा गरिरहेका थिए। झन्डै एक घण्टाको यात्रापछि हामीहरू बक्सहिलस्थित उनीहरूको निवास पुग्यौं।

अस्ट्रेलिया यात्राको बारेमा लेख्नुपूर्व उक्त मुलुकको इतिहासबारे संक्षिप्त चर्चा गर्नु वाञ्छनीय हुनेछ। अस्ट्रेलिया त्यो देश हो जो सन् १७७० सम्म बाहिरी दुनियाँसँग अपरिचित थियो। बाँकी विश्वलाई अस्ट्रेलिया नाम गरेको देश पनि छ भन्ने थाहा थिएन। अस्ट्रेलियालाई बाहिरी विश्वसामु परिचित गराउने काम चाहिं जेम्स कुकले गरेका हुन्। तसर्थ जेम्स कुकलाई अस्ट्रेलिया पत्ता लगाउने व्यक्तिका रूपमा लिइन्छ।

कुक बेलायतका तत्कालीन राजा जर्ज तृतीयको अधिकारका साथ सन् १७७० मा इस्ट कोस्ट अफ अस्ट्रेलियामा अवतरण गरेका थिए। जेम्सको अभियानपछि नै अस्ट्रेलिया बेलायतको उपनिवेश बन्न पुग्यो। र त्यसको झन्डै २०० वर्षपछि ३ मार्च १९८६ मा उपनिवेशबाट मुक्त भयो। तथापि आज पनि बेलायतकी महारानी अस्ट्रेलियाको महारानी मानिन्छिन्।

अस्ट्रेलिया बेलायती राष्ट्रमण्डलमा समेत सामेल छ। यो विश्वकै विकसित औद्योगिक राष्ट्रमध्येको एक हो। राजनीतिक हिसाबले अस्ट्रेलियालाई संघ, प्रदेश र स्थानीय गरी तीन तहमा विभक्त गरिएको पाइन्छ। स्थानीय सरकारलाई काउन्सिल भनिन्छ। काउन्सिल हाम्रो गाविस/नगरपालिका जस्तै एकाइ हो।

संसारका धेरैजसो मुलुक पृथ्वीको उत्तरी गोलार्धमा रहेका छन्। किन्तु अस्ट्रेलिया त्यस्तो देश हो जो पृथ्वीको दक्षिणी गोलार्धमा अवस्थित छ। त्यसै कारण उत्तरी गोलार्धका देशमा गर्मी ऋतु हुँदा त्यहाँ जाडो हुन्छ, अनि अन्यत्र जाडो हुँदा त्यहाँ गर्मी ऋतु चलिरहेको हुन्छ। आधुनिक अस्ट्रेलियाको गठन चाहिं सन् १९०१ मा भएको हो। एक समय सिड्नीलाई राजधानी बनाउने कि क्यानबेरालाई भन्ने विषयमा अस्ट्रेलियामा ठूलै विवाद भएको थियो।

अस्ट्रेलिया नेपालीका निम्ति चिरपरिचित देश हो। हाल यो देश नेपालीको उच्च छनोटको मुलुक बन्न गएको छ। नेपालबाट हरेक वर्ष हजारौं युवा जनशक्ति अध्ययन एवं कामका निम्ति अस्ट्रेलिया जाने गर्दछन्। सन् १९६० को दशकमा कोलम्बो प्लान अन्तर्गत केही नेपाली विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया पुगेको एक आलेखमा भेटिएको छ।

यात्रा एक अनुभूति अनेक। सानो हाँगामा तीता, मीठा, गुलिया, अमिला अनगिन्ती फलहरू एकसाथ फले जस्तै अस्ट्रेलिया भ्रमणको समयमा पनि सिर्जनाका बहुरङ्गी मुनाहरू एकसाथ टुसाए, फुले–फले। मनले भन्यो ‘तैंले यी बहुरङ्गी फूलहरूको बारेमा लेख्नुपर्छ। मानिसलाई बताउनुपर्छ।’ यस्तै यस्तै सोच्दै थिएँ, ‘भिनाजु तयार हुनुहुन्छ हैन त?’

