+
+
Shares
एस्प्रेसो :

यो चुनाव पुरानो–नयाँबीच होइन, खुलापनका समर्थक–विरोधीबीच

टोनी ब्लेयरले २० वर्षअघि भनेका थिए– अब वाम र दक्षिणपन्थी बीच विवाद हुने छैन, बरु खुलापनका समर्थक र बन्द समाजका पक्षधर बीच। नेपालमा नयाँ पार्टी रोज्ने कि पुरानो भन्ने बहस चलिरहेको छ। ब्लेयरका निष्कर्ष यति बेला नेपालीले खुब ध्यान दिएर पढ्नुपर्ने भएको छ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८२ माघ १६ गते १८:४५

यहाँ सधैं व्यक्ति र व्यक्तित्वको प्रतिस्पर्धा चल्यो। नयाँ रंगीचंगी पार्टी मात्रै होइन, विगतकै स्थापित पार्टीहरूले पनि विचार र एजेन्डाका आधारमा पार्टी बनाउन छाडे। हिजोआज त शंका नै लाग्न थाल्यो– यी पार्टी हुन् कि व्यक्तित्व संकलन केन्द्रहरू हुन् !

कुखुराको भालेसँग भोट मागिरहेकी आशिका तामाङदेखि चुनाव नजिताए मरिदिन्छु भन्ने आसिक उम्मेदवार अमरेश सिंहसम्म हेर्दा लाग्छ– यो देशमा चुनाव आयो, लोकतन्त्र आएन।

जुन निर्वाचन क्षेत्रमा उम्मेदवार नै यति भावुक छन्, तिनका पनि उम्मेदवार अर्थात् प्रधानमन्त्रीका उम्मेदवार कस्ता होलान्! शायद यही कुरो परीक्षण गरौं भनेर केही मित्रहरूले लाइभ डिबेट माग गर्नुभयो।

प्रधानमन्त्रीय प्रणाली त छैन नेपालमा तर एकसेएक प्रधानमन्त्री उम्मेदवारहरू खडा छन्। गगन थापा, केपी ओली, बालेन, हर्क साम्पाङ– हाललाई हामीकहाँ प्रधानमन्त्री उम्मेदवार हुन्। मन त प्रचण्डलाई पनि थियो होला उम्मेदवार बनिहेरुँ, तर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल अनि आधा दर्जनजति उप–प्रधानमन्त्री भएको नेकपाले एउटा साझा प्रधानमन्त्री उम्मेदवार खडा गर्नै सकेन। भरे फ्याट्ट वामदेवलाई पनि रहर लाग्यो भने ‘बुढा, यो उमेरमा देश नबनाऊ’ भनेर तिनलाई कसरी रोक्ने!

एकठाउँ प्रचण्डले चाहिं भने, म चौथोपल्ट प्रधानमन्त्री बनेर केही गर्न चाहन्छु। बनाउन बाँकी देश आफ्नै जीवनकालमा बनाउने प्रचण्डको घिडघिडो बाँकी छ। रहर त बाबुरामले पनि गरेका थिए, तर बीचैमा ‘भूराजनीति’ आदित्यादि देखाउँदै गोरखाको उम्मेदवारी स्थगित गरे।

बरु रवि लामिछाने त्याग गर्न सक्ने आफ्नै क्षमतासँग छटपटिंदै यतिखेर आराम गरिरहेका छन्। उनी प्रधानमन्त्रीको दौडमा छैनन् भन्ने यथार्थ पत्याउन स्वयं रास्वपालाई गाह्रो परिरहेको छ।

यसअघि विरलै मात्रै प्रधानमन्त्री उम्मेदवार तोकिन्थ्यो। २०५६ मा कृष्णप्रसाद भट्टराई कांग्रेसका तर्फबाट खडा गरिएका यस्ता उम्मेदवार थिए, जसलाई पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले एक वर्षपछि हटाएर वास्तविक सत्ता आफ्नै हातमा लिए। किशुनजी जस्ता जानेमाने प्रधानमन्त्री उम्मेदवारको यो हविगत देखेपछि यो देशमा फेरि कसैले प्रधानमन्त्री बन्छु भनेर चुनावअघि नै घोषणा गर्ने हिम्मत त के, रहर समेत गर्न सकेन।

