+
नेपाली क्रिकेट :

टी-२० विश्वकप २०२६ : यी हुन् नेपालले समूह चरणमा खेल्ने प्रतिद्वन्द्वी

२०८२ माघ  १६ गते १६:४० २०८२ माघ १६ गते १६:४०

नेपाल रहेको समूह ‘सी’ मा दुईपटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसहित दुई एसोसियट राष्ट्र स्कटल्यान्ड र इटली छन् ।

टी-२० विश्वकप २०२६ : यी हुन् नेपालले समूह चरणमा खेल्ने प्रतिद्वन्द्वी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट २०२६ भारतमा एक सातामा सुरु हुँदैछ र नेपालसहित २० राष्ट्र सहभागी छन्।
  • नेपाल समूह 'सी' मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटलीसँग प्रतिस्पर्धा गर्नेछ।
  • नेपालले सुपर ८ मा पुग्ने लक्ष्य राखेको छ र कप्तान रोहित पौडेलले राम्रो प्रदर्शन गर्ने बताएका छन्।

१६ माघ, काठमाडौं । आईसीसी पुरुष टी-२० विश्‍वकप क्रिकेट २०२६ भारतमा अबको एक सातामा सुरु हुँदैछ । टी-२० क्रिकेटको महासंग्राम समेत मानिने यो विश्वकपमा नेपालसहित २० राष्ट्र सहभागी छन् ।

२० राष्ट्रलाई चारवटा समूहमा विभाजन गरिएको छ र एक समूहमा पाँच टोलीहरू समावेश छन् । हरेक समूहबाट शीर्ष २ टोलीहरू अघिल्लो चरण अर्थात् सुपर ८ चरणमा पुग्ने भएकाले कम्तीमा दुई खेल जित्नैपर्ने छ ।

नेपाल रहेको समूह ‘सी’ मा दुईपटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसहित दुई एसोसियट राष्ट्र स्कटल्यान्ड र इटली छन् । सुरुमा बंगलादेश समावेश रहेको भएपनि बंगलादेश भारतमा खेल्न जान अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई हटाएर स्कटल्यान्ड समावेश गरेको थियो ।

नेपालले समूह चरणमा खेल्नेमध्ये इटलीबाहेक बाँकी तीन राष्ट्र टी-२०आई वरियतामा नेपालभन्दा माथि छन् । नेपालका लागि इंग्ल्यान्ड र इटली पूर्णरूपमा नयाँ प्रतिद्वन्द्वी हुनेछन् भने वेस्ट इन्डिज र स्कटल्यान्डसँग पहिले पनि खेलिसकेको छ ।

नेपाली टोलीको यो तेस्रो विश्वकप सहभागिता हो । यसअघि सन् २०१४ मा पहिलोपटक टी-२० विश्वकप खेलेको नेपाली टोलीले त्यसको १० वर्षपछि अर्थात् गत संस्करण (२०२४) को टी-२० विश्वकप खेलेको थियो ।

दुवैपटक नेपाल पहिलो चरणबाट अगाडि बढ्न सकेको थिएन। यसपटक भने नेपालले सुपर ८ मा पुग्ने लक्ष्य राखेको छ । कप्तान रोहित पौडेलले पहिलेभन्दा पनि राम्रो प्रदर्शन गरेर नेपाली समर्थकलाई खुसी दिने बताएका छन् ।

मुम्बईस्थित वाङ्खडे स्टेडियममा आफ्ना समूह चरणका सबै खेल खेल्ने नेपालका यिनै चार प्रतिद्वन्द्वी, वरियता, पछिल्लो लय र विभिन्न पक्षका बारेमा आज चर्चा गर्नेछौं ।

इंग्ल्यान्ड

दुईपटकको च्याम्पियन टोली इंग्ल्यान्ड यो समूहको सबैभन्दा बलियो टोली हो । आईसीसीको टी-२० वरियतामा इंग्ल्यान्ड तेस्रो वरियतामा छ ।

