News Summary
Generated by OK AI. Editorially reviewed.- भारतमा निपाह भाइरस संक्रमण पुष्टि भएको छ र संक्रमितमध्ये स्वास्थ्यकर्मी पनि छन् ।
- नेपालमा निपाह भाइरसको प्राकृतिक रिजर्भोयर मानिने चमेरो प्रशस्त पाइन्छ र सुँगुरमार्फत मानिसमा सजिलै सर्न सक्छ।
- नेपालले भारतबाट फर्किएका र लक्षण देखिएका व्यक्तिहरूको परीक्षण तयारी गरेको छ ।
केही दिनअघि भारतमा निपाह भाइरस संक्रमण पुष्टि भएको छ । चाखलाग्दो कुरा संक्रमितमध्ये स्वास्थ्यकर्मी (नर्स र चिकित्सक) पनि छन् । संक्रमित मध्ये कतिपयको आईसीयूमा राखेर उपचार भइरहेको छ । नेपालमा निपाह भाइरसको प्राकृतिक रिजर्भोयर मानिने चमेरो प्रशस्त पाइन्छ । सुँगुरमार्फत तथा मानिसबाट मानिसमा सजिलै सर्न सक्ने भएकाले नेपाल पनि निपाह भाइरस संक्रमणको खतरामा छ ।
निपाह भाइरस पारामिक्सोभिरिडी परिवार अन्तर्गत पर्ने (हेनिपाभाइरस जिनस) एक उच्च घातक भाइरस हो । सन् १९९९ मा यो पहिलो पटक मलेसियाका सुँगुर पालक कृषकहरूमा देखिएको थियो । त्यसबेला संक्रमितमध्ये झन्डै ४० प्रतिशतको मृत्यु भएको थियो । भारत र बंगलादेशमा भने झन्डै एकै समयमा, सन् २००१ तिर निपाह भाइरस पुष्टि भएको देखिन्छ । त्यसयता यी दुवै देशमा प्रायः हरेक वर्ष मानिस संक्रमित हुँदै आएको तथ्यांकले देखाउँछ । विभिन्न अनुसन्धान अनुसार भारत र बंगलादेशमा यस भाइरसको मृत्युदर औसतमा ७० देखि १०० प्रतिशतसम्म छ ।
निपाह भाइरस मुख्यतः संक्रमित सुँगुरसँग नजिक रहने व्यक्तिलाई सर्ने गर्दछ । विशेषगरी सुँगुर पालक कृषकहरू सबैभन्दा बढी जोखिममा रहने गर्छन् । मलेसियामा भएको आउटब्रेक यसको स्पष्ट उदाहरण हो । नेपालमा पनि सुँगुर पालन गर्ने प्रचलन धेरै छ । तर हालसम्म नेपालमा सुँगुरबाट मानिसमा निपाह भाइरस सरेको पुष्टि भएको छैन ।
भारत र बंगलादेशमा भएका निपाह भाइरस आउटब्रेकहरू पनि सुँगुरबाट नै भएको भन्ने ठोस प्रमाण देखिँदैन । बरु, चमेरोको र्याल वा शरीरबाट निस्किएको तरल पदार्थबाट सरेको देखिन्छ । चमेरोले जुठो गरेर छाडेको फल खाएका कारण मानिसमा संक्रमण भएको विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।
नेपालमा निपाह भाइरसको प्राकृतिक रिजर्भोयर मानिने प्रजातिका चमेरो रहेको कुरा अनुसन्धानहरूले देखाएका छन्, तर हालसम्म मानिसमा संक्रमण भएको पुष्टि भएको छैन । सम्भवतः मानिस र चमेरोबीच कुनै खालको सम्पर्क नहुनु यसको कारण हुन सक्छ । फिलिपिन्समा भने संक्रमित घोडाबाट मानिसमा निपाह भाइरस सरेको घटना देखिएको थियो ।
निपाह भाइरस मानिसबाट मानिसमा सर्नु सबैभन्दा चिन्ताजनक विषय मानिन्छ । भारत र बंगलादेशमा भएका धेरैजसो आउटब्रेकहरूमा मानिसबाट मानिसमा सरेको देखिएको छ। संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थको सम्पर्कबाट यो भाइरस सजिलै सर्न सक्छ । सन् २००१ मा भारतको सिलिगुडीस्थित एक अस्पतालमा भएको आउटब्रेक यसको ज्वलन्त उदाहरण हो, जहाँ ७५ प्रतिशतसम्म स्वास्थ्यकर्मी तथा अस्पताल आएका व्यक्तिहरू संक्रमित भएका थिए ।
