१० माघ, धनकुटा । धनकुटामा निर्वाचन प्रहरी भर्नाका लागि पुन: म्याद थपिएको छ । माग अनुसार आवेदन नपरेपछि छनोट तथा नियुक्ति समितिले दोस्रो पटक म्याद थपेको हो ।
निर्वाचन प्रहरी भर्नाका लागि माघ १० र ११ गते आवेदन दिन सकिने गरी म्याद थप गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
निर्वाचन प्रहरीमा भर्ना हुनका लागि जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेड क्वाटर छिन्ताङ धनकुटा तथा नजिकको इलाका प्रहरी कार्यालयमा आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेड क्वाटर छिन्ताङ धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङ धनकुटा र इलाका प्रहरी कार्यालय राजारानी धनकुटामा आवेदन दिन सकिने व्यवस्था रहेको एसपी थापा क्षेत्रीले जानकारी दिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा १ हजार ८५ जना भर्नाको लागि निवेदन माग गरिएको थियो । तर, १ हजार १८ जनाको मात्रै निवेदन परेको थियो ।
निवेदन परेका सबै छनौट हुँदा पनि ६७ जना अपुग भएको छ । निवेदन दिएका कतिपय सम्पर्कमा नआएका कारण १०० भन्दा बढीको संख्यामा अपुग रहेको एसपी थापा क्षेत्रीले जानकारी दिए ।
धनकुटामा निर्वाचन प्रहरी भर्नाका लागि गत पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त दिने समय तोकिएको थियो । तर, माग अनुसार निवेदन नआएपछि माघ ३ गतेसम्म म्याद थप गरिएको थियो ।
थपिएको समयमा पनि माग अनुसार निवेदन नपरेपछि पुन: माघ १० र ११ गते आवेदन माग गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटामा प्रहरी निरीक्षक तथा निर्वाचन प्रहरी भर्ना छनोट उपसमितिका सदस्य सचिव किशोर तामाङले जानकारी दिए ।
धनकुटामा कुल ११९ मतदान स्थलमा १ सय ६६ मतदान केन्द्र रहने भएका छन् । यस्तै जिल्ला कारागार धनकुटामा र निर्वाचनमा नखटिएका कर्मचारीका लागि गरी २ वटा अस्थायी मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् ।
– ईश्वर थापाबाट
प्रतिक्रिया 4