News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुण २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणमा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन्।
- मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम रोक्न नहुने र स्वीकृत योजना कार्यान्वयनमा अवरोध नहुने स्पष्ट पारे।
- कार्यक्रममा आर्थिक मामिला मन्त्री शाह र जलस्रोत मन्त्री बुढाले बजेट खर्च र योजना कार्यान्वयनमा समन्वय आवश्यक रहेको बताएका थिए।
७ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुण २१ गते हुने निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन् ।
कर्णाली प्रदेश सरकार अन्तगतका मन्त्रालयहरूको बुधबारदेखि शुरू भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाहका काम रोकिन नहुने बताएका हुन् ।
उनले भने, ‘हाम्रोमा बाहाना चाहिएको छ, निर्वाचन देखाएर विकासका काम रोकिनु हुँदैन ।’ मुख्यमन्त्री कँडेलले मन्त्रालय अन्तर्गतका कामहरूको समय तालिका निर्माण भए पनि तालिका अनुसार काम नभएकोमा असन्तुष्टि व्यक्त गरे ।
उनले कार्यालय प्रमुखलाई आफ्नो योग्यता, क्षमता र लगनशीलता परिणामसहित देखिने गरी काम गर्न निर्देशन दिएका छन् । विकास निर्माण र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य नहुने भन्दै उनले जनताको अपेक्षाअनुसार कामबाटै उत्कृष्टता प्रदर्शन गर्नु पर्ने बताए । मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले सही नयाँ कामलाई रोके पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भई स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने स्पष्ट पारे ।
मुख्यमन्त्री कँडेलले स्वीकृत योजना समयमै सम्पन्न गर्न नसक्दा सरकारप्रति जनविश्वास कमजोर बन्ने उल्लेख गरे । विकास आयोजनामा गुणस्तर, समयसीमा र पारदर्शितामा कुनै सम्झौता नगर्न निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले समन्वय र अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताए । उनले समयमै खर्च र लक्ष्यअनुसार प्रगति हासिल गर्न मन्त्रालय तथा मातहतका कार्यालयबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।
जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको आधार भएको उल्लेख गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताइन् ।
कार्यक्रममा प्रमुख सचिव वीरेन्द्रकुमार यादव, अर्थसचिव, ऊर्जासचिव तथा मन्त्रालयअन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो ।
अर्थसचिव, ऊर्जासचिव तथा मन्त्रालयअन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो ।
प्रतिक्रिया 4