+
+
Shares

अन्तरिक्षमा बन्यो क्यान्सरको नयाँ औषधि, दुई मिनेटमै उपचार

यी क्रिस्टलहरूको सूक्ष्म अध्ययनबाट औषधिका कणहरूको सबैभन्दा उपयुक्त आकार र संरचना कस्तो हुनुपर्छ भन्ने कुरा पत्ता लाग्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी नासाको अन्तरिक्ष स्टेशनमा गरिएको अनुसन्धानले क्यान्सर औषधि पेम्ब्रोलिजुमाबको नयाँ इन्जेक्सन रूप विकास गरेको छ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा गरिएको एक अनुसन्धानले क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र औषधि उत्पादक कम्पनी मर्कको संयुक्त प्रयासमा अन्तरिक्षमा प्रोटिन क्रिस्टलको वृद्धिसम्बन्धी अध्ययन गरिएको थियो । सो अनुसन्धानको आधारमा क्यान्सरको एक प्रमुख औषधिको नयाँ र प्रभावकारी रूप विकास गरिएको हो।

उक्त नयाँ खोपलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले गत सेप्टेम्बरमै स्वीकृति दिएको छ। योसँगै अब क्यान्सर बिरामीले दुई घण्टासम्म चल्ने लामो इन्फ्युजन लिनुपर्ने बाध्यता हटेको छ । यसको सट्टा केवल १/२ मिनेटमै इन्जेक्सनमार्फत बिरामीलाई औषधि दिएर उपचार सम्भव भएको छ । यसले क्यान्सर उपचारलाई सरल, छिटो र कम खर्चिलो बनाउनेछ ।

के हो यो नयाँ उपचार ?

यो नयाँ उपचार औषधि कम्पनी मर्कको पेम्ब्रोलिजुमाब नामक औषधिको इन्जेक्सन हो । यसलाई बिरामीको छालामुनि सबक्युटेनियस इन्जेक्सनमार्फत् दिइन्छ । यो औषधि इम्युनोथेरापीको श्रेणीमा पर्छ ।पेम्ब्रोलिजुमाब औषधिलाई मेलानोमा तथा फोक्सोको क्यान्सर जस्ता विभिन्न क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने गरिएको छ ।

यसअघि क्यान्सर बिरामीलाई पेम्ब्रोलिजुमाब औषधि दिनका लागि बिरामीले अनिवार्य रूपमा अस्पताल वा क्लिनिक पुग्नुपर्थ्यो । त्यहाँ उक्त औषधि नसामार्फत इन्फ्युजनको रूपमा दिइन्थ्यो । जसका लागि १ देखि २ घण्टासम्म समय लाग्थ्यो । उपचार प्रक्रिया लामो र झन्झटिलो भएकाले बिरामीलाई समय र खर्च दुवैको भार पर्थ्यो । पछि प्रविधिमा केही सुधार गरिएपछि इन्फ्युजनको समय घटाएर करिब ३० मिनेटसम्म ल्याइएको थियो । तर त्यसपछि पनि यो उपचार पूर्णरूपमा छिटो र सहज भने हुन सकेको थिएन ।

अब यो औषधि केवल एक इन्जेक्सनमार्फत तत्काल दिन सकिनेछ । इन्जेक्सन लगाउन १ देखि २ मिनेट मात्र लाग्छ र यो हरेक तीन हप्तामा एक पटक दिनुपर्छ । यस नयाँ विधिले बिरामीको समय बचत गर्नेमात्र होइन अस्पताल जानुपर्ने झन्झट र खर्च घटाउँछ ।

कसरी सफल बन्यो स्पेस स्टेशनको अनुसन्धान ?

अन्तरिक्षमा गुरुत्वाकर्षण अत्यन्त न्यून हुन्छ । जसलाई माइक्रोग्रेभिटी भनिन्छ । पृथ्वीमा भने गुरुत्वाकर्षणका कारण क्रिस्टल बनाउने क्रममा धेरै अवरोधहरू आउँछन् । साथै त्यस्ता क्रिस्टल साना, असमान वा कम गुणस्तरका पनि बन्न सक्छन् । तर अन्तरिक्षको माइक्रोग्रेभिटीको वातावरणमा चाहिँ यी समस्या धेरै हदसम्म हट्छन्।

त्यसैले स्पेस स्टेशनमा गरिएका प्रयोगहरूमा क्रिस्टलहरू ठूलो, एक-समान र निकै परिष्कृत रूपमा तयार भए । यसले वैज्ञानिकहरूलाई औषधिमा प्रयोग हुने अणुहरूको संरचना अझ स्पष्ट र सूक्ष्म रूपमा बुझ्न मद्दत गर्‍यो, जसको परिणामस्वरूप औषधिलाई अझ प्रभावकारी र सहज रूपमा प्रयोग गर्न सकिने नयाँ रूप विकास गर्न सम्भव भयो।

मर्क कम्पनीले सन् २०१४ देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई प्रयोगशालाका रूपमा प्रयोग गर्दै अनुसन्धान गर्दै आएको छ । यस क्रममा कम्पनीले प्रयोगशालामा तयार गरिने मोनोक्लोनल एन्टिबडीका प्रोटिन क्रिस्टलहरू अन्तरिक्षको वातावरणमा उत्पादन गर्यो । उक्त एन्टीबडीले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।

यी क्रिस्टलहरूको सूक्ष्म अध्ययनबाट औषधिका कणहरूको सबैभन्दा उपयुक्त आकार र संरचना कस्तो हुनुपर्छ भन्ने कुरा पत्ता लाग्यो । जसले औषधिलाई सजिलै घुल्ने र तत्कालै दिनमिल्ने खालको इन्जेक्सनको रूपमा विकास गर्न सम्भव बनायो ।

अन्तरिक्ष अनुसन्धानका फाइदा

अन्तरिक्षमा गरिने अनुसन्धानले पृथ्वीमा औषधि विकासलाई छिटो र गुणस्तरीय बनाउन मद्दत गर्दछ, जसले क्यान्सर जस्ता जटिल रोगहरूको उपचारलाई सरल र प्रभावकारी बनाउँछ । साथै, यसले अन्तरिक्ष यात्रीहरूको चन्द्रमा तथा मंगल अभियान जस्ता दीर्घकालीन मिसनहरूको तयारीमा पनि सहयोग पुर्‍याउँछ ।

व्यावसायिक दृष्टिले पनि अन्तरिक्ष अनुसन्धानले अन्तरिक्ष अर्थतन्त्रलाई बढावा दिन्छ, जसले निजी कम्पनीहरूलाई अन्तरिक्षमा लगानी गर्न प्रोत्साहित गर्छ । नासाका अनुसार, स्पेस स्टेशनमा गरिएको अनुसन्धानले केवल अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य मात्र सुधार्दैन यसले पृथ्वीमा लाखौं मानिसको जीवनस्तरमा पनि सकारात्मक प्रभाव पार्दछ।

समग्रमा अन्तरिक्षको खोज अनुसन्धानले केवल अन्तरीक्षयात्रीलाई मात्र होइन पृथ्वीका सामान्य मानिससम्म पनि लाभ पुर्‍याइरहेको छ । भविष्यमा यसबाट अझ धेरै नयाँ औषधि र उपचार विकसित हुने सम्भावना छ । क्यान्सरका बिरामीहरूको लागि पछिल्लोपटक विकशित यो नयाँ इन्जेक्सन पनि ठूलो आशाको संकेत बनेको छ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?