१० माघ, विराटनगर । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनअघि मोरङ-५ मा दलकै दबदबा थियो । तर स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डल विजयी भए । दलका उम्मेदवारलाई पराजित गरेर राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान बनाए ।
संसद्मा किसानको मुद्दा पुर्याएका मण्डल २१ फागुनमा हुँदै गरेको संसदीय निर्वाचनमा पुन: उम्मेदवार बनेका छन् । स्वतन्त्र जितेका उनले यो पटक आफ्नै नेतृत्वमा गठन भएको राष्ट्रिय ऊर्जाशील पार्टीबाट उम्मेदवारी दिएका हुन् । उनको पार्टीले मोरङका तीन क्षेत्रमा उम्मेदवार उठाएको छ ।
यसपटकको निर्वाचनमा उनीसहित ठूला चार दलका उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेसले फूलकुमार लालवानीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट मनोज अग्रवाल, नेपाली कम्युनिस्ट पार्टीबाट शिवकुमार मण्डल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा झा उम्मेदवार छिन् । स्वतन्त्रसहित २१ जना मैदानमा छन् ।
मोरङ-५ मधेश आन्दोलनपछि उदाएका नेता उपेन्द्र यादवको प्रभाव क्षेत्र हो । पहिलो संविधानसभामा जितेका यादव दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएपछि यो क्षेत्रबाट सप्तरी-२ लागे ।
मोरङ-५ मा जसपा मोरङ अध्यक्ष राजकुमार यादव उम्मेदवार छन् । यादव २०७४ र २०७९ सालको निर्वाचनमा तेस्रो भएका थिए । २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल विजयी भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी शिवकुमारसँगै पराजित भए ।
योगेन्द्रको फड्को
तीन वर्षअघि स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका मण्डल जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक हुन् । जीवन विकास समाजमार्फत शिक्षा, स्वास्थ्य, लघुवित्त, कृषि तथा वातावरणको क्षेत्रमा काम गरिरहेका उनले २ हजार हाराहारीलाई रोजगारी सिर्जना गरेका छन् ।
तीन वर्षअघि चापाकल चुनाव चिह्न लिएर स्वतन्त्र रूपमा संसद् छिरेका योगेन्द्रले जेनजी आन्दोलनपछि आफ्नै नेतृत्वमा ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ गठन गरे ।
अघिल्लो निर्वाचनमा उनले पाएको चापाकल चिह्नलाई नै अहिले आफ्नो दलको निर्वाचन चिह्न बनाएका छन् । मण्डलले यो क्षेत्रमा आफ्नो व्यक्तिगत र दलगत प्रभावलाई आफ्नो आधार मानेका छन् । अघिल्लो पटक स्वतन्त्र निर्वाचन जितेका उनी यो पटक दल खोलेर घरदैलो गरिरहेका छन् ।
कांग्रेस र एमालेको ‘कमब्याक’
२०७९ को निर्वाचनमा मोरङ–५ मा नेपाली कांग्रेस र नेकपा एमाले दुवैका आफ्नै उम्मेदवार थिएनन् । त्यतिबेला एमालेले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समर्थन गरेको थियो भने कांग्रेसले नेकपा मओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गरेको थियो ।
दोस्रो संविधानसभाको निर्वाचनपछि अहिले क्षेत्र नम्बर ५ मा प्रमुख सबै दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
नेपाली कांग्रेसले मारवाडी समुदायका फूलकुमार लालवानीलाई चुनावी मैदानमा उतारेको छ । नेकपा एमालेले पनि व्यापारिक पृष्ठभूमि भएका मारवाडी समुदायका मनोज अग्रवाललाई अघि सारेको छ ।
एमालेले दुई वटा निर्वाचनपछि मोरङ-५ मा आफ्नै उम्मेदवार अघि सारेको हो । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । २०७९ सालमा एमालेले जसपा उम्मेदवार यादवलाई सहयोग गरेको थियो ।
छैटौं प्रतिस्पर्धामा शिवकुमार
नेकपाका शिवकुमार मण्डल यस क्षेत्रका सबैभन्दा पुराना राजनीतिक खेलाडी हुन् । २०६४ सालको अन्तरिम संसद्देखि सुरु भएको उनको संसदीय यात्रामा अहिले छैटौं पटक चुनावी मैदानमा छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ८ मतको झिनो अन्तरले जितेका मण्डलले २०७४ मा वाम गठबन्धनको बलमा जित हासिल गरेका थिए ।
पटक–पटक चुनाव लडेका र मन्त्रीसमेत भइसकेका मण्डलका लागि यसपटकको निर्वाचन अस्तित्वको लडाइँ बनेको छ । किनकि, उनी तत्कालीन नेकपा माओवादी केन्द्रमा हुँदा जनार्दन शर्माको समूहमा थिए । अध्यक्ष प्रमण्डले वाम दलबीच एकता गर्दा जनार्दनले पार्टी छाडे । लामो समय निष्क्रिय रहेका उनी पछि नेकपामै जोडिए । उनी नेकपामै फर्किंदा तत्कालीन माओवादीको एउटा समूह उनीसँग असन्तुष्ट छ ।
२०६४ सालको अन्तरिम संसद्का मनोनित सांसद मण्डलले त्यसयता निरन्तर चुनाव लडिरहेका छन् । २०६४ को संविधानसभा निर्वाचनमा उनी उपेन्द्र यादवसँग पराजित भए । दुई क्षेत्रबाट चुनाव जितेका यादवले मोरङ-५ छाडेपछि २०६५ को उपनिर्वाचनमा मण्डल जसपा नेता जयराम यादवसँग पनि पराजित भए ।
२०७० सालमा तत्कालीन ४ (हाल ५)बाट माओवादी उम्मेदवार मण्डलले ९ हजार ३६० मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार गयानन्द मण्डलले ९ हजार ३५२ मत पाएका थिए ।
२०७४ सालमा अमृत अर्याललाई ३ हजार ७९२ मतले पराजित गरेका गर्दै मण्डल निर्वाचित भएका थिए । उनले २२ हजार ९४५ मत प्राप्त गर्दा अर्यालले १९ हजार १५३ मत पाएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई यो क्षेत्रमा अमृत अर्यालले पराजित गरेका थिए ।
मोरङ-५ दक्षिणी सीमा भारतसँग जोडिएको छ । यो क्षेत्रमा सडक पूर्वाधार, कृषि, नागरिकता र सीमापार चोरी निकासी पैठारीको समस्या छ । दलका उम्मेदवारले सडक पूर्वाधार, कृषि रोजगारी र नागरिकताको समस्या सामधान गर्ने प्रतिवद्धता व्यक्त गर्दै चुनावी अभियानमा होमिएका छन् ।
प्रतिक्रिया 4