अस्ट्रेलियाको तस्मानिया नेपालीहरूको सघन उपस्थिति रहेको राज्य हो। तस्मानियामा अङ्ग्रेजी र मन्डारिनपछि तेस्रो सबैभन्दा धेरै बोलिने भाषा नेपाली हो। तस्मानिया भौगोलिक हिसाबले समेत नेपालसँग धेरै हदसम्म मिल्दोजुल्दो मानिन्छ।

डा. नारायण प्रधानलाई केही स्रोतहरूले अस्ट्रेलियामा स्थायी बसोबास गर्ने प्रथम नेपालीको रूपमा लिएका छन्। प्रधान सन् १९७० को दशकमा श्रीमतीका साथ अस्ट्रेलिया गएर बसोबास गरेको ती स्रोतको भनाइ छ। अर्को एक स्रोतमा ‘अस्ट्रेलिया जाने प्रथम नेपालीमा डा. रामकृष्ण श्रेष्ठ’ को नाम लिंदै श्रेष्ठ १९६० को दशकमा त्यहाँ पुगेको बताइएको छ।

भौगोलिक हिसाबले अस्ट्रेलिया भारतभन्दा ठूलो छ। ७६,८८,२८७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उक्त मुलुक विश्वकै छैटौं ठूलो देश हो। त्यतिको विशाल भएर पनि अस्ट्रेलियामा निकै थोरै सङ्ख्यामा मानिसहरू बसोबास गर्दछन्। त्यहाँ खाली जमिन एकदमै धेरै छ। जङ्गल त कति हो कति! हाल त्यहाँको जनसङ्ख्या २ करोड ७२ लाख छ। जबकि १,४७,५१६ वर्ग किमी क्षेत्रफल भएको देश नेपालमा पनि लगभग त्यति नै जनसङ्ख्याको उपस्थिति छ।

धुवाँ, धुलो, फोहोर, दुर्गन्ध, मानिसहरूको भीडभाड र होहल्लाका बीच बाँचिरहेकाहरूलाई अस्ट्रेलियाको धरतीले प्रथम प्रहरमै मोहनी लगाउँछ। अस्ट्रेलियामा मुख्यतः हेर्ने भनेकै समुद्र हो। जहाँ गयो त्यहाँ समथर जमिन। पहाड, नदी, खोलानाला, झरनाहरू विरलै देखिन्छन्। केही स्थानमा १५–१६ सय मिटर उचाइका होचा पहाड भने अवश्य छन्।

पहाड कम भएकाले होला अस्ट्रेलियनहरूलाई ‘हिल’ शब्दसँग प्रेम रहेको आभास हुन्छ। त्यसैले हुनुपर्छ, त्यहाँ गाउँ, टोल वा बस्तीको नाममा ‘हिल’ शब्द जोडेर राख्ने गरेको पाइन्छ। अस्ट्रेलियनहरू वृक्षरोपण र जङ्गल संरक्षणमा निकै सचेत देखिन्छन्। रोचक कुरा के छ भने, त्यहाँको जङ्गलमा बाघ, भालु, गैंडा, हात्ती, बाँदर भेटिंदैनन्। अस्ट्रेलियाका प्रमुख जङ्गली जीव–जन्तुमा कोआला, वालावी, डिङ्गो, क्रोकोडाइल, डल्फिन, ह्वेल, सर्प, माकुरा आदि पर्छन्। कङ्गारु त्यहाँको राष्ट्रिय जनावर हो। त्यहाँको कुल भूभागको २० प्रतिशत जमिन मरुभूमि छ।

अग्लो घरमा बस्नुलाई सम्पन्नताको द्योतक मानिन्छ हाम्रोमा। तर अस्ट्रेलियामा त्यस्तो देखिन्न। शहरी इलाकामा गगनचुम्बी व्यापारिक महल भए पनि ग्रामीण क्षेत्रका आवासीय भवन प्रायः दुई तलाका छन्। नेपाली सन्दर्भमा तराईको चौधरी बस्तीको झल्को दिने ती घरहरूमा झिंगटीले छाएको देखिन्छ। घरहरू बाहिरबाट सामान्य लागे पनि तिनको भित्री बनावट सुविधासम्पन्न हुने गर्दछ।

