१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेताको अनुहार बदलेर मात्रै कांग्रेस बद्लिएको भन्दा अपूरो हुने टिप्पणी गरेका छन् । शनिबार काठमाडौं–४ कांग्रेसको निर्वाचन परिचालन मुल समिति गठन तथा घोषणा समारोहमा बोल्दै सभापति थापाले कांग्रेसको सोच र शैलीमै बदलिएको दाबी गरे ।
‘कांग्रेस पार्टी आज बदलिएर देश र जनताको अगाडि उभिएको छ,’ सभापति थापाले भने, ‘यो बदलिनु भनेको के हो ? कांग्रेस पार्टीको नेताको अनुहार बदल्यौँ त्यसकारण कांग्रेस बदलियो ? होइन ।’
अनुहार बदलिएको कुरा सामान्य प्रक्रियाको कुरा मात्रै भएको उनले बताए । ‘नेपाली कांग्रेस पार्टीको सोच बदलिएको छ, संकल्प बदलिएको छ, यसको शैली बदलिन्छ र यसको अब काम बदलिन्छ । यसले दिने परिणाम पनि बदलिएर नयाँ आउँछ,’ सभापति थापाले भने । कांग्रेसले नयाँ पुस्ताको आह्वानलाई स्वीकार गरेर नयाँ सोच र जोशका साथ उभिएको उनले दाबी गरे ।
कांग्रेस पार्टी पुरानो भएकोमा गर्व पनि उत्तिकै रहेको सभापति थापाले बताए । नयाँ कांग्रेसले पुरानो कांग्रेसका राम्रा कुरालाई स्वीकार गरेरै अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।
‘तर यो सँगसँगै नागरिकका नयाँ अपेक्षा पनि छन् । सुशासनको मुद्दालाई पार्टीले पहिलो मुद्दा बनाइदिउन् भन्ने छ, भ्रष्टाचारका सन्दर्भमा शून्य सहनशीलता राखिदेओस् भन्ने छ,’ उनले भने, ‘पार्टीहरू केवल सत्ता र शक्तिको लागि नलागुन्, सिद्धान्तनिष्ठ होउन्, बरु सत्ता छाडुन, तर सिद्धान्तमा सम्झौता नगरुन् भन्ने नागरिकको अपेक्षा छ ।’
अहिलेका नौजवानले पार्टीहरू ‘स्मार्ट’ र ‘एफिसेन्ट’ होस् भन्ने चाहेको उनले बताए । उनले भने, ‘नौजवानहरू चाहन्छन्, पार्टीले हाम्रो आवाज सुनोस् । नौजवान चाहन्छन् पार्टी भद्दा नहोस् । पार्टी हिजोको आन्दोलन जस्तो होस्, इलेक्सन मेसिन जस्तो नहोस् ।’
प्रतिक्रिया 4