+
+
Shares

सिरहा–४ मै फर्किए राजकिशोर, जनमतका डा. महतोसँग प्रतिस्पर्धा

सुरेश राय सुरेश राय
२०८२ माघ ६ गते ७:३४

सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादव आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् ।

२०७९ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर २ बाट निर्वाचित यादव यसपटक क्षेत्र परिवर्तन गर्दै ४ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि उनी यही क्षेत्रबाट विजयी भएका थिए ।

यादव सिरहा–४ बाट उम्मेदवार बन्ने भएपछि सोही क्षेत्रबाट २०७९ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. वीरेन्द्रप्रसाद महतोले जनता समाजवादी पार्टी परित्याग गरी जनमत पार्टी प्रवेश गरेका छन् । पार्टीबाट टिकट नपाउने निश्चित भएपछि उनले जनमत रोजेको बताइएको छ । डा. महतोले पनि यही क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेका छन् ।

जसपा नेपाल विभाजनका क्रममा अशोक राई नेतृत्वको जसपामा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा रहेका महतोले दुई दिनअघि मात्रै जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतबाट सदस्यता लिँदै पार्टी प्रवेश गरेका थिए।

२०७९ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर ४ बाट डा. महतो २४ हजार १०२ मतसहित विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत प्राप्त गरेका थिए।

त्यस्तै, २०७९ कै निर्वाचनमा सिरहा क्षेत्र नम्बर २ बाट राजकिशोर यादव २४ हजार १७८ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवले २३ हजार २८ मत प्राप्त गरेकी थिइन्।

राजकिशोर यादव र डा. वीरेन्द्र महतोबीचको सम्भावित प्रतिस्पर्धाले सिरहा–४ को चुनावी माहोल थप रोचक बन्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?