यात्राको क्रममा हामी जहाँ–जहाँ पुग्यौं, नेपालको कुनै भूगोलमा भ्रमण गरे जस्तो अनुभूति भयो। मेट्रो, ट्रेन चढ्दा, पार्कहरूमा घुम्दा, समुद्री किनारामा जाँदा, रेस्टुरेन्टमा खानपिन गर्दा अथवा शहरी क्षेत्रमा आवतजावत गर्दा कुनै ठाउँ त्यस्तो थिएन जहाँ नेपालीको सघन उपस्थिति नभएको होस्। त्यहाँ मेट्रो या ट्रेनमा यात्रा गर्दा कोही कसैसँग गफ गरेको देखिंदैन। सबै उँधोमुन्टो लाएर मोबाइल हेर्दै गरेको भेटिन्छन्। सालो शैलेस भन्दैथियो, ‘पहिला यस्तो थिएन भिनाजु! उति बेला ट्रेनमा कि त न्युजपेपर हेर्दै गरेका, कि पुस्तक पढ्दै गरेका मानिसहरू देखिन्थे।’

अस्ट्रेलियामा भारतीय आप्रवासीको सङ्ख्या सबैभन्दा धेरै छ। भारतीयपछि चिनियाँ, फिलिपिनी र नेपाली डायस्पोरा दोस्रो, तेस्रो र चौथो नम्बरमा आउँछन्। भारतीयहरूले त्यहाँ निकै बलियो पकड बनाएको अनुभव हुन्छ। घरजग्गा (रियल स्टेट) कारोबार र निर्माण व्यवसायमा भारतीयहरूकै कब्जा छ भन्दा फरक पर्दैन। कतिपय ठाउँमा भारतीयहरूको सिङ्गो बस्ती देखिन्छ। यस्तो लाग्छ, अवस्था यही रहे अबको दश–पन्ध्र वर्षमा भारतीयहरूले अस्ट्रेलियाको राष्ट्रिय राजनीतिमा मजबुत हस्तक्षेप गर्नेछन्।

अस्ट्रेलियामा गाडी नहुने विरलै हुन्छन्। गाडी विना दैनिकी मुस्किल हुन्छ। लोनमा गाडी अनि घर किन्नु, किस्ताबन्दीमा रकम भुक्तानी गर्दै जानु त्यहाँको आम रीति हो भन्दा फरक पर्दैन। कतिपयको त किस्ता बुझाउँदा बुझाउँदै जिन्दगीको घाम अस्ताउँछ! नागरिकता वा पीआर प्राप्त गरेकाहरूले मात्र फुल पेमेन्टमा घर किन्न पाउने कानुनी व्यवस्था हुँदा छिटो ‘पीआर’ प्राप्त गर्न दूरदराजका राज्यहरूमा बसोबास गर्ने प्रचलन पनि रहेछ।

काम विना माम मुस्किल भएपछि लालाबालालाई ‘चाइल्ड केयर’मा राख्नु त्यहाँको बाध्यता हो। त्यहाँ बच्चा हेरिदिने मानिस पाउनु सौभाग्यको विषय जस्तो लाग्छ। त्यसैले कतिपय बाबुआमा नाति–नातिना सम्हालिदिनकै लागि अस्ट्रेलिया गएका हुन्छन्। मैले त्यहाँ फुटपाथ र पार्कहरूमा नातिनातिना घुमाउँदै हिंडेका थुप्रै नेपाली हजुरबा–हजुरआमाहरूलाई देखें। त्यसमध्ये नारायणघाट घर भएको बताउने एक जनासँग ‘तपाईंलाई अस्ट्रेलिया कत्तिको रमाइलो लाग्यो?’ भनेर पनि सोधें। ‘ठाउँ त रमाइलै हो तर लामो समय बस्न गाह्रो छ’ उनले जवाफ दिए।

