+
+
Shares

गगन थापाको प्रतिष्ठासँग जोडिएको सर्लाही–४ को चुनावी गणित

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हाल्न पुगेका थापाका लागि यो निर्वाचन उनको पछिल्लो राजनीतिक कदम र रणनीतिको कडा परीक्षा हुनेछ । पार्टीले उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिसकेको सन्दर्भमा, सर्लाही–४ को यो जटिल चुनावी गणित र त्यसबाट आउने नतिजाले नै उनको आगामी राजनीतिक भविष्य र उचाइ तय गर्ने देखिन्छ ।

केशव सावद केशव सावद
२०८२ माघ १३ गते २१:३७

१३ माघ, काठमाडौं । मधेश प्रदेशअन्तर्गत पर्ने सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–४ नेपाली कांग्रेस सभापति गगन थापाले समेत उम्मेदवारी दिएपछि राष्ट्रिय चर्चामा छ ।

०७९ सालको निर्वाचनमा कांग्रेस छाडेर बागी उम्मेदवारी दिएका डा. अमरेशकुमार सिंहले कांग्रेसका आधिकारिक उम्मेदवारलाई नै हराउँदै जित हात पारेका थिए । अहिले उनै निवर्तमान स्वतन्त्र सांसद सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनावी मैदानमा छन् । उनले मनोनयन दर्ताको अघिल्लो दिनमात्रै रास्वपा प्रवेश गरेर टिकट हात पारेका हुन् ।

त्यस्तै, नेकपा एमालेबाट अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रजनीश राय र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव पनि चुनावी मैदानमा छन् । त्यसैगरी, जनमत पार्टीबाट राकेश मिश्र उठेका छन् ।

यसरी, यो क्षेत्रमा तेस्रो र चौथो हुनेले पनि ८/१० हजार मत ल्याउने गरेकोले यहाँ कुनै दुई उम्मेदवारका बीचमा मात्र होइन, बहुप्रतिस्पर्धा नै हुने गरेको छ ।

अघिल्ला चुनावका आँकडा

कांग्रेसले टिकट नदिएपछि चुनाव चिह्न ‘माछा’ बाट प्रतिस्पर्धामा उत्रिएका सिंह ०७९ सालमा कांग्रेसकै उम्मेदवारलाई १७ सय ६४ मतान्तरले पछि पार्दै विजयी बनेका थिए । सिंहले २० हजार १७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए । तत्कालीन सत्ता गठबन्धनबाट टिकट पाएका नागेन्द्रलाई तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ थियो ।

तेस्रो मत पाएकी स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादव १४ हजार ६२२ मत पाउँदा उनलाई जसपा नेपालका राजेशकुमार मिश्रले ५ हजार ८१३ मतसहित पछ्याएका थिए । उक्त चुनावमा रास्वपा उम्मेदवार धिरज ठाकुर ३१८ मत पाएर नवौं स्थानमा पुगेका थिए ।

यसपटक सर्लाही–४ मा ८ हजार ७३१ मतदाता थपिएसँगै कुल मतदाताको संख्या १ लाख २१ हजार २३१ पुगेको छ । विगतको मतदानको प्रकृति हेर्दा यसपालि करिब ७५ हजार सदर मत खस्ने अनुमान छ, जसलाई आफ्नो पक्षमा पार्न काठमाडौंबाट झरेका ‘हेभीवेट’ उम्मेदवार र स्थानीय शक्तिहरूबीच रस्साकस्सी सुरु भएको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार, सर्लाही–४ मा अघिल्लो निर्वाचनमा १ लाख १२ हजार ५०० मतदाता थिए । तीमध्ये प्रतिनिधिसभा निर्वाचन–२०७९ मा समानुपातिकतर्फ ६४.८४ प्रतिशत अर्थात् ७२ हजार ९३७ मत खसेको थियो ।

कुल खसेकोमध्ये ३.५५ प्रतिशत अर्थात् २ हजार ५८९ मत बदर हुँदा ७० हजार ३४८ मत सदर भएको आयोगको तथ्यांकले देखाउँछ ।

यस्तै, प्रत्यक्षतर्फ यो क्षेत्रमा कुल मतदाता संख्यामध्ये ६४.७६ प्रतिशत अर्थात् ७२ हजार ८५५ मत खसेकोमा ४.९० प्रतिशत अर्थात् ३ हजार ५७२ मत बदर भएको थियो । आयोगका अनुसार, प्रत्यक्षतर्फ खसेको कुल मतमध्ये ६९ हजार २८३ मत सदर भएको थियो ।

