News Summary
Generated by OK AI. Editorially reviewed.- क्विन्टन डिककको विस्फोटक शतकले दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल सात विकेटले जित्यो।
- दक्षिण अफ्रिकाले १५ बल बाँकी रहँदै ३ विकेटको क्षतिमा २२५ रन बनाएर २२२ रनको लक्ष्य पूरा गर्यो।
- नयाँ प्रशिक्षक शुक्री कोनराडको नेतृत्वमा दक्षिण अफ्रिकाले टी–२० शृंखला आफ्नो पक्षमा पारेको छ।
१६ माघ, काठमाडौं । क्विन्टन डिककको विस्फोटक शतकको मद्दतमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल सात विकेटले जित्दै शृंखला आफ्नो पक्षमा पारेको छ।
सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्कमा २२२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १५ बल बाँकी रहँदै ३ विकेटको क्षतिमा २२५ रन बनाएर जित हासिल गरेको हो ।
डि ककले ४९ बलमा ११५ रन बनाउँदै शानदार इनिङ्स खेले। ४३ बलमै शतक पूरा गरेका उनले १० छक्का र ६ चौका प्रहार गरे । उनीसँगै ब्याटिङ गरेका रायन रिकेल्टनले नटआउट ७७ रन बनाए। दुवैबीच दोस्रो विकेटका लागि १६२ रनको साझेदारी भयो, जसले खेल पूर्ण रूपमा दक्षिण अफ्रिकाको पक्षमा मोडेको थियो।
यसअघि वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर २२१ रन बनाएको थियो। शिमरोन हेटमायरले ७५ रन, शेरफेन रदरफोर्डले नटआउट ५७ रन, ब्रान्डन किङले ४९ रन बनाउँदै ठूलो स्कोरसम्म पुर्याएका थिए।
दक्षिण अफ्रिकाका लागि बलिङतर्फ केशव महाराजले २ विकेट लिए । कागिसो रबाडा र मार्को यान्सेनले १-१ विकेट लिए।
नयाँ प्रशिक्षक शुक्री कोनराडको नेतृत्वमा दक्षिण अफ्रिकाले पहिलो टी–२०आई शृंखला जित हासिल गर्यो । यसअघि पहिलो खेलमा पनि दक्षिण अफ्रिकाले सहज जित हासिल गरेको थियो ।
प्रतिक्रिया 4