+
+
Shares

धनकुटामा अघिल्लो चुनावभन्दा दोब्बर बढी उम्मेदवार

ईश्वर थापा ईश्वर थापा
२०८२ माघ ११ गते १७:०८

११ माघ, धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा उम्मेदवारी हुनेको संख्या धनकुटाका दोब्बर भन्दा बढेको छ । २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा ७ जना उम्मेदवार रहेकोमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १७ जना उम्मेदवार रहेका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा १८ जनाले उम्मेदवारी दर्ता गरेकोमा १ जनाले उम्मेदवारी फिर्ता लिएपछि १७ जना उम्मेदवार कायम भएका हुन् । स्वतन्त्र उम्मेदवारी दिएका गंगाराम गोम्देनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

२०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा एक जना स्वतन्त्र उम्मेदवार मात्रैै रहेको भएपनि यसपटक ३ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् । विशेषगरी, सुशासन र पारदर्शिताको नारासहित भएको जेनजी आन्दोलनपछि युवाहरूको उम्मेदवारी दर्ता उल्लेख्य रूपमा बढेको हुनसक्ने अनुमान गरिएको छ ।

२०७९ को निर्वाचनमा धनकुटामा नेकपा एमालेका राजेन्द्र कुमार राई, नेपाली कांग्रेशका सुनिलबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आराम कुमार लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका विश्वा मित्र लावति, एकीकृत शक्ति नेपालका रमेश राई र माओवादी केन्द्रबाट विद्रोह गरेका हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

आगामी फागुन २१ को निर्वाचनका लागि एमालेका तर्फबाट पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज राजेन्द्रकुमार राई, नेपाली कांग्रेस जिल्ला सभापति दिनेश राई, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, श्रम संस्कृति पार्टीका सान बहादुर राई, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बु र राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा उम्मेदवार रहेका छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, आम जनता पार्टीका प्रेमबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली, जनता समाजवादी पार्टीका निशान राई, नेकपा माओवादीका रविनकुमार राई, राष्ट्रिय परिवर्तन पार्टीका शालिक राम राई, मंगोल नेशनल अर्गनाइजेशनका सागर राई, स्वतन्त्रबाट मनकुमार योञ्जना, जितेन्द्र राई र लाक्पा तामाङले उम्मेदवार रहेका छन् ।

गत २०७९ को निर्वाचनमा धनकुटामा नेकपा एमालेका राजेन्द्र कुमार राई ३० हजार १ सय १ मत प्राप्त गर्दै विजयी भएका थिए भने नेपाली कांग्रेशका सुनिलबहादुर थापाले २८ हजार ७ सय ४ मत पाएका थिए । यस्तै स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आराम कुमार लिम्बूले ६ सय २५, मंगोल नेशनल अर्गनाइजेशनका विश्वामित्र लावतिले २ सय १७ र एकीकृत शक्ति नेपालका रमेश राईले ९५ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?