७ माघ, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले हतियार बुझाउन सूचना जारी गरेको हो ।
व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार माघ २० गतेभित्र अनिर्वाय रुपमा बुझाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए ।
इजाजत प्राप्त हातहतियार र सोमा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय वा आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको उनले बताए ।
व्यक्तिगत सुरक्षाका लागि आफूसँग भएका इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा नबुझाए कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । उक्त हातहतियार निर्वाचन सम्पन्न भएपछि अर्थात चैत २० गतेपछि फिर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालय बैतडीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका जनशक्ति व्यवस्थापन लगायत अन्य आवश्यक तयारी तीव्र पारेका जनाएको छ । एक निर्वाचन क्षेत्ररहेको यहाँ १२ जनाको उम्मेदवारीका लागि मनोनयन दर्ता भएको छ ।
२१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम रहेका छन् भन एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया 4