News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘रमिताको पिरती’ ले नयाँ गीत ‘फोन नगर’ युट्युबमा रिलिज गरेको छ, जसमा कुशल पोखरेलको गायन र शब्द छन्।
- गीतलाई ब्रेकअपको कथावस्तुमा केटीको दृष्टिकोणबाट तयार पारिएको छ र भिडियोमा कुशल र आना शर्मा फिचर्ड छन्।
- फिल्म २३ माघदेखि प्रदर्शन तयारीमा छ र यससँग सम्बन्धित कन्सर्ट विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौंमा आयोजना गरिनेछ।
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ ले नयाँ गीत ‘फोन नगर’ युट्युबमा रिलिज गरेको छ । कुशल पोखरेलको गायन रहेको गीतलाई बुटवलमा आयोजित कन्सर्टमा पहिलोपटक सार्वजनिक गरिएको थियो ।
सार्वजनिक गीतमा शब्द र स्वर पोखरेलकै छ । नयाँपुस्ताका दर्शक तथा श्रोताको रुचिलाई केन्द्रित गरेर गीत तयार पारिएको जनाइएको छ । भिडियोमा कुशल र आना शर्मा फिचर्ड छन् ।
झोलेइज्मको निर्देशन, छायाङ्कन र सम्पादनमा तयार भएको भिडियोमा जेस्टीको नृत्य निर्देशन छ । सो कन्सर्टमा कुशल र आनासँगै समीर श्रेष्ठ, महेश काफ्ले, जेम्सी, हुलाकीलगायतले प्रस्तुति पनि दिएका थिए ।
५ हजारभन्दा धेरै दर्शकको उपस्थितिमा कुशलले गीत गाएपछि दर्शकले ‘वान्स मोर’ भन्दै उत्साह व्यक्त गरेका थिए ।
गीतबारे कुरा गर्दै पोखरेलले कथावस्तु ब्रेकअपबारे भएकाले केटीको दृष्टिकोणबाट गीत बनाइएको बताए । भिडिओ निर्माणमा काम गर्दा रमाइलो लागेको उल्लेख गर्दै उनले गीतले युवापुस्ताको ब्रेकअपपछिको कथालाई भन्ने बताए ।
‘यो गीत बनाउने कुरा झन्डै एक वर्षअघि भएको थियो । आ-आफ्नो काममा व्यस्त भए पनि अन्ततः फेरि भेटेर एउटा सिर्जना तयार गरेका छौँ । अलि समय लागेपनि कडा चिज निस्किएको जस्तो लागेको छ, दर्शक प्रतिक्रियाको प्रतीक्षमा छु’, कुशलले भने ।
उक्त कन्सर्टमा महेश काफ्लेले ‘जुनीभर’ र समीर श्रेष्ठले ‘तिमी भए काफी’ गीत प्रस्तुत गरेका थिए भने आना शर्माले पर्फर्मरका रूपमा साथ दिएकी थिइन् । निर्माता सागर लम्सालका अनुसार विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौंमा पनि कन्सर्ट आयोजना गरिनेछ, जहाँ फिल्मसँग सम्बन्धित गायक गायिकाले प्रस्तुति दिनेछन् ।
२३ माघदेखि प्रदर्शन तयारीमा रहेको फिल्मलाई सुदिप्ताले निर्देशन गरेकी हुन् । फिल्ममार्फत गायक श्रेष्ठले अभिनेताका रूपमा डेब्यू गर्दैछन् । धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई लगायतको पनि अभिनय छ ।
प्रतिक्रिया 4