६ माघ, पोखरा । सुशीला कार्की सरकारमा शिक्षा मन्त्री रहुन्जेल महावीर पुन भन्ने गर्थे, ‘चुनाव त लड्दै लड्दिनँ ।’
आफू चुनाव नलड्ने तर नयाँ दलहरू मिल्नैपर्ने बताउँदै आएका तिनै महावीर मंगलबार एकाएक मनोनयन दर्ता गराउन गृहजिल्ला म्याग्दी पुगे । र, स्वतन्त्र उम्मेदवारी दिए ।
२–४ जना लिएर आफ्नो पुरानै शैली र पोशाकमा मनोनयन दर्ता गराउन पुगेका महावीरले म्याग्दीसँगै देशकै ध्यान खिचे, सरप्राइज दिए । उनको उम्मेदवारीले म्याग्दीका पुराना मात्र होइन, नयाँ दलहरूलाई समेत झट्का दिएको छ ।
मनोनयन दर्ता गरेपछि महावीरले नयाँहरू नमिलेपछि आफैं मैदानमा उत्रिएको बताए । ‘जिन्दगीमा चुनाव लड्ने इच्छा त थिएन, अस्ति राति १२ बजेसम्म केही हुन्छ कि भनेर खुब कोसिस गरें । केही नहुनेदेखेपछि हिजो बिहान मात्र निर्णय गरेको हो,’ म्याग्दीका पत्रकारहरूसँग उनले भने ।
जेनजी आन्दोलनपछि पनि पदकै निम्ति नयाँ दलहरू मिल्न नसकेको र मिल्दै नमिल्ने देखेपछि अन्तिम घडीमा रातारात निर्णय लिएको बताउँदै महावीरले म्याग्देलीसँग मत मागेका थिए ।
अस्तिसम्म चुनाव उठ्दिन भनेका महावीर एकाएक कसरी उम्मेदवारी दर्ता गराउने निष्कर्षमा पुगे त ? मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उस्तै ठट्यौली पारामा भने, ‘झोक चल्यो र आएँ ।’
उनले रास्वपाका रवि र बालेनतिर संकेत गर्दै आफैं उम्मेदवार हुनुपरेको बताए । कतिपयले यसलाई रास्वपाको समर्थनका लागि हुनसक्ने बताइरहेका छन् भने देशका लागिभन्दा नयाँ, पुराना सबै दल पदकै लागि चुनावमा होमिएको एजेन्डासहित मत माग्ने महावीरको रणनीतिका रूपमा हेरेका छन् ।
‘युवाहरूको पनि ढंग छैन । युवाहरूमै खुट्टा तानातान भइराखेको छ । सुरुमै यहाँ देखिइसक्यो, एउटाको खुट्टा अर्कोले तानेको छ । अनि यसरी प्रधानमन्त्री हुन्छु भन्छ,’ पुनले भने, ‘प्रधानन्त्री हुन्छु भन्ने नमिल्ने, एकआपसमा खुट्टा तान्ने । पुरानो पार्टीको त कुरै नगरौं, पहिलेदेखि नै तानातान छ । नयाँ युवाहरूले पनि खुट्टा तानातान गरेको देखेर झोक चल्यो ।’
महावीर म्याग्दीको अन्नपूर्ण गाउँपालिका नागीमा जन्मिएर ७ कक्षासम्म त्यहीँ पढेर परिवारसहित चितवन सरेका थिए । महावीरलाई कतिबेला झोक चल्छ र के निर्णय लिनुपर्छ भन्ने अन्तिम घडीमा मात्र अवगत हुने उनी आफैं बताउने गर्छन् ।
चितवनमै अध्ययन, अध्यापन गरिरहँदा महावीरलाई झोक चल्यो र अमेरिका हान्निए । त्यहाँबाट फर्किँदा त्यहाँको प्रविधि र ज्ञान पनि लिएर फर्के । अनि उनलाई झोक चल्यो, म्याग्दीको आफ्नै जन्मगाउँमा वायरलेस इन्टरनेट पुर्याउँछु भन्ने । दुर्गम गाउँमा इन्टरनेट पुर्याएर उनले नेपालमा प्रविधिको सम्भावना मात्र उजागर गरेनन्, रोमन म्यागेसेसेबाट सम्मानित भए ।