नेपालले यसअघि कहिले पनि इंग्ल्यान्डसँग खेलेको छैन । ह्‍यारी ब्रूकको कप्तानीमा रहेको इंग्ल्यान्डविरुद्ध नेपालले विश्वकपको सुरुवाती खेल नै फेब्रुअरी ७ मा खेल्ने छ ।

सन् २०१० र २०२२ मा टी-२० विश्वकपको उपाधि जितेको इंग्ल्यान्ड आक्रामक हिटर अनि उत्कृष्ट बलरहरू रहेको टिम हो ।

इंग्ल्यान्डको टोलीमा विश्वकै उत्कृष्ट पावर हिटरमध्येका फिलिप साल्ट, जस बट्लर, बेन डकेटजस्ता ब्याटर छन् भने १५० किमि प्रतिघण्टाभन्दा माथिको स्पीडमा बलिङ गर्ने जोफ्रा आर्चर समावेश छन् ।

विश्वस्तरीय टिम इंग्ल्यान्डसँगको खेल जित्‍न सके बाँकी खेलका लागि नेपाली टिमको मनोबल उच्च बन्नेछ भने सुपर ८ सम्भावना पनि बलियो बन्नेछ । यद्यपी इंग्ल्यान्ड विश्वस्तरीय टिम भएकाले नेपाललाई त्यति सहज भने हुने छैन ।

इंग्ल्यान्डले सन् २०२४ को टी-२० विश्वकपदेखि यता खेलेका २२ टी-२०आई खेलमध्ये ११ खेल जितेको छ भने ७ खेलमा पराजित हुँदा ४ खेल नतिजाविहीन थियो ।

वेस्ट इन्डिज

वेस्ट इन्डिज पनि दुईपटकको च्याम्पियन टोली हो । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को टी-२० विश्वकप उपाधि जितेको थियो ।

वेस्ट इन्डिज आईसीसी टी-२०आई वरियतामा सातौं स्थानमा छ । शाइ होपको कप्तानीमा रहेको वेस्ट इन्डिज पनि पावर हिटिङका लागि परिचित टोली हो ।

वेस्ट इन्डिजको टोलीमा शिम्रोन हेटमायर, शेरफन रदरफोर्ड, रोमारियो शेपहर्डजस्ता आक्रामक ब्याटरहरू छन् । यस्तै २०१६ को विश्वकप जित्दाका दुई खेलाडीहरू जेसन होल्डर र जोनसोन चार्ल्स पनि टोलीमा छन् ।

बलिङमा भने वेस्ट इन्डिज पहिलेजस्तो बलियो छैन । अकिल होसेन सबैभन्दा उत्कृष्ट बलरका रूपमा छन् ।

वेस्ट इन्डिजले सन् २०२४ को टी-२० विश्वकपयता भएका ४२ वटा टी-२०आई खेलमा १३ खेल जितेको छ भने २५ खेलमा पराजित हुँदा ४ खेल नतिजाविहीन रहे ।

नेपालले वेस्ट इन्डिजसँग हालसम्म ३ खेल खेल्दा २ खेल जितेको छ भने १ खेलमा पराजित भएको छ । गत अक्टोबरमा भएको ऐतिहासिक टी-२०आई शृंखलामा नेपालले वेस्ट इन्डिजमाथि २-१ को शृंखला जित निकालेको थियो ।

यद्यपी उक्त शृंखलामा खेलेकामध्ये दुई खेलाडी मात्र विश्वकप खेल्ने टोलीमा छन् । उक्त शृंखलामा वेस्ट इन्डिजले दोस्रो रोजाइको टोली खेलाएको थियो । त्यस टोलीबाट जेसन होल्डर र अकिल होसेन मात्र विश्वकपको टोलीमा छन् ।

