३ माघ, डोटी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका सबै (१६ निर्वाचन क्षेत्र)का उम्मेदवारको नाम टुंगो लगाएको छ ।
जस अनुसार, पार्टीका नेता भीम रावल अछाम निर्वाचन क्षेत्र–१ बाट चुनाव लड्ने भएका छन् ।
नेकपाले कैलाली निर्वाचन क्षेत्र–१ बाट रामलाल डगौरा थारुलाई उम्मेदवार वनाउने भएको छ । साविक नागरिक उन्मुक्ति पार्टी नेता रामलाल हाल टिकापुर नगरपालिकाका नगर प्रमुख हुन् ।
यस्तै, कैलाली–२ बाट राजेन्द्र साउँद, ३ बाट विरमान चौधरी र ४ बाट हरि चौधरी उत्सव उम्मेदवार हुने भएको छन् । साउँद र चौधरीद्वय साविक माओवादीका नेता हुन् ।
पूर्वमन्त्री तथा साविक नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेमगरले कैलाली—५ बाट उम्मेदवार बन्ने मौका पाएका छन् । आले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उक्त क्षेत्रमा चुनाव लड्ने चर्चा चलेको थियो, अन्तत: उनी नेकपाबाटै चुनाव लड्ने भएका छन् ।
कञ्चनपुर—१ मा विना मगर, २ मा लाल बहादुर खड्का र ३ मा मान बहादुर सुनारको नाम टुङ्गो लागेको छ । खड्का साविक एकीकृत समाजवादीको नेता हुन् । अछाम—२ बाट माओवादी पृष््ठभूमिका शरदसिंह भण्डारीले उम्मेदवारी दिने भएका छन् । डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी, बझाङबाट मीनबहादुर कुवर, बैतडीबाट परमानन्द भट्ट र डोटीमा त्रिलोचन भट्टले उम्मेदवार बन्ने अवसर पाएका छन् । बैतडीका भट्ट एकिृकृत समाजवादी पृष्ठभूमिका हुन् भने अरु माओवादी पृष्ठभूमिका हुन् । बिभिन्न दलहरु एकीकृत भएर नेकपा बन्ने क्रममा एमाले छोडेर नेकपा प्रवेश गरेका पूर्व प्रदेशमन्त्री प्रकाश शाह बाजुराका लागि उम्मेदवार छानिएका छन् ।
प्रस्तावित उम्मेदवारहरूमा साविक नेकपा माओवादी केन्द्रबाट १०, नेकपा एकिकृत समाजवादीबाट तीन, नागरिक उन्मुक्ति पार्टीबाट एक र मातृभूमि जागरण अभियानबाट एक जना परेका छन् ।
बाँकी एक जना नेकपा एमाले परित्याग गरी नेकपा प्रवेश गरेका व्यक्तिले उम्मेदवारीको अवसर पाएका छन् ।
प्रतिक्रिया 4