अमेरिकाबाट नेपाल फर्किएर प्रविधि र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्छ भनेर सरकारलाई झक्झक्याइरहेका महावीरलाई फेरि झोक चल्यो र आविष्कार केन्द्र खोले । वीरगञ्ज कृषि सामग्री केन्द्र खोले तर उनले ठूलो साथ सहयोग नपाएपछि उनलाई झोक चल्यो र काठमाडौंमा आन्दोलन नै गरे । सरकारको ढोकाढोका चहारे । त्यति गर्दा पनि ठूलो उपलब्धि नभएपछि फेरि उनलाई झोक चल्यो र आफ्नै किताब निकाले ।
देशका विभिन्न ठाउँमा आफैं किताब बेच्दै हिँडेर पैसा जुटाइरहेका बेला देशमा भदौ २३ र २४ गते देशमा जेनजी आन्दोलन भयो । पूर्वप्रधानन्यायधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो र उनलाई मन्त्रीको अफर जाँदा सुरुमा अलमलमा देखिए । आविष्कार केन्द्र र कृषि सामग्री केन्द्रका लागि रकम जुटाउन आफ्नै किताब बेच्दै हिँडेका महावीरलाई फेरि झोंक चल्यो र शिक्षा मन्त्री भए ।
शिक्षामन्त्रीका रूपमा महावीर पुन उस्तै ठेट बोली र स्वभावले चर्चामा आइरहे तर आफ्नै सरकारले घोषणा गरेको चुनावमा उठ्दिन भन्दाभन्दै फेरि उनलाई झोक चल्यो र अहिले गृहजिल्ला म्याग्दीबाट उम्मेदवारी दिएका छन् ।
आगामी चुनावका लागि महावीरलाई रास्वपाले प्रस्तावसमेत गरेको थियो । तर उनले अस्वीकार गरेका थिए । तर अहिले म कुनै दलको पुच्छर बन्ने मान्छे होइन भन्दै म्याग्दी पुगेर मनोनयन दर्ता गराएका छन् ।
अन्तरिम सरकारबाटै परिवर्तन खोजेर आफूकहाँ पुगेका जेनजीहरूलाई उनले सबै कुरा गर्न नसकिने भन्दै चुनाव जितेर आउन र आफैं निर्णय गर्ने तहमा पुग्न सुझावसमेत दिएका थिए ।

सरकारबाट मंगलबारै राजीनामा दिएर मनोनयन दर्ता गराउन पुगेका महावीर चुनाव लड्न आउलान् भनेर म्याग्दीवासीले सोचेका थिएनन् । विभिन्न दलबाट उम्मेदवारी घोषणा गर्ने र म्याग्दीबाट चुनाव लड्ने आकांक्षीहरूको लर्कोमा महावीर थिएनन् ।
रास्वपाबाट उम्मेदवार हुनसक्ने अनुमान गरिएको भए पनि उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् र रास्वपाबाट म्याग्दी सभापति युवराज रोका उम्मेदवार छन् । ग्रामीण भूभाग रहेको म्याग्दीमा अहिलेसम्म दलहरूले नै जित हासिल गर्दै आएका छन् ।
महावीरले कुनै पार्टीको पुच्छर नहुने भन्दै स्वतन्त्र उम्मेदवारी किन दिए त ? मनोनयन दर्ता गराएपछि भने, ‘आउने रहर थिएन । कतिले उठ्नुस्, उठ्नुस् भनेर उक्साउँदा पनि टेरपुच्छर लाएको होइन । तर अन्तिम घडीमा युवाहरूले केही ढंग ल्याउलान् भनेको देखिएन, म पनि युवाहरूको हुलमा सामेल हुन्छु भनेर आएको हुँ ।’