एनाबेको समुद्र किनारमा ‘क्यामेल राइडिङ’ (ऊँटचढी) गर्दाको रमाइलो अनुभव छ मसँग। त्यहाँ आधा–आधा घण्टाको अन्तरालमा आठ–दश ऊँटहरू यात्रु बोकी समुद्री किनाराको सयरमा निस्कन्छन्। यात्रुलाई ऊँट चढाउने र ओराल्ने काम चाहिं हट्टाकट्टा युवतीहरूले गर्छन्। युवतीहरू यात्रा अवधिभर ऊँटको पछिपछि जान्छन् अनि क्यामेल राइडिङको बारेमा जानकारी दिन्छन्। युवतीहरू रसिला छन्, हँसिला छन्। उल्लेखित काममा खटिएकी एउटी युवतीको सम्झना अहिले पनि मेरो मनमा ताजा छ। यात्रुलाई ऊँट चढाउनुअघि उनी आफ्नो जाँघ थाप्छिन् अनि त्यहाँ टेकेर माथि उक्लिन इशारा गर्छिन्। मलाई उनको जाँघमा टेकेर ऊँट चढ्दा असजिलो महसुस भएको थियो।

‘सर्कुलर क्वीबाट मेन्ली’ सम्मको फेरि यात्रा अर्को यादगार पक्ष रह्यो। सर्कुलर क्वी सिड्नी जाने पर्यटकहरूको मुख्य आकर्षणको केन्द्र हो। सर्कुलर क्वीबाट मेन्लीसम्मको फेरि यात्रा २५ मिनेट जतिको हुन्छ। तीव्र गतिमा दगुरेको फेरीले समुद्रको पानीलाई धक्का दिंदा अद्भुत चित्र दृष्टिगोचर हुन्छ।

हामी मायाको गह्रुंगो भारी बोकी एअरपोर्ट पुग्यौं। चेकइनको काम सकेर इमिग्रेसनतर्फ लाग्दा पुर्‍याउन जाने र बिदाइ हुने दुवैथरी आँखा रसाए। मैले भारी मनका साथ बिदाइको हात हल्लाएको के थिएँ, अनायास गीत गुनगुनाउन थालें – ‘आदमी मुसाफिर है। आता है जाता है। आते जाते रस्ते में, यादें छोड जाता है।’

यात्रामार्गबाट सिड्नी टावर, डार्लिङ हार्बर, हार्बर ब्रिज र ओपेरा हाउसको दृश्य मनमोहक लाग्छन्। सिड्नीको डार्लिङ हार्बरमा शनिबार राति नौ बजे फायरवर्क्स शो हुन्छ। डार्लिङ हार्बरमै हार्बर ब्रिज र ओपेरा हाउसलाई पृष्ठभूमि बनाएर हरेक वर्ष न्यु इयर सेलिब्रेसन गरिन्छ। त्यस अवसरमा लाखौं मानिस उपस्थित हुन्छन्। उक्त सेलिब्रेसन विश्वकै गिनेचुनेको कार्यक्रममध्येमा पर्दछ।

क्यानबेराको संसद् भवन र वार म्युजियम पनि त्यति नै आकर्षक छन्। त्यहाँको ‘वार म्युजियम’ युद्धमा अस्ट्रेलियन संलग्नता र बलिदानको सजीव चित्र हो। ‘द इन्ट्रान्स’ बिचमा पेलिकन फिड्स (सेतो ठूलो लामो चुच्चो भएको हाँसलाई दिउँसो ३:३० बजे आहारा खुवाउने कार्यक्रम) पनि निकै रोचक लाग्यो।

बोन्डि बिच सिड्नीको चर्चित बिच हो। मेन्ली बिच, कोजी बिच, ब्रोन्टे बिच, पाल्म बिच, फ्रेसवाटर बिच, बाल्मोरल आदि सिड्नीका अन्य चर्चित बिच हुन्। सिड्नीको ‘नान टिएन टेम्पल’ पर्यटकहरूले छुटाउनै नहुने गन्तव्य हो। टेम्पल सुन्दर र भव्य छ। नान टिएन टेम्पलभित्र पस्दा अद्भुत शान्ति दृष्टिगोचर हुन्छ। निर्बल अनि शक्तिहीनहरूको छातीमा जङ्गी बुट बज्रँदै गरेको समकालीन विश्वमा नान टिएन टेम्पल शान्ति र सहअस्तित्वको सन्देशसहित उभिएको छ।