अब यसपालिको कुरा गरौं। यी उम्मेदवारमध्ये एक प्रधानमन्त्री उम्मेदवार बालेनले यो प्रधानमन्त्री डिबेटकै औचित्यमा बन्देज लगाइदिए। २३ भदौका हिंसाकर्ता, अनि तिनका मतियारसँग बहस गर्दिनँ भनेर उनले केपी ओली अनि मतियारको रूपमा तत्कालीन सत्ता साझेदार कांग्रेसका नेता गगन थापालाई भन्न खोजे जस्तो छ। ओली–देउवा सरकारमा सहभागी नरहेका तत्कालीन महामन्त्री गगनको जवाफ त आएको छैन तर तिनले नवनिर्वाचित सभापतिका रूपमा कांग्रेसको सानेपा मुख्यालयबाट अरू उम्मेदवार लक्षित कडा टिप्पणी नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। एमाले र रास्वपा बीच भने लाइभ डिबेट नभए पनि फेसबुके जुहारी चलिरहेको छ।

नयाँ नेपालको प्रथम राष्ट्रपति प्रचण्डलाई बनाउँ भन्ने नारा भित्ता–भित्तामा लेखिए। बाबुरामलाई काम गर्न दिउँ भनेर टिसर्ट छापिए। ओली बा आई लभ यु, आईएमविद् केपी ओली ह्यासट्याग क्याम्पेन चले। अब पालो आएको छ नयाँ खेलाडीहरूको। दुई चार पपुलिस्ट झ्वाँक, अनि तिनको भयावह परिणाम नदेखी नेपाली समाजले चेत्दैन भन्ने स्पष्ट नै छ। नत्र बाहिर आएर आफ्ना राजनीतिक प्रस्तावहरू राख्नुपर्दैन ? चुनावी घोषणापत्र ल्याउनुपर्दैन ?

हामी देश र जनताको भविष्यका बारेमा साँच्चिकै चिन्तित हुने हो भने नयाँ पार्टी वा पुराना होइन, वामपन्थी वा उदारवादी होइन, कुन पार्टी खुलापनलाई अँगाल्छ, कुन पार्टी चाहिं घुमाईफिराई बन्द समाजकै पैरवी गर्छ भन्ने आधारलाई उम्मेदवार वा पार्टी छान्ने मानक बनाउँ।

गाडी र बाइकमा जिल्ला, पालिका घुमेका तस्बिर आइसक्दा पनि यी उम्मेदवार वास्तवमा के चाहन्छन् भन्ने अझै खुल्दैन ! त्यो तस्बिर मात्रै बाहिर आउँछ, जो उम्मेदवारको प्रचार टिमले बाहिर ल्याउन चाहन्छ। अझ त्यसमा एआईको सहयोग लिएर जनता उर्लेको तस्बिर देखाइन्छ। कोही प्रश्न सोध्दैन, केवल लाइक, लभ र फलो मात्रै गर्छ। यो भाग्यवादी देशमा मतदाता सधैं दाता रहे। नागरिक बनेनन्, केवल फलोअर बने। पपुलिज्मको उन्मादमा चुनाव स्वयं भक्तिमार्गको अनुष्ठान बन्न पुग्छ। चुनाव चिह्नको राजनीतिलाई मठमन्दिरभित्रैसम्म निर्बाध प्रवेश गराइएको छ । यस्तोमा तपाईं हाम्रो हैसियत केवल एक भोट मात्रै रहन्छ।
विगतका अनुहारहरूले कोरा सिद्धान्तको नाममा योजनाविहीन प्रतिज्ञा गरेर जनतालाई निराश बनाएका थिए। अहिले त्योभन्दा राम्रा दिन आउलान् भनेको सिंगै देश रियालिटी शो जस्तो बन्न गएको छ। सिंगो देश सास रोकेर बालेन कहाँ पुगे, कहाँ रोकिए, के खाए, के लाए भनेर हेर्नमा मस्त छ।

