१४ माघ, पोखरा । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको चटारोले उम्मेदवारहरूलाई भ्याइनभ्याइ छ । पोखराका सडकमा दुई सातादेखि थुप्रिएको फोहोरको दुर्गन्ध छल्दै उम्मेदवारहरू मतदातालाई अनेक आश्वासन र एजेन्डा पस्किरहेका छन् ।
चुनावी चहलपहलबीच स्वार्थको खेलमा दीर्घकालीन व्यवस्थापन हुन नसकेको फोहोर र महानगरपालिकाको नेतृत्वको असक्षताले सिंगो पोखरालाई गिज्जाइरहेको छ ।
सुशासन र दिगो विकासको नारा लिएर चुनावमा होमिएका दलहरूले स्वार्थको रोटी सेक्दै फोहोर व्यवस्थापनको समस्यालाई पनि प्रमुख चुनावी एजेन्डा बनाउन थालेका छन् । तर तिनै दलले व्यवस्थापनमा सहजीकरण गर्ने र दीर्घकालीन व्यवस्थापनका लागि महानगरको नेतृत्वलाई बेलैमा खबरदारी नगर्दा आज पोखराको फोहोर व्यवस्थापन जटिल बनेको छ ।
पोखराको फोहोर व्यवस्थापनमा स्वार्थको दुर्गनध फैलिएको भन्दै आलोचना भइसकेको छ । पोखरा–३२ लामेआहार सेती किनारको ल्यान्डफिल साइट भरिँदासम्म महानगर विकल्प खडा गर्न असक्षम बनेको विषयमा अब भोटको राजनीति पनि जोडिएको छ ।
विभिन्न स्वार्थ र प्रश्नहरू बाझिएको पोखराको फोहोरको समस्या दलहरूले चुनावी एजेन्डा बनाइरहँदा उम्मेदवारहरूको भोट राजनीतिसमेत जोडिन थालेको छ । जसका कारण अझै दिगो व्यवस्थापन हुन सक्नेमा आशंका उब्जिएको छ ।

पोखरा महानगरका मेयर धनराज आचार्यमाथि बेलैमा विकल्पको खोजी गर्न नसकेको, बिना टेन्डर पोहोर उठाउन जिम्मा दिएको, स्थायी ल्यान्डफिलको नाममा स्वार्थ बाझिने काम गरेको आरोप र प्रश्नहरू उठिरहेका छन् । ६ महिनाका लागि भनेर व्यवस्थापन गरिएको ल्यान्डफिल साइडमा पटकपटक अवरोध हुँदै भरिँदासमेत विकल्प नभेट्न पोखराको फोहोर नै २ हप्तादेखि सडक र चोकहरूमा थुप्रिएको छ ।
मुख्य सडक र चोकहरूका फोहोर आंशिक रुपमा उठाएर मध्य शहर भित्रै पुर्ने काम गरिए पनि दिगो व्यवस्थापनमा चौतर्फी प्रश्नहरू उब्जिएका छन् भने पोखराको अक्षमतासमेत देखिएको छ ।
पोखरा–३२ लामेआहारमा खडा गरिएको अस्थायी ल्यान्डफिलको विकल्प पोखरा–३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने मेयर आचार्यले बताएका थिए । तर जग्गा खरिद प्रक्रियादेखि प्रशोधन केन्द्र निर्माण सम्झौतासम्म आइपुग्दा यो विषय स्वार्थ समूहको चंकुलमा परिसकेको छ ।
स्थानीयलाई बुझाउने, आयोजनाबारे स्पष्ट पार्नेदेखि जग्गाको दररेट र खरिदमा शंका उब्जिएपछि प्रशोधन केन्द्र निर्माण प्रक्रिया नै प्रभावित बन्न पुगेको छ भने अस्थायी ल्यान्डफिल साइट पनि भरिँदा पोखराको सडक र चोकमै भरिएका फोहोरमाथि अब भने राजनीति पनि जोडिएको हो ।
