+
+
Shares

क्यानडाविरुद्ध शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते ७:०७

११ माघ, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाबाट अमेरिका भित्रिने सबै सामानमा १०० प्रतिशत अतिरिक्त कर (ट्यारिफ) लगाउने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई कडा शब्दमा सचेत गराएका हुन्। ट्रम्पले भनेका छन्, ‘यदि कार्नीले क्यानडालाई चीनका लागि अमेरिकामा सामान पठाउने ‘ड्रप अफ पोर्ट’ (ट्रान्जिट) बनाउन चाहनुहुन्छ भने उहाँ सरासर गलत हुनुहुन्छ।’

चीनले क्यानडालाई ‘निल्ने’ ट्रम्पको दाबी

ट्रम्पले चीनसँगको बढ्दो सामीप्यले क्यानडाको अस्तित्व नै संकटमा पर्ने दाबी गरेका छन् । उनका अनुसार, चीनले क्यानडाको व्यवसाय, सामाजिक संरचना र जीवनशैलीलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउनेछ।

‘चीनले क्यानडालाई एक वर्षभित्रै खाइदिनेछ,’ ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘क्यानडाले चीनसँग सम्झौता गर्नासाथ वासिङ्टनले तुरुन्तै क्यानेडियाली उत्पादनमा १०० प्रतिशत कर वृद्धि गर्नेछ।’

विवादको जड: चीन–क्यानडा व्यापार सम्झौता

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले जनवरी १३ देखि १७ सम्म चीनको भ्रमण गरी ऐतिहासिक व्यापार सम्झौता गरेका थिए। उक्त सम्झौताअनुसार क्यानडाले चिनियाँ इलेक्ट्रिक गाडी (ईभी) मा लगाउँदै आएको १०० प्रतिशत करलाई घटाएर ६.१ प्रतिशतमा झार्ने निर्णय गरेको छ।

यसको बदलामा चीनले क्यानेडियाली कृषि उत्पादनमा लगाउँदै आएको ८४ प्रतिशत करलाई १५ प्रतिशतमा झारेको छ। अमेरिकाले चिनियाँ सामानमा कडा प्रतिबन्ध लगाइरहेका बेला क्यानडाले चालेको यो कदमले ट्रम्पलाई क्रुद्ध बनाएको हो।

डाभोसदेखि क्युबेकसम्म वाकयुद्ध

दुई नेताबीचको तनाव स्विट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) बाट सुरु भएको थियो। सम्मेलनमा प्रधानमन्त्री कार्नीले ‘अमेरिकी नेतृत्वको विश्व व्यवस्था विखण्डन भएको’ टिप्पणी गर्दै शक्तिशाली राष्ट्रहरूले साना देशमाथि आफ्नो सर्त लाद्ने गरेको भन्दै आलोचना गरेका थिए ।

जवाफमा ट्रम्पले क्यानडा अमेरिकाकै कारण अस्तित्वमा रहेको दाबी गर्दै कार्नीलाई ‘धन्यवाद’ भन्न सुझाएका थिए ।

त्यसको लगत्तै कार्नीले क्युबेक सिटीबाट राष्ट्रिय सम्बोधन गर्दै भने, ‘क्यानडा अमेरिकाका कारण बाँचेको होइन, बरु दुई राष्ट्रबीचको साझेदारीमा फस्टाएको हो। हामी क्यानेडियाली हौँ र हाम्रो आफ्नै स्वाभिमान छ।’

रक्षा र सुरक्षामा पनि मतभेद

व्यापारबाहेक ट्रम्पको बहुप्रतीक्षित ‘गोल्डेन डोम’ मिसाइल डिफेन्स प्रोजेक्टको पनि कार्नीले विरोध गर्दै आएका छन् । करिब १७५ अर्ब डलरको यो परियोजनाले अन्तरीक्षबाटै दुश्मनका मिसाइल नष्ट गर्ने लक्ष्य राखेको छ।

साथै, ग्रीनल्याण्डको विषयमा पनि कार्नीले ट्रम्पको नीतिको विरोध गर्दै त्यो क्षेत्र डेनमार्कको सार्वभौमसत्ताभित्र रहेको स्पष्ट पारेका छन् ।

तनाव बढ्दै गएपछि ट्रम्पले गाजा युद्धपछिको अवस्था निरीक्षण गर्न बनाइएको ‘बोर्ड अफ पिस’ (शान्ति परिषद्) मा कार्नीलाई दिइएको निमन्त्रणा समेत फिर्ता लिएका छन् ।

क्यानडा आफ्नो निर्यातको तीन–चौथाई हिस्साका लागि अमेरिकामाथि निर्भर छ। कार, आल्मुनियम र स्टिल जस्ता क्षेत्रहरू ट्रम्पको सम्भावित कर वृद्धिको घोषणाले निकै जोखिममा परेका छन्।

ट्रम्पले यसअघि नै क्यानडालाई ‘अमेरिकाको ५१ औँ राज्य’ बन्न प्रस्ताव गर्नुभएको थियो, जसलाई कार्नीले ‘क्यानडा बिकाऊ छैन’ भन्दै अस्वीकार गरिसकेका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?