News Summary
Generated by OK AI. Editorially reviewed.- भक्का नयाँ धानको चामल बाफमा पकाइन्छ र राजवशी समुदायको सांस्कृतिक पहिचान हो।
- भक्का दिवस पुसको अन्त्यमा मनाइन्छ जसले सामुदायिक आत्मीयता र जाडोको विदाइ जनाउँछ।
भक्का पूर्वी तराईको परम्परागत परिकार हो । तर यसलाई केवल खानाको रूपमा बुझ्नु पर्याप्त हुँदैन । भक्का अन्नसँग जोडिएको छ, जाडोसँग जोडिएको छ, र समुदायसँग जोडिएको संस्कार हो।
तराईमा जाडो र अन्न प्रायः एकैसाथ भित्रिन्छ । कार्तिकको अन्त्यतिर वा मंसिरको सुरुवातमा धान काटिन्छ । खेतबाट खलिहानमा अन्न आउँछ । त्यही समय जाडो पनि सुरु हुन्छ । तुवाँलो बाक्लो हुन्छ, हावा चिसो हुन्छ । यही मौसम र अन्नको मेलसँगै भक्का बनाउने चलन सुरु हुन्छ । नयाँ धानको चामल पिसेर बाफमा यो पकाइन्छ । जसरी म:म बनाएर वाफमा पकाइन्छ त्यसरी नै भक्का पकाइन्छ ।
नेपालका पूर्वमा प्रख्यात रहेको भक्का दक्षिण भारतको इड्लीसँग नजिक छ । यो पूर्वीतराईको आफ्नै पहिचान हो । बिशेषत: यो राजवशी समुदायको परम्परागत परिकार हो । तर अब भक्का राजवंशी समुदायभित्र मात्रै सीमित छैनन् । तराईका मेला, महोत्सव, सडक हटिया, र रेष्टुरेन्टमा पनि जाडोमा भक्का सजिलै पाइन्छ ।
भक्काको इतिहास भान्सामा होइन, खेतमा छ । धान खेती गर्ने समाजमा नयाँ अन्नको स्वागत र साझा प्रयोगको प्रश्न थियो । भक्का त्यसको उत्तर हो । नयाँ अन्नको पहिलो स्वाद एक्लै होइन, परिवार र छिमेकीसँग बाँडिन्छ । यही साझा अभ्यासले भक्कामा संस्कारको रूप ल्याएको हो ।
स्वास्थ्यको दृष्टिले भक्का सरल तर सन्तुलित खाना हो । बाफमा पाक्ने भएकाले पचाउन सजिलो हुन्छ । जाडोमा शरीर तताउँछ, तर पाचन बिगार्दैन । मसला वा तेल हुँदैन। धनियाको चट्टनी वा गोलभेडाको अचारसँग खाने चलनले ऊर्जा र पोषणको सन्तुलन दिन्छ । आधुनिक पोषण विज्ञानका शब्दहरू जस्तै स्टिमड फुड, गट फ्रेन्डली फुड वा लाइट मिल जे भने पनि भक्का पुस्तौं देखिको त्यही अभ्यास हो ।
भक्का एक्लै खाइँदैन । यही यसको मुख्य संस्कार हो । घर–घरमा आगो बल्छ । भाँडो बाफले भरिन्छ। सबै जना सँगै बस्छन् । आफन्त, छिमेकी पनि आउँछन् । बालबालिका वरिपरि घुम्छन् । धनी–गरिब छुट्याइँदैन । सबै एउटै भाँडो, एउटै स्वाद, एउटै अनुभवमा जोडिन्छन् । यही सामूहिकता भक्काको आत्मा हो।
जाडो सुरु भएदेखि पुसको अन्त्यसम्म निरन्तर बनाइन्छ भक्का । पुसको अन्तिमतिर विशेष दिनका रूपमा मनाइन्छ-भक्का दिवस। यो केवल खानाको उत्सव होइन । जाडोको विदाइ हो । सामुदायिक आत्मीयता र साझा जीवनको सम्मान हो । यसपछि माघ लाग्छ र माघीका परिकारहरू तिल/भुजाको डल्लो, चाकु, खीर, तरुल आदि खानातिर समुदाय मोडिन्छ ।
हामीले भक्कालाई केवल परिकारका रूपमा मात्र होइन, संस्कारका रूपमा पनि बुझ्नुपर्छ र जिउनुपर्छ। भक्का खाँदा पेट भरिन्छ। तर त्योभन्दा ठूलो कुरा, मानिस–मानिस नजिकिन्छन् । अन्न, मौसम र समाज एकै ठाउँमा भेटिन्छन्।
भक्का केवल बाफमा पाकेको चामल होइन, यो तराईको जीवनदर्शन हो । सरल, शान्त, तर गहिरो । यही कारणले भक्का आज पनि बाफ बनेर उठ्छ र हामीलाई सम्झाउँछ कि सादा जीवन पनि गहिरो हुन सक्छ।
प्रतिक्रिया 4