एक मन त ठिकै लाग्छ– ठूलो भीड देखाउन सयौं बस खोजेर जनता ओसार्नुभन्दा बरु एआई फोटोशपबाटै मस्त मन लागेजति भीड देखाऊ। फेक तस्बिर देखाएर झुटो कुरा फैलिए पनि गरिखाने किसान र मजदुरको समय त बच्छ। जनतालाई खचाखच बसमा ओसारेर अन्तमा बेसहारा छाडिदिने हाम्रा पार्टीहरूको प्रवृत्तिका कारण कमसेकम आइन्दा आम नागरिकको शरेआम बेइज्जती त हुँदैन!
मैले फेक फोटो प्रवर्धन गर्न खोजेको होइन फेक प्रतीज्ञाहरुबाट अस्थायी उन्मुक्तिमात्रै खोजेको हुँ ।

र, यसमा आपत् परेको छ ओलीदेखि प्रचण्डसम्मलाई। एमाले कार्यकर्तालाई आफ्नो समारोहमा आएका मान्छे भनेर एआई सहारा लिंदासम्म तिनलाई मजै थियो। बालेन पक्षले अछाम, धनगढी, गुलरिया र दमकमा जस्ता फोटो निकाल्यो, त्यसपछि त एआईसँग एमाले छक्क पर्ने अवस्था आयो।

बोल्न त ओली पनि बोलिरहेका छन्, तर उनी असफल हुनु अगावै असान्दर्भिक होलान् भन्ने आशंका छ। यो बेग्लै कुरा हो, ओलीका बारेमा नेपाली जनता के ठानिरहेका छन् भनी एमाले पार्टीले नै थाहा पाउन बाँकी छ। एमाले महाधिवेशन ओलीलाई कर्तलध्वनिले पुन: अनुमोदन गर्दै भर्खर सकिएको छ। पहिले पहिले एमाले महाधिवेशन या चुनावमा त्यस्ता बहसहरु हुने गर्थे जो आज कांग्रेस गर्दैछ । नयाँ पुस्ताको विद्रोहसँगै कांग्रेस पुनर्जागृत हुँदैगर्दा एमालेका फरक मतहरु आँगनमा समेत स्पेस नपाउने गरी बढारिएका छन् ।

तर प्रश्न गर्न भने कांग्रेसलाई पनि पुगेको छैन । अचेल चुनाव विचारहरुको प्रतिस्पर्धा गर्ने मैदान होइन केवल अनुहारै अनुहारको भीड र त्यसले सिर्जना गरेको ठट्टा, प्रहसन जस्तो मात्रै बनिरहेका बेला गगन थापा कतै देहाततिर अपिल गरिरहेका छन् । विश्वप्रकाश शर्माले आफैं चुनाव त लडेका छैनन् तर उनले दिएका बाचाहरूतर्फ मानिसहरूले ध्यान दिन भ्याएकै देखिंदैन। उनीहरुलाई तिमीले किन समयमै विद्रोह गरेनौं, किन ढिलो गर्‍यौं भनेर पनि मतदाताहरूले सोध्न सकेको देखिंदैन।

default

त्यसैले यति सजिलै ढुक्क हुने स्थिति छैन। जनतालाई त फागुन २१ गते सोधौंला, तपाईंहरू के चाहनुहुन्छ? तर आज त जनता स्वयंले उम्मेदवारलाई सोध्नुपर्‍यो नि, तपाईंहरू कस्तो देश र समाज बनाउन चाहनुहुन्छ ?