हालै भारतमा देखिएको निपाह भाइरसको आउटब्रेक पनि मानिसबाट मानिसमा सरेको देखिन्छ, यद्यपि यसको प्रारम्भिक स्रोत कुन जनावर हो भन्ने कुरा यस लेख लेख्दाको समयसम्म सार्वजनिक भइसकेको छैन।
२४ देखि ४८ घण्टाभित्र कोमामा
संक्रमण भएको ४ देखि १४ दिनभित्र निपाह भाइरसका लक्षणहरू देखिन थाल्छन् । सुरुमा ज्वरो आउने, शरीर दुख्ने, घाँटी दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिन्छन् । त्यसपछि बिरामीमा इन्सेफ्लाइटिस (मस्तिष्कको सूजन) का लक्षण देखिन सक्छन् । यस्तो गम्भीर अवस्था आएमा बिरामी २४ देखि ४८ घण्टाभित्र अचेत अवस्था (कोमा)मा जान सक्छ । साथै, निमोनिया तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन सक्छ । उपचारपछि निको भएका करिब २० प्रतिशत बिरामीमा दीर्घकालीन स्नायु सम्बन्धी समस्या हुन सक्ने देखिएको छ । हालसम्म यस भाइरसविरुद्ध विशेष एन्टिभाइरल औषधि वा खोप विकास भइसकेको छैन ।
यसका लक्षणहरू फ्लू वा अन्य संक्रमणसँग मिल्दोजुल्दो हुने भएकाले प्रयोगशाला परीक्षणबाट मात्र निश्चित निदान गर्न सकिन्छ । संक्रमितको रगत, पिसाब, ढाडको पानी वा नाक तथा घाँटीको स्वाब नमुनाबाट पीसीआर वा एलाइजा परीक्षण विधिबाट भाइरसको पुष्टि गर्न सकिन्छ।
हालै भारतमा निपाह भाइरस देखिएपछि नेपालले पनि परीक्षणको तयारी गरेको भन्ने जानकारी आएको छ । त्यसैले हाल भारत (विशेषगरी पश्चिम बंगाल) बाट फर्किएका र माथि उल्लेखित लक्षण देखिएका व्यक्तिहरूले परीक्षण गराउनु आवश्यक छ । यसले सम्भावित आउटब्रेकलाई समयमै रोक्न मद्दत पुर्याउनेछ ।
हाल भारतमा देखिएको निपाह भाइरस स्वास्थ्यकर्मीबीच फैलिएको र फैलिरहेको जस्तो देखिन्छ । अर्थात् संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले पर्याप्त सावधानी नअपनाउँदा भाइरस सरेको हुनसक्छ । नेपालमा पनि अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा बिरामीको उपचार गर्दा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रयोग गरिएको देखिँदैन । यसले यदि यो भाइरस फैलिएमा नेपालका स्वास्थ्यकर्मीहरू उच्च जोखिममा रहेको संकेत गर्छ ।
नेपालमा निपाह भाइरसको प्राकृतिक रिजर्भोयर मानिने चमेरोको उपस्थिति, सुँगुर पालनको लोकप्रियता, नेपाल–भारत खुला सीमाका कारण संक्रमित व्यक्तिको सहज आवतजावत र अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उच्च घातक संक्रामक रोगमैत्री भौतिक संरचनाको अभाव कारणले नेपालमा निपाह भाइरसको सम्भावित आउटब्रेकको जोखिमलाई नकार्न सकिँदैन ।
(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।)
प्रतिक्रिया 4