महावीरले झोक नै चलेर उम्मेदवारी दिएका हुन् कि रणनीतिसहित गृहजिल्ला म्याग्दी पुगेका हुन्, अहिले धेरैजसो दलमा चर्चाको विषय बनेको छ । रास्वपाबाट युवराजको उम्मेदवारी परे पनि अन्तिमसम्ममा समर्थन गर्नसक्ने चर्चा नयाँ, पुराना दलहरूले गरिरहेका छन् ।
मनोनयनपछि युवाहरूकै कानमा घन्टी बजाउन आएको भन्ने महावीरले अभिव्यक्तिमा पनि कतिपयले संकेतका रूपमा हेरेका छन् । ‘युवाहरूले मैले भनेको त सुन्दैनन्, नसुने पनि तिनीहरूको टाउकोमा अलिकति घन्टी बजाउनका लागि टिङ्टिङ् गराएर दिमागमा केही न केही नयाँ कुराहरू घुसाउन सकिन्छ कि, मैलेको भनेको सुन्छन् कि बाहिरबाट बसेर त सुन्दैनन् होला,’ मनोनयन दर्ता गरेपछि महावीरले भने ।
‘युवाहरूले राम्रोसँग ढंग ल्याउनुपर्छ, ढंग ल्याएनौ भने देश चाहिँ डुब्छ । यो एक किसिमले अन्तिम चान्स हो । अनि रातारात उठेको हो अरू कुरा जान्दिनँ,’ महावीरले भने ।
उनले आफू अरू जसरी चुनावी अभियानमा नहिँड्ने भन्दै आफूलाई मन पराउनेहरूसँग मत मागे । ‘महावीर पुन मन पर्नेहरूले मत दिनुहोला, म चाहिँ त्यसरी चुनावका लागि मरिहत्ते गर्दिनँ, मन पर्ने व्यक्तिले दिनुहोला,’ उनले भने ।
उनले अहिलेसम्म आफूले अन्तिम समयमा मात्र निर्णय लिने गरेको सुनाए । ‘यो मात्रै होइन, म कुनै पनि निर्णय अन्तिम आवरमा लिन्छु । यो पनि अन्तिम आवरमा लिएको हुँ,’ पुनले भने, ‘जिन्दगीमा अनेक थोक गरियो, चुनाव पनि लडेर हेरौं न भनेर रमाइलोका लागि आएकोे हो । चुनाव चिह्न के दिन्छन् थाहा छैन, जे दिन्छन् त्यसैमा लड्ने हो ।’
राजनीतिमा चासो राख्नेहरूलाई चक्मा दिँदै मनोनयन दर्ता गराए पनि महावीरलाई म्याग्दीमा चुनाव जित्न सहज भने छैन । म्याग्दीमा नेपाली कांग्रेसले जिल्ला उपसभापति कर्णबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।
नेकपा एमालेले पूर्वजिल्ला अध्यक्ष तथा यसअघिकै उम्मेदवार व्यवसायी हरिकृष्ण श्रेष्ठलाई उतारेको छ भने पछिल्लो समयमा माहोल बनाएको भनिएको रास्वपाबाट जिल्ला सभापति युवराज नै उम्मेदवार छन् । राप्रपा, विप्लव नेतृत्वको माओवादी लगायतका पनि आफ्नै उम्मेदवार छन् ।
ग्रामीण क्षेत्र भएकाले अधिकांश मतदाता दलहरूमै विभक्त भएको र जेनजी आन्दोलनपछि मतदाताको मुड बदलिएर पनि महावीरलाई जित्नका निम्ति ठूलै परिवर्तन चाहिने विश्लेषण नेताहरूको छ । महवीरले भने अझै परिवर्तनको समय छ भन्दै उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया 4