यो यस्तो प्रश्न हो, जसको यथार्थपरक जवाफ नखोजी चुनावमा भोट मात्रै हालेको भरमा हामीले खतरै लोकतान्त्रिक अभ्यास गर्‍यौं भनेर गमक्क पर्दै हिंड्नुको कुनै अर्थ हुने छैन।

तपाईं अब उम्मेदवारको नमस्ते मात्रै खाएर नहिंड्नुस्। बरु जुनसुकै नाम, रंग, वर्ण, भेषका उम्मेदवार आए पनि एउटा चेकलिस्ट भराउनुस्।

तिनलाई सोध्नुस् : तपाईं जित्नुभयो भने ठिकै छ, हार्नुभयो के गर्नुहुन्छ ? मलाई धाँधली गरेर हराइयो, म त लोकप्रिय नै थिएँ भन्नुहुन्छ कि मतदातालाई धन्यवाद दिएर परिणाम स्वीकार्नुहुन्छ ?

तपाई लोकतन्त्रलाई केवल हारजितको विषय बनाउनुहुन्छ कि परिणामभन्दा प्रक्रियालाई विश्वास गर्नुहुन्छ?

आउनुस् एकपल्ट हामी विगततर्फ होइन, भविष्यतर्फ फर्केर सोचौं। लाइभ डिबेट त लगभग अब नहोला, तर भएछ भने हामीले चेकलिस्टका बुँदा अझै बलियो र स्पष्ट बनाएर हाम्रा प्रश्नहरू तिखारौं।

तपाईं नागरिक स्वतन्त्रता र आर्थिक विकास, अनि राष्ट्रियता र रोजगारीमध्ये एक रोज्न भन्नुहुन्छ कि यी दुवै एकसाथ सँगसँगै आफ्नो नेतृत्वमा जान सक्छन् भन्ने मतदातालाई विश्वास दिलाउनुहुन्छ ?

तपाईं आफूसँग असहमतहरू आए भने तिनलाई ठोक्ने, सिध्याउने, प्रतिशोध राख्ने गर्नुहुन्छ कि उनीहरूसँग बहस गर्ने, आफ्ना तर्कमा सहमत गराउने कोसिस गर्नुहुन्छ ?

तपाईं कसैसँग सकभर देखै नपर्ने, देखा परे पनि एउटा स्टाटस धस्काएर लुसुक्क दुलोभित्र पस्नुहुन्छ कि आम नागरिकसँग आमनेसामने गफ गर्दै हिंड्नुहुन्छ ?

फेरि एकपटक सोधौं– तपाईं धम्की, प्रतिशोध र बदलाको भाषा बोल्नुहुन्छ कि प्रतिस्पर्धा र नियमसंगत प्रतिद्वन्द्विताको ?

तपाईं पत्रकारहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्नुहुन्छ कि तिनलाई सके पीआर टिममा ल्याउने, नसके चरित्रहत्या गर्ने काममा लाग्नुहुन्छ ?

तपाईं आफूले मात्रै प्रश्न गर्न पाउनुपर्छ भन्नुहुन्छ कि हरेक दिन जवाफदेही बन्नु आफ्नो पनि दायित्व हो, अझ आफ्नै चाहिं बढ्ता दायित्व हो भन्ने सम्झनुहुन्छ ?

सुन्दाखेरि यी प्रश्न सैद्धान्तिक जस्ता सुनिएलान्, तर तपाईं हाम्रो जीवनमा सबैभन्दा बढी अर्थ राख्ने प्रश्न हुन्। यी यस्ता प्रश्न हुन्, जसको जवाफ खोज्नैका लागि हाम्रो अग्रज पुस्ताले ठूलो बलिदानी गरेको छ।

आवश्यक पर्‍यो भने यी अमूल्य अधिकारहरूको लागि फेरि पनि ठूलो संघर्ष हुन सक्छ।

र, यी यस्ता प्रश्न हुन् जसको अभावमा लोकतन्त्र बाँच्ने छैन। हामीलाई भारत, चीन, अमेरिका, सिंगापुरको सपना कपी पेस्ट गर्दै सुनाइन सक्छ । युवा विश्लेषक रोहेज खतिवडाले लेखेका छन्– नारामा त आत्मनिर्भर हुन सकेनौं हामी । ‘अबकी बार’ का नारा चर्कै छन् । नारा र अनुहारको छवि प्रदर्शन अविच्छिन्न छ । मखमली सपनाका पुरिया बाँडेर फेरि पनि जनतालाई शक्तिविहीन बनाउने र कुनै न कुनै स्वरुपको अधिनायकवाद यो देशमा ल्याउने खतरा हुन सक्छ।