सोसल मिडिया प्रयोगको सवालमा अस्ट्रेलिया सचेत मुलुकमा गनिन्छ। अस्ट्रेलिया सरकारले भर्खरै मात्र सोसल मिडिया प्रयोगबारे नयाँ निर्णय लिएको छ। त्यो हो, १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सोसल मिडिया चलाउन नपाउने! त्यसो त फ्रान्स सरकारले समेत बालकहरूलाई सामाजिक सञ्जालको पहुँचबाट टाढा राख्ने कानूनी व्यवस्था गर्न लागेको समाचार बाहिरिएको छ। हाम्रोमा भने शिशु उमेरदेखि मोबाइल हेर्ने लत बसाउनु, खाना खुवाउँदा होस् या भुलाउनु पर्दा, मोबाइल चित्र देखाएर अल्मल्याउनु आम प्रचलन बन्दै गएको छ।

यात्राको क्रममा हामीले सिड्नीको एउटा बिचमा पुरुष–पुरुष बीचको समलैङ्गिक विवाहको दृश्य देख्ने अवसर पायौं। उपस्थिति भने जम्मा तीन जनाको थियो। चुम्बनारत दुलाहा–दुलही अनि दृश्यलाई छायाङ्कन गरिरहेको क्यामेरा म्यान। महिला हिंसाको मामलामा निकै कठोर छ अस्ट्रेलिया। साथै सुशासनको फाँटमा त्यति नै संवेदनशील देखिन्छ त्यहाँको सरकार। सन् २०१४ मा ‘ब्यारी ओ फरेल’ नाम गरेका न्यु साउथ वेल्सको ‘प्रिमियर’ (सरकार प्रमुख) ले सेवाग्राहीसँग ३,००० डलर बराबरको वाइन उपहार लिंदा पदबाट राजीनामा दिनु परेको थियो। तर नेपालको कुरा भिन्दै छ। यहाँ डेढ करोड मूल्यको रक्सी दराजमा भेटियोस्, कोठाभरिको पैसा जलेको समाचार सार्वजनिक होस्, नेपालीलाई भूटानी शरणार्थी बनाएर बेचियोस्, एकै दिनमा ७६ जना निहत्था नागरिकमाथि तारो हानियोस् या सिंहदरबार जलाएर खण्डहर बनाइयोस्, कानून लाग्दैन!

हाल अस्ट्रेलियामा डेढदेखि दुई लाख नेपाली बसोबास गर्दै आइरहेको एक अध्ययनले बताउँछ। तिनीहरूमध्ये केहीले प्रसिद्धिको शिखर चुमेका छन्। शेष घले एउटा त्यस्तै नाम हो। उनी अस्ट्रेलियाको सय उच्च धनाढ्यभित्र पर्दछन्। आफ्नै लगानीमा कलेज, होटल–रेस्टुरेन्ट आदि व्यवसाय सञ्चालन गरेका नेपाली पनि नभएका होइनन्। कतिपय महिला उच्च व्यवस्थापकीय जिम्मेवारीमा पुगेका छन्। अनि कतिपय व्यक्ति डाक्टर, इन्जिनियर बनेर प्रतिष्ठा आर्जन गर्न सफल भएका छन्।

परन्तु अस्ट्रेलिया जाने सबै सुखी छन्, सबै खुसी छन् भन्ने होइन। त्यहाँ बसोबास गर्ने कतिपय नेपालीभित्र अँध्यारो पक्ष पनि लुकेको छ। जीवनरूपी गाडी आशानुरूप अगाडि नबढ्दा विषम मानसिक समस्या भोग्न पुगेका पनि नभएका होइनन्। अस्ट्रेलिया जानकै निम्ति तयार पारिएको वैवाहिक करारनामा त्यहाँको स्वच्छन्द हुरीले उडाइदिंदा मनोरोगले ग्रस्त बन्न पुगेका पनि थुप्रै छन्। नेपालीले नेपालीलाई ठगेको समाचार पनि सुन्नमा नआउने हैन।

अस्ट्रेलियाको सिड्नीमा नेपाली साहित्य साधकको बाक्लै उपस्थिति छ। त्यहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लगायतका संस्थाको सक्रियतामा देवकोटा जयन्ती, भानु जयन्ती तथा विविध साहित्यिक कार्यक्रम उत्साह एवं उमङ्गका साथ सञ्चालन हुँदोरहेछ। सिड्नी बसाइको क्रममा मेरो भेट गजल सम्राट ज्ञानुवाकर पौडेलसँग भयो। उहाँ सिड्नीस्थित छोराको घरमा बस्नुहुँदोरहेछ।

