+
+
Shares

रास्वपा तेह्रथुमका जिल्ला तथा पालिका समितिको सामूहिक राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २०:४१

५ माघ, तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्ला कार्यसमिति, सबै पालिका समिति तथा वडा कमिटीका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् ।

पार्टीको केन्द्रीय नेतृत्वले पार्टीकै विधि र प्रक्रियाविपरीत उम्मेदवार चयन गरेको भन्दै असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि मुलुक नयाँ राजनीतिक मोडमा प्रवेश गरेको सन्दर्भ उल्लेख गर्दै तेह्रथुमबाट युवा, सक्षम र अब्बल उम्मेदवारका रूपमा अवेर तेह्रथुमका संयोजक इन्जिनियर सुरेन्द्र कार्कीलाई अन्य केही दल तथा पक्षको साझा उम्मेदवारका रूपमा अगाडि बढाउने राजनीतिक सहमति भएको उनीहरूको भनाइ छ ।

उक्त सहमतिअनुसार घण्टी चुनाव चिह्नमार्फत आगामी निर्वाचनमा सहभागी गराउने निर्णय गरिएको र पार्टीको नियमित प्रक्रियाअनुसार प्रदेश तथा केन्द्रमा सबै औपचारिकता पूरा गरिएको उल्लेख गरिएको छ ।

तर, पार्टीले नै पारित गरेको उम्मेदवार छनोट प्रक्रियाविपरीत जिल्ला कार्यसमिति र प्रदेश समितिको भावनाविपरीत अमुक व्यक्तिलाई टिकट प्रदान गरिएको आरोप उनीहरूले लगाएका छन् ।

यसले पार्टीको विधि र प्रणालीमाथि प्रश्न उठाउनुका साथै जिल्लास्तरमा बनेको व्यापक राजनीतिक सहमतिमाथि कुठाराघात भएको उनीहरूको निष्कर्ष छ । यस निर्णयले तेह्रथुमको जनभावनामा गम्भीर असर परेको पनि राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

केन्द्र र प्रदेशसँग सहकार्य गर्दै गरिएको राजनीतिक सहमति कार्यान्वयन गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै रास्वपा तेह्रथुम जिल्ला कार्य समिति, सबै पालिका समिति र वडा कमिटिका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएको जनाइएको छ ।

राजीनामा दिनेमा जिल्ला कार्यसमिति तेह्रथुमका सभापति सुमन खत्री, म्याङलुङ नगरपालिका कमिटी संयोजक गणेश खापुङ, लालिगुराँस गाउँपालिका कमिटी सभापति सुमन लिम्बु, मेन्छयायेम गाउँपालिका कमिटी संयोजक छत्रबहादुर थापा, छथर गाउँपालिका कमिटी सचिव थिरबहादुर कटुवाल, फेदाप गाउँपालिका कमिटी संयोजक लक्ष्मण थापा, आठराई गाउँपालिका कमिटी सभापति चेतन गौतम तथा काठमाडौं सम्पर्क विभाग संयोजक गुणनिधि अड्तौला लगायत छन् ।

सामूहिक राजीनामा केन्द्रीय कार्यालय, प्रदेश कार्यालय तथा सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ ।  (तेह्रथुमबाट प्रकाश पाक्साँवाको रिपोर्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?