+
+
Shares

हचुवामा बनाइएका पाँच वटा भ्यु टावर पालिका र सामुदायिक वनलाई जिम्मा

मकवानपुर, नुवाकोट, दोलखा र सिन्धुपाल्चोकमा निर्माण भएका ४ वटा भ्यू टावर सम्बन्धित स्थानीय तह र एउटा सामुदायिक वन समितिलाई सञ्चालनको जिम्मा लगाइएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश सरकारले २०७६ सालदेखि निर्माण गरेका ११ भ्यू टावरमध्ये ५ वटा स्थानीय तह र सामुदायिक वन समितिलाई हस्तान्तरण गरेको छ।
  • स्थानीय तहले भ्यू टावर सञ्चालनको ठेक्का लगाउनेछन् र पर्यटकबाट प्राप्त राजस्व ७० प्रतिशत स्थानीय तह र ३० प्रतिशत प्रदेश सरकारलाई बाँडफाँट हुने मन्त्रालयले जनाएको छ।
  • अझै ६ वटा भ्यू टावर मर्मतसम्भारको अवस्थामा छन् र मन्त्रालयले प्राविधिक टोली खटाएर मात्र हस्तान्तरण गर्ने तयारी गरेको छ।

२८ पुस, हेटौंडा । बागमती प्रदेश सरकारले आफ्नो लगानीमा २०७६ सालदेखि निर्माण सुरु गरेका ११ भ्यू टावरमध्ये ५ वटा हस्तान्तरण गरेको छ ।

मकवानपुर, नुवाकोट, दोलखा र सिन्धुपाल्चोकमा निर्माण भएका ४ वटा भ्यू टावर सम्बन्धित स्थानीय तह र एउटा सामुदायिक वन समितिलाई सञ्चालनको जिम्मा लगाइएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

पर्यटन पूर्वाधार हस्तान्तरण तथा सञ्चालन कार्यविधि–२०८१ अनुसार स्थानीय तहलाई वा स्थानीय तहले सिफारिस गरेका निकायलाई हस्तान्तरण गर्नसक्ने व्यवस्थालाई टेकेर मन्त्रालयले ४ पालिका र एक सामुदायिक वनलाई भ्यू टावर दिएको छ ।

मकवानपुरको चित्लाङ हिल स्टेसन, नुवाकोटको ककनी र चिम्टेश्वरस्थित भ्यू टावरसहित वन बगैंचा पार्क, दोलखाको शैलुङमा निर्मित गोलघर सहितको बगैंचा, मनोरञ्जन पार्क र सिन्धुपाल्चोकको मुडे हिल स्टेसन सञ्चालन गर्न हस्तान्तरण गरिसकिएको मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए ।

२०७६ र २०७८ सालमा दुई चरणमा गरी निर्माण सम्झौता गरिएको मकवानपुरको चित्लाङ हिल स्टेसन ५ करोड २७ लाख ४७ हजार ८५२ रुपैयाँमा (मूल्य समायोजनसहित) बनेको हो । काठमाडौं उपत्यकासमेत दृश्यावलोकन गर्न सकिने यो भ्यू टावर थाहा नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

२०७७ सालमा सम्झौता भएर २ करोड ३६ लाख ५४ हजार ३१८ रुपैयाँमा निर्माण भएको शैलुङ भ्यू टावर शैलुङ गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

२०७६ र २०७८ सालमा सम्झौता भई दुई चरणमा गरेर ५ करोड ८८ लाख ८६ हजार ८५ रुपैयाँमा बनेको नुवाकोटको ककनी हिल स्टेसन ककनी गाउँपालिकाको जिम्मा लगाइएको मन्त्रालयका सचिव सुवेदीले जानकारी दिए ।

नुवाकोटकै चिम्टेश्वरमा निर्मित भ्यू टावर बेलकोटगढी नगरपालिकाको जिम्मा लगाइएको मन्त्रालयले जनाएको छ । २ करोड ७४ लाख ३८ हजार ७६८ रुपैयाँ लागतमा निर्मित यो भ्यू टावर २०७७ सालबाट निर्माण सुरु गरिएको थियो ।

यसैगरी, सिन्धुपाल्चोकमा अवस्थित मुडे हिल स्टेसन स्थानीय मूलखर्क सामुदायिक वनलाई हस्तान्तरण गरिएको छ । २०७८ बाट निर्माण थालिएको मुडे हिल स्टेसन दुई चरणमा गरेर ५ करोड ५० लाख ९५ हजार ८३४ रुपैयाँमा निर्माण गरिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका सचिव सुवेदीका अुनसार सम्बन्धित पालिकाले भ्यू टावर सञ्चालनको ठेक्का लगाउने छन् । कार्यविधिले व्यवस्था गरेअनुसार पर्यटकबाट प्राप्त राजस्व ७० प्रतिशत सम्बन्धित पालिकालाई र ३० प्रतिशत प्रदेश सरकारलाई बाँडफाँट हुने उनले बताए । मन्त्रालयले निर्माण भइसकेको भ्यू टावर विगत लामो समयदेखि सञ्चालनमा ल्याउन नसक्दा राजस्व गुमिरहेको थियो ।

