News Summary
Generated by OK AI. Editorially reviewed.- लगानी बोर्ड नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गर्न एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउने भएको छ।
- एकल बिन्दु सेवा केन्द्रका लागि सहसचिव हेमराज तामाङलाई संयोजक तोकिएको छ र १४ सरकारी निकायले फोकल पर्सन तोकेका छन्।
- फोकल पर्सनहरूले सम्बन्धित मन्त्रालय/निकायसँग समन्वय गरी लगानी बोर्डबाट प्राप्त फाइलको समयमै राय प्रतिक्रिया दिने र कार्यसम्पादनमा सहजीकरण गर्नेछन्।
४ माघ, काठमाडौं । लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।
छिटो छरितो सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता थप आकर्षित गरी लगानी वृद्धि गर्न एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।
लगानी बोर्डले एकल बिन्दु सेवा केन्द्र संयोजन गर्ने कार्यका लागि सहसचिव हेमराज तामाङलाई तोकेको छ । एकल बिन्दु सेवा केन्द्रसँग समन्वय गरी कार्य अघि बढाउन १४ सरकारी निकायले अख्तयारी सहित फोकल पर्सन तोकेका छन् ।
जसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण र नेपाल राष्ट्र बैंकले ‘फोकल पर्सन’ तोकेका छन् ।
यसैगरी अध्यागमन विभाग, आन्तरिक राजस्व विभाग, उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, भन्सार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले समेत फोकल पर्सन तोकेका हुन् ।
यससँगै विद्युत् विकास विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणले समेत प्रतिनिधि तोकेका छन् ।
बोर्डले तोकेका अरू निकायले पनि फोकल पर्सन तोक्न सक्ने छन् । बोर्डको कार्यालयले एकल बिन्दु सेवा केन्द्रका लागि सम्बन्धित मन्त्रालय, विभाग एवं निकायसँगको समन्वयमा कार्यविधि मस्यौदा तयार पारेको छ ।
बोर्डले तत्कालका लागि सम्बन्धित मन्त्रालय/निकायका फोकल पर्सनसँग समन्वय गरी कार्य अघि बढाउने छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले जेनजी आन्दोलन क्रममा बोर्डको कार्यालयमा आगजनी भएको हुँदा नयाँ कार्यालय व्यवस्थापन र कार्यविधिले अन्तिम रूप पाएपछि एकै ठाउँबाट सेवा प्रवाह हुने बताए । अटोमेसनबाट काम हुने हुँदा प्रविधि प्रयोग महत्त्वपूर्ण भएको उनको भनाइ छ ।
फोकल पर्सनहरूसँगको छलफलमा बोर्ड सीईओ ज्ञवालीले लगानी सम्बन्धी राष्ट्रिय लक्ष्य प्राप्ति र सुशासन कायम गर्न अपनत्व लिएर काम अघि बढाउन अनुरोध गरे ।
‘लगानी बोर्डले सबैसँग समन्वय गरेर काम गर्छ,’ उनले भने, ‘यसमा सबै निकायको साथ र सहयोग अपेक्षित छ ।’
विज्ञ रामकृष्ण सापकोटाले धेरै निकायबाट सेवा प्रवाह गर्नुपर्दा लगानीकर्तालाई झन्झटिलो हुने भन्दै एकल बिन्दु सेवा केन्द्रको कार्यान्वयनले लगानीकर्तासँग सम्बन्धित कार्य चुस्त हुन सक्ने बताए ।
अहिलेका लागि फोकल पर्सन सम्बन्धित मन्त्रालय/निकायको ‘सिंगल प्वाइन्ट अफ कन्ट्याक्ट’ हुनेछन् । उनीहरूले लगानी बोर्डको कार्यालयबाट सिफारिस भएका आ–आफ्ना निकायसँग सम्बन्धित कार्यसम्पादन गर्न सहजीकरण गर्नेछन् ।
लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार फोकल पर्सनले सार्वजनिक निजी साझेदारी ऐन २०७५, सार्वजनिक तथा लगानी नियमावली २०७७ र लगानी बोर्डको रणनीति तथा व्यावसायिक योजनाले तोकेका सेवा प्रवाह सम्बन्धी कार्य गर्न सहयोग पुर्याउनेछन् ।
यस्तै उनीहरूले लगानी बोर्डको कार्यालयबाट प्राप्त फाइल तथा पत्रको समयमै राय प्रतिक्रिया दिने, कार्यरत निकाय तथा लागनी बोर्डको कार्यालयबीच पुलको काम गर्ने, संस्थागत समन्वयकर्ताको भूमिका निर्वाह गर्ने लगायत काम गर्नेछन् ।
प्रतिक्रिया 4