सर्लाही–४ मा पर्ने पालिका र मतसंख्या

७ पालिकाका ५१ वटा वडाहरू समेटिएर बनेको सर्लाही–४ का बनेको छ । यो क्षेत्रमा बरहथवा नगरपालिकाका १, २, ३, ४, १३, १४, र १५ वडाहरू समेटिएका छन् । त्यस्तै, बसबरिया गाउँपालिकाका १, २ र ३ नम्बर वडा यस क्षेत्रमा पर्छन् । विष्णु गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडाहरू यस निर्वाचन क्षेत्रभित्र पर्छन् । धनकौल र रामनगर गाउँपालिकाका सबै ७/७ वडाहरूसँगै बलारा र गोडैटा नगरपालिकाका क्रमश: ११ र १२ वटै वडाहरू यस निर्वाचन क्षेत्रमा समेटिएका छन् ।

पालिकाअनुसार मतदाता संख्या

वडागत मत र विगतको नतिजा

सर्लाही–४ का ५१ वडाहरूमा कांग्रेसबाट सबैभन्दा बढी १९ वडाध्यक्षहरू निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन–२०७९ को मतपरिणाम अनुसार, यहाँ नेकपा माओवादी र तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट ११–११ जना वडाध्यक्षमा विजयी भएका थिए ।

सर्लाही–४ मा पर्ने वडामध्ये लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका ८ र जनता समाजावदी पार्टी (जसपा) नेपालका दुई जना वडाध्यक्षहरू पनि स्थानीय तह निर्वाचनमा विजयी भएका थिए ।

सर्लाही–४ मा धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका र गोडैटा नगरपालिका गरी ४ पालिकाको सिंगो भूगोल पर्दछ । स्थानीय तह निर्वाचन–२०७९ का मतपरिणामअनुसार ती ४ पालिका मध्ये दुईमा माओवादी केन्द्र र बाँकी २ मा कांग्रेस तथा लोसपाले जितेका थिए ।

निर्वाचन आयोगका अनुसार, रामनगर गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका राजाबाबु यादव विजयी हुँदा कांग्रेसका हरिनन्दन यादव दोस्रो भएका थिए । विजयी राजाबाबुले ४ हजार ८१ र निकटतम प्रतिद्वन्द्वी हरिनन्दनले २ हजार ३९२ मत पाएका थिए । तेस्रो भएका एमाले उम्मेदवार पुरुषोत्तम प्रसाद चौधरीको पक्षमा १ हजार ६३४ मत खसेको थियो ।

बलरा नगरपालिकामा पनि माओवादी केन्द्रका उम्मेदवार रामाशंकरप्रसाद कुशवाहा मेयरमा विजयी भएका थिए । यहाँ कांग्रेस तेस्रो भएको थियो । कुशवाहा ४ हजार ६४३ मतसहित नगर प्रमुखमा विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी अभयकुमार सिंह (लोसपा) ले ३ हजार ६३१ मत पाएका थिए । तेस्रो भएका कांग्रेस उम्मेदवार कौशलकिशोर सिंहको पक्षमा २ हजार ६८१ मत आएको थियो ।

गोडैटा नगरपालिकामा लोसपा नेता देवेन्द्रकुमार यादव प्रमुखमा विजयी भएका थिए । यादव ५ हजार २९४ मतका साथ नगर प्रमुखमा विजयी भए ।

कांग्रेस उम्मेदवार उपेन्द्रप्रसाद कुशवाहा ४ हजार ७५२ मतसहित दोस्रो भएका थिए । माओवादीका अनितादेवी ३ हजार ८७८ मत ल्याएर तेस्रो र एमालेका श्यामबाबु शाह ३ हजार ६५२ मत पाएर चौथो भएका थिए ।

सर्लाही–४ मा सिंगो भूगोल पर्ने ५ पालिकामध्ये कांग्रेस एक पालिकामा मात्रै प्रमुख पदमा जित निकालेको थियो । कांग्रेसका तर्फबाट धनकौल गाउँपालिकाका अध्यक्षमा विजयी रामआश्रम शाहले ४ हजार ४७७ मत पाएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका फकिरा महतोले ३ हजार ३७९ मत ल्याउँदा १ हजार ६०७ मत पाएका एमाले उम्मेदवार अजयकुमार सिंह तेस्रो भएका थिए ।

सर्लाही–४ मा बरहथवा नगरपालिकाका ७ वटा वडाहरू पर्दछन् । जसमध्ये ४ वडामा एमालेका तर्फबाट वडाध्यक्ष विजयी हुँदा कांग्रेस, जसपा र लोसपाले एक–एक वडा जितेका थिए ।

बसबरिया गाउँपालिकामा ३ वडामध्ये कांग्रेसले २ र जसपाले १ वडामा जित हात पारेको थियो । विष्णु गाउँपालिकाका ४ वडामा कांग्रेसले दुई, माओवादीले १ र लोसपाले १ वडामा जित निकालेको थियो ।

वडागत मतसंख्या र गत चुनावको नतिजा

प्रदेशतर्फ कसको मत कति ?

