+
+
Shares

रास्वपा मकवानपुरका सभापति पार्टी कार्यालय पुगे, तर टिकट अर्कैले फुत्काए

रास्वपा मकवानपुरका सभापति भरत पराजुली चुनावको टिकट लिन केन्द्रीय कार्यालय पुगे । तर त्यहाँ पुगेपछि थाहा पाए, टिकट त अर्कैले फुत्काइसकेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा मकवानपुर सभापति भरत पराजुलीले प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएर पार्टी कार्यालयबाट रित्तो हात फर्किएका छन्।
  • रास्वपाले मकवानपुर–२ को लागि २५ वर्षीय प्रशान्त उप्रेतीलाई टिकट दिएको छ, जसलाई पार्टीका नेता गणेश पराजुलीले हस्तान्तरण गरेको जानकारी दिए।
  • रास्वपाले मकवानपुर–१ बाट पार्टी जिल्ला उपसभापति प्रकाश गौतमलाई टिकट दिएको छ र भोलि पार्टी कार्यालयमा छलफलका लागि भेला बोलाइएको छ।

५ माघ, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनको टिकट लिन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय पुगेका रास्वपा मकवानपुर सभापति भरत पराजुली रित्तो हात फर्किएका छन् । सभापति भरत पराजुली आज पार्टी कार्यालय पुग्दा टिकट अर्कैले फुत्काइसकेको थियो । यो खबरले रास्वपा मकवानपुरमा तरंग आएको छ ।

भोलि मंगलबार बिहान ९ बजे जिल्लास्थित पार्टी कार्यालयमा परिस्थतिबारे छलफल गर्न भेला बोलाइएको रास्वपा मकवानपुरका एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

रास्वपाले मनहरी गाउँपालिका–७ घर भएका २५ वर्षीय युवक प्रशान्त उप्रेतीलाई मकवानपुर–२ को लागि टिकट दिएको छ । उप्रेतीले अनलाइनखबरसँग कुरा गर्दै रास्वपाका नेता गणेश पराजुलीले पार्टी कार्यालयमा आफूलाई प्रतिनिधिसभाको टिकट हस्तान्तरण गरेको जानकारी दिए ।

आफू जेनजी आन्दोलनबाट आएको बताउँदै उप्रेतीले बालेन शाह र सुधन गुरुङको समूहबाट टिकट पाएको बताए ।

‘म आज पार्टी कार्यालयमै थिएँ, अर्कैले टिकट लगिसकेको थाहा भयो,’ पराजुलीले अनलाइनखबरसँग भने । रास्वपाले टिकट दिएका उप्रेतीलाई आफूले पनि नचिनेको उनको भनाइ छ ।

‘मैले पनि चिनेको छैन । जेनजीबाट भन्छ, थाहै छैन,’ पराजुलीले भने, ‘म सभापति मात्र नभई २०७९ मा चुनाव लडेर १२ हजार बढी मत ल्याएको मान्छे हुँ । खोई अहिले दिएनन्, पार्टीका बिचौलियाहरूले चलखेल गरे । म त अब हेटौंडा फर्किँदैछु ।’

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट पराजुलीले १२ हजार ३९ मत ल्याएर तेस्रो भएका थिए । यस क्षेत्रबाट नेकपा एमालेका महेश बर्तौला ३४ हजार ९१६ मत ल्याउँदै ४ हजार ५२० मतान्तरसहित विजयी भएका थिए । तत्कालीन नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडाले ३० हजार ३९६ मत पाएका थिए ।

रास्वपाबाट टिकट ल्याएका २५ वर्षीय उप्रेती होटल तथ पर्यटन व्यवसायी हुन् । आफ्नो काठमाडौंमा होटल व्यवसाय पनि रहेको र पर्यटक गाइडको रूपमा पनि काम गर्दै आइरहेको उनले बताए । ट्राभल एन्ड टुरिजममा स्नातक गरेका उप्रेतीले काठमाडौं विश्वविद्यालयबाट लिडरसिप एन्ड म्यानेजमेन्टमा स्नातकोत्तर गरिरहेको बताए ।

यसैगरी, रास्वपाले मकवानपुर–१ बाट पार्टी जिल्ला उपसभापति प्रकाश गौतमलाई टिकट दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?