+
+
Shares

स्याङ्जाका फणिनारायणको सुन्तलामा तरक्की

फणिनारायणको बारीभरि लटरम्म सुन्तला फलेका छन् । उनले उत्पादन गरेको सुन्तला काठमाडौंको भाटभटेनी, बल्खु र नारायणघाटसम्म पुग्छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ माघ ७ गते ८:३०

७ माघ, स्याङ्जा । स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालको बारीभरि लटरम्म सुन्तला फलेका छन् । उनले ८० रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । ‘खेतलाई बारी बनाएर सुन्तलाको बेर्ना लगाएको थिएँ । सुन्तलाले जित्यो,’ उनले भने ।

गाउँका अरू कृषकको सुन्तला पनि फणिनारायणलाई नै लिन्छन् । सुन्तला ग्रेडिङ गरेर काठमाडौं पठाउन अर्याललाई भ्याइनभ्याइ छ । कोही सुन्तला टिपिरेहका छन् । कोही क्रेटमा राखेको सुन्तला गाडीमा लोड गरिरहेका छन् । कान्छो छोरा र श्रीमतीले साथ दिइरहेका छन् फणिनारायणलाई ।

‘सुन्तलाको सिजन हो । बारीभरि लटरम्म सुन्तला फलेको छ, भ्याइनभ्याइ छ । जिल्लाभरिकै सुन्तला संकलन गरिरहेको छु,’ उनले सुनाए । उनको बारीमा गत वर्ष ७५ मेट्रिकटन सुन्तला फलेको थियो । ‘यो वर्ष टिप्ने क्रम जारी छ,’ फणिनारायणले भने ।

त्रिपुत्र बागवानी फर्मका सञ्चालकसमेत हुन् उनी । यो फर्मबाट सुन्तला र कफीको काम हुने गरेको छ । उनको फार्ममा ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘बारीदेखि उपभोक्तासम्म पुर्‍यादासम्म प्रत्यक्ष अप्रत्यक्ष धेरैले रोजगार पाएका छन् । यहाँ प्रत्यक्ष ७० जना कामदार छन्,’ उनले भने ।

 फणिनारायणले उत्पादन गरेको सुन्तला काठमाडौंको भाटभटेनी, बल्खु र नारायणघाटसम्म पुग्छ । ‘भाटभटेनी जलेका कारण यो वर्ष कम खपत भयो । काठमाडौंको भाटभटेनीमा पाइने सुन्तला यहाँको हो,’ उनले भने, ‘दैनिक ४ गाडी जान्छ ।’

फणिनारायणले वार्षिक ५ करोड बराबरको कारोबार गर्ने गरेका छन् । ‘आफ्नोसहित अरू किसानबाट पनि एउटा मूल्यमा लिने गरेको छु । सबै गरेर ५ करोडको कारोबार हुनछ,’ उनले भने । स्याङ्जाको सुन्तलाको मिठो हुने दाबी उनको छ । ‘बाहिर कलर नराम्रो देखिए पनि निकै स्वादिलो हुन्छ,’ उनले भने ।

स्कुल पढ्दा सारेको सुन्तलाका बेर्ना

फणिनारायणले विद्यार्थी हुँदै सुन्तलाको बेर्ना ल्याएर रोपेका थिए । पहिलो पटक ७६ वटा दाना सुन्तला फलेको थियो । त्यो सुन्तला एकादशीको दिन आमासँग नुहाउन जाँदा उनले झोलामा लगेका थिए । ‘एउटाको एक रुपैयाँ, एउटाको एक रुपयाँ भनेर भनेको ७६ रुपैयाँ आयो । ५० वर्षअघि त्यो पैसा ठूलो थियो नि,’ उनले सुन्तला बेचेको दिन सम्झिए । त्यसबेला उनी ९ कक्षामा पढ्थे ।

फणिनारायण एसएलसीपछि उच्चशिक्षा पढ्न पोखरा आए । पोखराबाट थप सुन्तलाको बेर्ना लिएर गाउँ गए । ‘फलफूल बेच्ने होइन, आफैंले खाने हो भन्ने थियो । त्यो बेला पोखराबाट बेर्ना ल्याएर सारेको थिएँ । बेर्ना पाउन पनि गाह्रो थियो,’ उनले भने ।

गर्दागर्दै बारीभरि सुन्तलाको बोट भयो । सुन्तला ग्रेडिङ गर्ने मेसिन पनि उनीसँग छ । ए, बी र सी ग्रेडको सुन्तला उनले बजारमा पठाइरहेका छन् । यस पटक उनले ए ग्रेडको एक किलोको ११७ रुपैयाँ, बी ग्रेडको ७० र सी ग्रेडको २५ रुपैयाँसम्म बेचे ।

फणिनारायणले एउटा बेर्नाबाट सुरु गरेर परिवार चलाउने र आम्दानीको स्रोत नै सुन्तला र कफीलाई बनाए । ‘८ जना छोराछोरी छन् । ५ छोरी र तीन छोरा छन् । अहिले अध्ययनको क्रममा कोही अमेरिका कोही अष्ट्रेलिया कोही नेपालमै छन्,’ उनले भने ।

फणिनारायण आफैं पनि सुन्तलाको तालिम लिन विभिन्न देश पुगेका छन् । ‘अष्ट्रेलिया, भारत, चीन, कतार गएको छु,’ उनले भने ।

२०४९ सालको गाविस अध्यक्षसमेत हुन् फणिराम । ‘अध्यक्षबाट हटेपछि २०५६ बाट पूर्ण रूपमा कृषि क्रान्तिमा लागेको हुँ,’ उनले भने ।

 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग

गण्डकी प्रदेश सरकारको अनुदानमा उनले सुन्तला राख्ने कोल्डस्टोर राखेका छन् । नेपाल सरकारबाट मात्र होइन उनलाई अन्तर्राष्ट्रियस्तरबाट पनि सहयोग पाएका छन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सुन्तला रोप्ने र लामो समयसम्म राख्न प्राविधिक सहयोग गरेको छ । ‘सुन्तलाको चिसो भण्डारण परीक्षण, संकलन विधि, सुन्तला टिप्नका लागि सहयोग गरिरहेको छौं,’ जापानबाट आएकी स्वयंसेवक खावाजिरी नागिसाले भनिन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?