सर्लाही–४ मा गत प्रदेशसभा निर्वाचनमा भने सर्लाही–४ (क) बाट कांग्रेस उम्मेदवार वीरेन्द्रप्रसाद सिंह १५ हजार ६९३ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रामबाबु रायले १४ हजार ६१६ मत ल्याउँदा जनमत पार्टीका उम्मेदवार प्रमोदकुमार रायको पक्षमा २ हजार ३८८ मत खसेको थियो ।

यस्तै सर्लाही–४ (ख) मा कांग्रेससँगको सहकार्यमा तत्कालीन माओवादी केन्द्रका फकिरा महतो ८ हजार ३३ मतका साथ प्रदेशसभा सदस्यमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवीले ७ हजार ६७६ मत र तेस्रो भएका जनमतका सञ्जयकुमार सिंह ५ हजार १४७ मत पाएका थिए ।

कति खस्ला भोट ?

निर्वाचन आयोगले १२ पुसमा आफ्नो वेबसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार, यसपालि सर्लाही–४ मा ८ हजार ७३१ मतदाता थपिएका छन् । जसअनुसार अब यो क्षेत्रमा मतदाताको संख्या १ लाख २१ हजार २३१ देखिन्छ ।

गत चुनावमा प्रत्यक्षतर्फ खसेको ६४ दशमलव ६७ प्रतिशत हाराहारी मत खसेको अवस्थामा पनि सर्लाही–४ मा २१ फागुनमा हुने निर्वाचनमा लगभग ७८ हजार ८०० मत खस्न सक्छ । गत चुनावकै बदर मत प्रतिशत घटाउँदा यसपालि करिब ७५ हजार मत सदर हुने आकलन गर्न सकिन्छ ।

अग्निपरीक्षामा गगन

कांगे्रस सभापति थापाले मनोनयन दर्ता गरेपछि सर्लाही–४ फेरि चुनावी मैदानका प्रमुख ‘हटस्पट’ बनेको छ । अघिल्ला तीन निर्वाचनमा थापाले काठमाडौं–४ बाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए ।

थापाको यसपालिको उम्मेदवारीलाई उपसभापति विश्वप्रकाश शर्मा समग्र मधेसप्रतिको सम्मानका रूपमा अर्थ्याउँछन् । उनले थापालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै केन्द्रीय कार्यसमिति बैठकमा भनेका थिए, ‘मधेशबाट उम्मेदवार बनाउनु भनेको एकातर्फ मधेश र मधेशका मतदाताप्रति नेपाली कांग्रेसले सम्मान प्रकट गरेको हो, अर्कातर्फ मधेशको माटोबाट विजयी गराएर त्यहाँको भावनासँगै सिंगो देशको भावनालाई सही र सबल ढंगले नेतृत्व गर्ने संकल्प पनि हो ।’

महामन्त्री प्रदीप पौडेल सबै नेपालीको भावना प्रतिनिधित्व गर्नका लागि आसन्न निर्वाचनमा सभापति थापालाई सर्लाही–४ बाट उम्मेदवार प्रस्ताव गरेको बताउँछन् । ‘नेपालभित्र सबै नेपालीको भावना प्रतिनिधित्व गर्नका लागि यो निर्वाचनमा हामीले नेपाली कांग्रेसको सभापतिलाई सर्लाही–४ बाट उम्मेदवार प्रस्ताव गरेका छौं,’ उनले केन्द्रीय कार्यसमिति बैठककै दिन सञ्चारकर्मीसँग भनेका थिए ।

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हाल्न पुगेका थापाका लागि यो निर्वाचन उनको पछिल्लो राजनीतिक कदम र रणनीतिको कडा परीक्षा हुनेछ । पार्टीले उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिसकेको सन्दर्भमा, सर्लाही–४ को यो जटिल चुनावी गणित र त्यसबाट आउने नतिजाले नै उनको आगामी राजनीतिक भविष्य र उचाइ तय गर्ने देखिन्छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?