स्कटल्यान्ड

स्कटल्यान्ड एसोसियट राष्ट्र हो । आईसीसी टी-२०आई वरियतामा स्कटल्यान्ड १४औं स्थानमा छ ।

स्कटल्यान्ड युरोपियन छनोट पार गर्न नसक्दा विश्वकपमा छनोट भएको थिएन । तर बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा खेल्न जान अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई सहभागी नगराउने निर्णय गरेको थियो । यस्तोमा वरियताका आधारमा स्कटल्यान्डले मौका पाएको थियो ।

स्कटल्यान्डको सहभागितालाई ‘वाइल्डकार्ड’ इन्ट्रीका रूपमा लिइएको छ र स्कटल्यान्डले यो मौकाको भरपुर सदुपयोग गर्न चाहनेछ ।

गत संस्करणको टी-२० विश्वकपमा पनि खेलेको स्कटल्यान्डले समूह चरण पार गर्न नसक्दा नेपालजस्तै क्षेत्रीय छनोटमा खेलेको थियो ।

स्कटल्यान्डको टोलीमा अनुभवी रिची बेरिङटन, म्याथ्यु क्रस, शफिया शरिफजस्ता खेलाडी छन् । यस्तै स्टार अलराउन्डर मार्क वाट पनि छन् । न्युजिल्यान्डबाट खेलिसकेका टम ब्रुस पनि स्कटल्यान्डको टोलीमा छन् ।

विश्वकपपछि स्कटल्यान्डले अस्ट्रेलियासँग ३ खेलको शृंखला खेलेको थियो जहाँ पराजित भएको थियो । त्यसपछि नेपाल र नेदरल्यान्ड्ससँग भएको त्रिदेशीय शृंखलामा २ खेल जितेको थियो भने विश्वकप युरोपियन छनोटमा एक मात्र खेल जित्न सक्यो ।

स्कटल्यान्डसँग नेपालले हालसम्म २ पटक खेलेको छ जहाँ दुवै टोलीले १-१ खेल जितेका छन् ।

इटली

इटली पहिलोपटक विश्वकप खेल्न लागेको टोली हो । युरोपियन छनोट पार गर्ने क्रममा इटलीले स्कटल्यान्डलाई नै नकआउट गरेको थियो ।

इटली आईसीसी टी-२०आई वरियतामा २७औं स्थानमा छ । पछिल्लो समय इटली क्रिकेटमा उदाउँदो राष्ट्रका रूपमा छ ।

विश्वकपअघि आयरल्यान्डसँग टी-२०आई शृंखला खेलेको इटलीले शृंखला गुमाएपनि एक खेल जितेको थियो ।

त्यस्तै एसोसियटकै अर्को बलियो टोली नामिबियालाई पनि हराइसकेको छ । यस्तोमा नेपालले इटलीलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा लिने छैन ।

इटलीको टोलीमा दक्षिण अफ्रिकाबाट खेलिसकेका जेजे स्मट्स पनि समावेश छन् भने अस्ट्रेलियामा खेल्दै आएका ह्‍यारी मानेन्ती र बेन मानेन्ती दाजुभाईको जोडी पनि छन् ।

नेपालले हालसम्म इटलीसँग खेलेको छैन । नेपालले इटलीसँग फेब्रुअरी १२ मा खेल्ने छ ।

•••

नेपालको खेल तालिका

८ फेब्रुअरी: नेपालविरुद्ध इंग्ल्यान्ड – दिउँसो ३:१५ देखि
१२ फेब्रुअरी: नेपालविरुद्ध इटली – दिउँसो ३:१५ देखि
१५ फेब्रुअरी: नेपालविरुद्ध वेस्ट इन्डिज – विहान ११:१५ देखि
१७ फेब्रुअरी: नेपालविरुद्ध स्कटल्यान्ड – साँझ ७:१५ देखि

टी-२० विश्वकप २०२६ नेपाली क्रिकेट टोली
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय