१४ माघ, काठमाडौं । श्रृंखलाबद्ध दम्पती हत्याको गिरोह प्रहरी हिरासतमा हुँदा फेरि त्यस्तै शैलीमा ओखलढुंगामा अर्को दम्पतीको हत्या भएको छ ।
चिशंखुगढी गाउँपालिका–६ का ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको हत्या भएको छ । ओखलढुंगाका इन्स्पेक्टर तथा प्रहरी प्रवक्ता विक्रमबहादुर भट्टराईले अहिले घटनास्थल मुचुल्का गर्ने काम भइरहेको बताए ।
‘गएराति दम्पतीको हत्या भएको छ । घटनास्थल मुचुल्काको काम भइरहेको छ । सँगसँगै अनुसन्धान पनि अघि बढाएका छौं,’ इन्स्पेक्टर भट्टराईले अनलाइनखबरसँग भने ।
उनका अनुसार लुटपाटका लागि हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । लुटेरा समूहले बाकस पनि फुटाएको देखिन्छ । के–कति सामान तथा गरगहना लगे भन्नेबारे यकिन भएको छैन । घरमा वृद्ध दम्पती मात्रै बस्ने र अहिले दुवैको हत्या भएकाले लुटेरा समूहले लगेको सामानको विवरण यकिन नभएको प्रहरीको भनाइ छ ।
यो घटनालाई प्रहरीले दुई महिनाअघि भएको अर्को दम्पती घटनासँग पनि जोडेर हेरेको छ ।
१५ पुसमा चिशंखुगढी गाउँपालिका–६ भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षकै श्रीमती रत्नमाया थापा मगरेको हत्या भएको थियो । लुटपाटका लागि हत्या भएको अनुसन्धानबाट देखिएको थियो । अहिले ठ्याक्दै त्यस्तै शैलीमा दुई महिनापछि ओखलढुंगामै राई दम्पतीको हत्या भएको छ ।
‘भदौरे दम्पत्ति हत्यासँग राई दम्पती हत्या ठ्याक्कै मिल्दोजुल्दो छ । मोडस अपरेन्डी (हत्याको कार्य प्रकृति) पनि उस्तै छ,’ इन्स्पेक्टर भट्टराई भन्छन्, ‘त्यो कोणबाट पनि अनुसन्धान भइरहेको छ ।’
भदौरे दम्पती हत्यामा जिल्लाको टोलीदेखि कोशी प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले समेत अनुसन्धान गरेर एक महिनापछि चार जनालाई पक्राउ गरेको थियो ।
ओखलढुंगाको चिसाङ्ग गाउँपालिका–३ दियालेका २८ वर्षीय मिलन भनिने संगम राई, सोही गाउँपालिका–४ का ४० वर्षीय विनोद राई, सोही गाउँपालिका–४ का ४० वर्षीय प्रकाश भुजेल र चिसाङ–४ कै ३० वर्षीय दार्जे भनिने अशोक भुजेल पक्राउ परेका थिए । उनीहरू अहिले पनि प्रहरी हिरासतमा छन् । उनीहरूविरुद्ध हत्याको मुद्दा जिल्ला अदालत ओखलढुंगामा दर्ता भएर आज बुधबार पेशी छ । सम्भवत: आजै पुर्पक्षका लागि हिरासत पठाउने आदेश समेत आउन सक्छ ।
यो समूहले भदौरेमा कोदालो र अन्य धारिलो हतियार प्रहार गरेर हत्या गरेर दम्पतीको हत्या गरेको खुलेको थियो । हत्यापश्चात शवलाई गोठमा लगेर स्याउलाले छोपी पसल तथा कोठामा रहेको नगद १ लाख, २ तोला सुनका गरगहना र काँचो सुन ६ तोला लुटेर लगेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको थियो ।
अहिले फेरि त्यस्तै शैलीमा राई दम्पतीको हत्या भएपछि यो समूहमाथि पनि प्रहरीले निरागानी बढाएको छ । यही समूहका अन्य व्यक्ति बाहिरै रहेकाले हत्या गरेको हुनसक्ने पनि आंशका गरिएको छ ।
अहिले हिरासतमा रहेको यही समूले यसअघि २६ असोजको राति १० बजेतिर ओखलढुंगाकै सिद्धिचरण नगरपालिका–४ चाुर्खमा खेती किसान गर्ने एकल महिला ५२ वर्षीया रत्न कुमारी कटवाल (कार्की) को पनि हत्या गरेको खुलेको थियो ।
बन्चरो प्रहार गरी हत्या गरेर नगद तथा सुनका गरगहना लुटेको लगेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा समेत उल्लेख थियो ।
प्रहरीले चार्खु घटनामा प्रयोग भएको बन्चरो, रत्नकुमारीबाट लुटिएको सुन गालेको अवस्थामा ५.८० ग्राम, दाउसहितको खुकुरी, दम्पत्ति हत्यापछि लुटिएको रिचार्ज कार्ड, भरुवा बन्दुक २ थान, दम्पती हत्यामा प्रयोग गरिएको कोदालो र ४ थान मोबाइल बरामद गरेको थियो ।
दम्पती हत्याको अनुसन्धान गर्दा त्यही समूहले अर्का एकल महिलाको हत्या गरेको खुल्नु र अहिले त्यो समूह हिरासतमा हुँदा ओखलढुंगामै अर्का दम्पत्तिको हत्या हुनुले घटना रहस्यमय बनेको छ ।
प्रतिक्रिया 4