हस्तान्तरणको पर्खाइमा अझै ६ वटा भ्यू टावर

बागमती प्रदेशका ८ जिल्लामा निर्माण गरिएका ११ वटा भ्यू टावरमध्ये अझै ६ वटा हस्तान्तण गर्न बाँकी छ ।

निर्माण भइसकेका ६ वटा भ्यू टावर सञ्चालनमै नआई मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको सचिव सुवेदीले बताए । ‘बाँकी ६ वटा भ्यू टावर मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छन् । मन्त्रालयले प्राविधिक टोली खटाएका छौं । त्यसपछि मात्रै हस्तान्तरण गर्छौं,’ उनले भने ।

हस्तान्तरण भइसकेका मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक र दोलखा बाहेक काभ्रे, रामेछाप, सिन्धुली र धादिङमा निर्माण गरिएका भ्यू टावर सञ्चालनमा आउन नसकेको हो । ३२ करोड ८४ लाख ३ हजार ३३९ रुपैयाँ बजेटबाट ११ वटा भ्यू टावर बनाइएको हो ।

काभ्रेको रोशी गाउँपालिकास्थित रोशी भूमिचुलीमा २ करोड ६१ लाख २३ हजार ४६५ रुपैयाँको लागतमा भ्यू टावर र पदमार्ग निर्माण गरिएको छ । धादिङको धुनिबेसी नगरपालिकाको तोप्लाङमा २ करोड १८ लाख ८९ हजार ६६९ रुपैयाँमा भ्यू टावर र शौचालय तथा दोलखाको जिरी नगरपालिकामा २ करोड ६४ लाख ३४ हजार ९९६ रुपैयाँको लागतमा भ्यू टावर र सभाहल निर्माण भएका छन् ।

रामेछापको गोगनपानी सुलीथुम्का खाँडादेवी गाउँपालिका–५ मा दुई चरणमा गरी ३ करोड २० लाख ६० हजार ८५१ रुपैयाँमा र सिन्धुलीको कमलामाई नगरपालिकाको सिद्धबाबा चुचुरोमा पनि दुई चरणमै गरेर २ करोड ६० लाख ८ हजार ३१० रुपैयाँमा भ्यू टावरसहित पदमार्ग, शौचालय लगायतका संरचना निर्माण भएको मन्त्रालयले जनाएको छ ।

सिन्धुलीकै सिन्धुलीगढी हिल स्टेसन (बहुउद्देश्यीय भवन र बगैंचा) २ करोड ४७ लाख ६७ हजार ४६१ रुपैयाँमा निर्माण भएको हो ।

कार्यविधि नबनाइ हचुवामै निर्माण

२०७६ सालबाट भ्यू टावरको योजना अघि बढाएको बागमती सरकारले २०८२ साल लाग्दा बल्ल आधा सञ्चालनमा ल्याउन सकेको हो । २०७६÷७७ र ७८ भित्र योजना सम्झौता भएका भ्यू टावरहरू कतिपय २०७७ सालमै र केही २०७९ र २०८० सम्ममा निर्माण भएका थिए ।

सञ्चालन कार्यविधि नबनाई हचुवामै अग्लाडाँडामा बनाइएका संरचनाले राज्यको लगानी ‘बालुवामा पानी’ हाले जस्तै बनेको थियो । सुरुमा निर्माण कम्पनीले अनेक बहानामा बनाउन ढिलाइ गरे पनि बनिसकेकालाई सञ्चालनमा ल्याउन सरकारले उदासिनता देखाएको थियो ।

सञ्चालन कार्यविधि बनाउनै दुई वर्षभन्दा बढी समय खर्चिएको पर्यटन मन्त्रालयले २०८१ सालमा नयाँ कार्यविधि बनाएर भ्यू टावर सञ्चालनको बाटो खोलेको हो । २०८० मा पनि मन्त्रालयले कार्यविधि बनाएको थियो । तर त्यो कार्यविधिको कुनै पनि रेकर्ड नभेटिएपछि मन्त्रालयको जिम्मेवारी सम्हालेका सचिव सुवेदीले नयाँ कार्यविधि बनाएका थिए ।

ऐन, कार्यविधि नै नबनाई भ्यू टावर बनाउन सुरु गरिएको थियो । प्रदेश पर्यटन ऐन, २०७८ निर्माण भएपछि ऐनको दफा ११७ (२) अनुसार मन्त्रालयले कार्यविधि बनाएको हो ।

तत्कालीन संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले १३ मंसिर २०८० मा पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८० बनाएको थियो । त्यो कार्यविधि कार्यान्वयनमै नगई नयाँ कार्यविधि बनाइएको सचिव सुवेदी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?