बेलैमा विकल्प खोज्न असक्षम हुँदा र स्वार्थ बाझिँदा पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापन जटिल बन्न पुगेको छ । २०७९ पुस १५ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुनुपूर्व ६ महिनाका लागि पोखरा–३२ लामे आहालमा फोहोर व्यवस्थापन गर्ने र तत्काल पोखरा–३३ मा प्रशोधन केन्द्र निर्माण प्रक्रिया अगाडि बढाउने मेयर आचार्य नेतृत्वले निर्णय गरेको थियो । तर प्रशोधन केन्द्र निर्माणको प्रक्रियाकै निम्ति वर्षौं लाग्ने भएकाले त्यतिञ्जेलसम्म विकल्पको खोजी गरिराख्न नेतृत्वले ध्यान नदिएको महानगरकै कर्मचारीहरू बताउँछन् ।
‘प्रशोधन केन्द्र निर्माणका लागि जग्गाको मुआब्जादेखि कम्पनी छनोटका निम्ति नेपालको नीतिगत जटिलताका कारण पनि केही वर्ष लाग्ने नै हो । नेपालको जटिल नीतिले तत्काल जग्गा प्राप्ति पनि हुँदैन भने खरिद प्रक्रिया पनि लम्बेतान छ । यस्तो अवस्थामा अस्थायी ल्याण्डफिल साइडले लामो समय धान्दैन भन्ने सबैलाई थाहा थियो,’ पोखरा महानगरकै एक अधिकृतले भने, ‘कार्यपालिकाको ठूलो दल नेपाली कांग्रेस र एमाले पनि यो विषयमा निकास खोज्नतिर लागेन भने मेयरसाबले नेतृत्वदायी भूमिका निर्वाह गर्दै विकल्पको खोजी गर्न पनि सक्नुभएन ।’
पोखरा–३२ मा स्थानीयले माग पूरा नभएको भन्दै पटकपटक अवरोध गरेका थिए भने छिट्टै भरिने यथार्थ पनि देखिएकै थियो । तर समस्या आइसकेपछि मात्रै समाधान खोज्नेतिर लाग्ने गर्दा दीर्घकालीन व्यवस्थापन हुन नसकेको हो । जसका कारण अहिले झनै जटिल बन्न पुगेको छ भने अब त्यही विषयमा भोटको राजनीति सुरु हुन थालेको वडा नम्बर ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीको भनाइ छ ।
वडाध्यक्ष कार्की नेतृत्वमै सोही क्षेत्रमा अर्को विकल्पको खोजीसमेत भएको थियो । मेयर आचार्य प्रमुख प्रशासकीय अधिकृत मुक्ति अर्यालसहितको टोलीले पनि पोखरा–३२ मै मझुवामा जग्गा हेरेको छ । मझुवामा पृथ्वी राजमार्गसँगै रहेक ठूलो खाल्डोमा फोहोर व्यवस्थापन गर्न सकिने निष्कर्षमा टोली पुगेको छ । तर अझै त्यहाँ पनि जान सकेको छैन ।
‘पोखरा–३२ मै मझुवा भन्ने ठाउँमा पृथ्वी राजमार्ग छेउमा ठूलो खोंच छ । जहाँ फोहोर हालेर पुर्न सकिने देखिएको छ र अब त्यही फोहोर लैजाने निष्कर्षमा पनि पुगेका छौं । आजभोलिमै सडकमा थुप्रिएका फोहोर उठ्छ र व्यवस्थापन हुन्छ,’ महानगरका सूचना अधिकारी कृष्ण तिवारीले भने ।
शान्ति वन र चाइनिज पुलनजिकै करिब ८० ट्रक फोहोर पुरिएको तिवारीले जानकारी दिए । पोखरामा दैनिक २०० टनसम्म फोहोर निस्कने महानगर बताउँछ ।

२ दिन अगाडि मात्रै पोखरा–९ शान्ति वन क्षेत्रमा मुख्य सडक र चोकमा थुप्रिएका केही फोहोर गाडिएको छ । पोखराको मध्य शहर भित्र पर्ने शान्तिमा खाल्डा खनेर धमाधम फोहोर बिसर्जन गर्दा विरोधसमेत भएको छ भने मध्य शहरमै विसर्जन गर्दा मानव स्वास्थ्य र वातावरणमा पनि गम्भीर असर गर्ने सरोकारवालाहरूले बताएका छन् ।
‘फोहोर व्यवस्थापनको नाममा जथाभावी बिना कुनै प्रशोधन फोहोरलाई खाल्डोमा पुर्दा जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असर तथा वातावरणमा पार्ने नकारात्मक असरको गाम्भीरतालाई बुझ्नुपर्छ,’ वातावरणको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका कास्की–२ मा उज्यालो पार्टीका उम्मेदवारसमेत रहेका कुशल गुरुङले खबरदारी गरे, ‘यस्तो काम रोक्न तथा वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने अल्पकालीन कार्यक्रम ल्याई यो समस्या तत्काल व्यवस्थापन गर्नुपर्छ ।’
चुनाव नजिकिएसँगै अन्य उम्मेदवारहरूले फोहोरलाई चुनावी एजेन्डा बनाउन थालेका छन् । कास्की–२ बाट नेकपाका उम्मेदवार हेमबहादुर थापाले पोखराको फोहोर व्यवस्थापन गम्भीर समस्या बनिसकेको र समाधानका निम्ति नेतृत्वको सुझबुझ आवश्यक परेको बताए । फोहोर व्यवस्थापनलाई राजनीति बनाउनुभन्दा समन्वय सहजीकरण गर्ने र नेतृत्वले पनि स्थानीयदेखि सरोकारवालासम्मको साथ दिन लचकता देखाउनुपर्ने उनको भनाइ छ ।
पोखरा महानगरका मेयर आचार्यले केही दिनअघि सबै दलका प्रतिनिधिलाई पनि फोहोर व्यवस्थापनमा सहजीकरणका निम्ति गुहार मागेका थिए । मेयरकै नेतृत्वमा भएको सर्वपक्षीय छलफलले छिटोभन्दा छिटो ठाउँ खोजेर व्यवस्थापन गर्नुपर्ने र त्यसका निम्ति सहजीकरण गर्ने आश्वासन दिएका थिए ।
‘यो दिन आउनुभन्दा अगाडि नै महानगरले सोच्नुपर्ने हो । अस्थायी र स्थायी रूपमा अगाडि सारिएका विकल्पमा स्थानीयले चित्त दुखाइरहेको देखिएको छ भने कतिपयले अब यसलाई स्वार्थको रोटी सेक्न खोजेको पनि देखिन्छ,’ नेकपा उम्मेदवार किरणले भने, ‘स्थानीयका कुरा सुन्नुपर्छ, बुझाउनुपर्छ । जायज मागहरू पूरा गर्नुपर्छ । यो विषय अब बल्झाउने होइन, सुल्झाउनुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल विमानस्थल सुरु गर्ने बेलामै अस्थायी भनिएको ल्यान्डफिललाई स्थायी सोचेर बस्दा आज यो समस्या देखिएको बताउँछन् । यो दिन आउँछ भन्ने जान्दाजान्दै पनि महानगरको ध्यान त्यता नगएको बताउँदै उनले नागरिकका आवाजलाइै बेवास्ता गर्न नमिल्ने बताए ।
प्रशोधन केन्द्र बनाउने प्रक्रिया अगाडि बढेको वडा नम्बर ३३ वासी तथा नेकपा एमालेका उम्मेदवार रश्मी आचार्यले पनि स्थानीयलाई बाइपास गरेर जान नहुने बताए । एकातिर प्रशोधन केन्द्र निर्माणको विवाद र अर्कोतिर चुनावको मुखमा सडक र चोकमै फोहोर थुप्रिँदा यो विषयलाई राजनीतिक दल र उम्मेदवारले चुनावी एजेन्डा बनाइरहेका छन् । मतदाताले पनि यस विषयमा उम्मेदवारलाई प्रश्न गर्न थालेका छन् ।
प्रतिक्रिया 4