पुराना पार्टीका पुराना नेताले खटारा गाडी कुदाए भन्दैमा सिधै भित्तामा लगेर ठोक्काउन उद्यत करिअरिस्टहरूलाई कसरी अनुमोदन गर्न सकिन्छ र ? खराब आएका थिए भनेर खत्तमको खोजी गर्न हुँदैन । सुशासन केवल शब्द होइन । यहाँ कोही धेरै वर्ष लगाएर भ्रष्ट भएका थिए, कोही त सालनाल काटिन नपाउँदै भ्रष्टाचार सिकिरहेका छन् । राजनीति केवल कुलीन र नवधनाड्यको पेवा बन्ने खतरा छ जहाँ सामान्य मानिसको पहुँचसम्म पनि छैन । दुर्भाग्य, गरिबका नारा तिनैले कब्जा गरेका छन् ।

एउटा कुरा याद गरौं, अबको चुनावमा वामपन्थी र दक्षिणपन्थी वा उदारवादी पार्टीहरूको बीचमा देखिंदै आएको भेद लगभग मेटिन पनि सक्छ। यस्तो वैचारिक भिन्नता मेटिन थालेको खासमा त धेरै वर्ष भइसक्यो, जसलाई चुनावले पनि पुष्टि गरिदिने सम्भावना धेरै छ।

बेलायतका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले सन् २००६ मा मजदुर युनियनको कार्यक्रममा बोल्दै भनेका थिए– अब वाम र दक्षिणपन्थी बीचको विवाद हुने छैन। बरु खुलापनका समर्थक र बन्द समाजका पक्षधर बीचको।

ब्लेयरले २० वर्षअघि बोलेका सबै प्रसंग नेपालका लागि कामयाब नहोलान् तर आधारभूत निष्कर्ष यति बेला खुब ध्यान दिएर पढ्नुपर्ने भएको छ । किनकि नेपालमा यतिबेला नयाँ पार्टी रोज्ने कि पुरानैमा रमाउने भन्ने बहस चलिरहेको छ।

म यति मात्रै आग्रह गर्न चाहन्छु– हामी देश र जनताको भविष्यका बारेमा साँच्चिकै चिन्तित हुने हो भने नयाँ पार्टी वा पुराना होइन, वामपन्थी वा उदारवादी होइन, कुन पार्टी खुलापनलाई अँगाल्छ, कुन पार्टी चाहिं घुमाईफिराई बन्द समाजकै पैरवी गर्छ भन्ने आधारलाई उम्मेदवार वा पार्टी छान्ने मानक बनाउँ। नयाँ हुँदैमा राम्रो वा नराम्रो हुँदैन, पुरानो हुँदैमा पनि उही हुँदैन । हेरौं त, ०६४ सालका नयाँहरुको अचेल चौतर्फी हालत छ ।

चुनाव त आउँछ जान्छ, समाजमा त्यसपछि पनि हामीले बाँच्नुपर्छ। हामीलाई कुन चाहिं शक्तिले चैनले सास फेर्न दिन्छ, कुनले चाहिं निस्सासिंदो माहोलमा रुमल्याउँछ भन्ने मोटामोटी आकलन गरौं।

आउनुस् एकपल्ट हामी विगततर्फ होइन, भविष्यतर्फ फर्केर सोचौं। यो चुनाव पुरानो र नयाँबीच होइन, खुलापनका समर्थक र विरोधीबीच हुँदैछ । उम्मेदवारहरुबीच लाइभ डिबेट त लगभग अब नहोला, तर भएछ भने हामीले अघि भनिएका चेकलिस्टका बुँदा अझै बलियो र स्पष्ट बनाएर हाम्रा प्रश्नहरू तिखारौं। तिनका जवाफका आधारमा चिनौं– को नयाँ हो र को पुरानो ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?