मलाई उहाँसामु पुर्‍याएर सहयोग गर्ने काम चाहिं राम कोइरालाले गर्नुभएको थियो। भेटघाटको क्रममा उहाँले २०७९ सालमा प्रकाशित आफ्नो कृति ‘म र मेरी उनी’ प्रदान गर्नुभयो। कृतिमा मूलतः पुरुष प्रधान समाज एवं तत्कालीन मुलुकी कानूनद्वारा प्रताडित निरीह महिला अनि जन्मको ६ महिनादेखि मातृ स्नेहबाट वञ्चित बालक (राम कोइराला) को मार्मिक कथा समेटिएको छ। पढ्दा पटक–पटक भावविह्वल हुन्छ पाठक। आँसु रोक्छु भन्दा पनि रोकिंदैन।

हामी जतिबेला अस्ट्रेलिया यात्रामा गएका थियौं, जेनजी विद्रोहको एक महिनापछिको समय थियो त्यो। यसर्थ भेटघाटका समयमा राजनीतिक विषय उठ्नु स्वाभाविक थियो। प्रवासी नेपालीहरू देशको बिग्रँदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दथे। उनीहरूमा पुराना दल र नेतृत्वप्रति तीव्र असन्तुष्टि देखिन्थ्यो। ‘हामीलाई विदेशियो भनेर आलोचना गरिन्छ तर रोजगारीविहीन, भ्रष्टाचार र कुशासनले थला परेको मुलुकमा कसरी बस्ने?’ उनीहरू सङ्गीन प्रश्न तेर्स्याउँथे।

हुन पनि हामी कुनै समय राजा महेन्द्रको भजन गाउनेहरूबाट लुटियौं। कुनै समय अब्राहम लिंकन, गान्धी, बीपीलाई आदर्श मान्नेहरूबाट लुटियौं। अनि कुनै समय मार्क्स, लेनिनको नाम जप्ने छद्मभेषीहरूबाट लुटियौं! दुर्भाग्य, देशमारा र जनतामारालाई कठघरामा उभ्याउने दिन कहिल्यै आएन! संवैधानिक अङ्ग लगायत यत्रतत्र–सर्वत्र ख्वामितको आदेशपालक रोबोटहरूको राज भएपछि कठघरामा उभ्याउने कसले?

यात्रा एक अनुभूति अनेक। सानो हाँगामा तीता, मीठा, गुलिया, अमिला अनगिन्ती फलहरू एकसाथ फले जस्तै अस्ट्रेलिया भ्रमणको समयमा पनि सिर्जनाका बहुरङ्गी मुनाहरू एकसाथ टुसाए, फुले–फले। मनले भन्यो ‘तैंले यी बहुरङ्गी फूलहरूको बारेमा लेख्नुपर्छ। मानिसलाई बताउनुपर्छ।’ यस्तै यस्तै सोच्दै थिएँ, ‘भिनाजु तयार हुनुहुन्छ हैन त?’ शैलेसको घरमा भएको म जेठो सालो सन्तोषको फोनले झल्याँस्स भएँ।

सोचें– ‘प्यारा मानिसहरूसँग बस्ने समय धेरै छैन अब। अबको केही बेरमा दुई महिना लामो अस्ट्रेलिया बसाइको मैझारो गर्दै सिड्नी एअरपोर्टतर्फ निस्कनुपर्छ।’ केही मिनेटमा सन्तोष र रोशना आइपुगे। हामी एअरपोर्ट जान गाडीमा चढ्यौं। जीना चाहिं अघिल्लो दिन दाँत उखेलेको पीडाका कारण एअरपोर्ट जान सकिनन्।

आँखाभरि आँसु बनाउँदै बिदाइको हात हल्लाइन्। हामी मायाको गह्रुंगो भारी बोकी एअरपोर्ट पुग्यौं। चेकइनको काम सकेर इमिग्रेसनतर्फ लाग्दा पुर्‍याउन जाने र बिदाइ हुने दुवैथरी आँखा रसाए। मैले भारी मनका साथ बिदाइको हात हल्लाएको के थिएँ, अनायास गीत गुनगुनाउन थालें – ‘आदमी मुसाफिर है। आता है जाता है। आते जाते रस्ते में, यादें छोड जाता है।’

लेखक
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?