News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टिमले चीनको युनान युथ महिला टिमलाई ३-१ ले पराजित गरेको छ।
- सुक्रिया मिया, कप्तान बिर्सना चौधरी र सजनी स्याङ्गतानले गोल गरे।
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले खेलकुदलाई जनस्तरको कूटनीतिक सेतु बनाउनुपर्ने बताउनुभयो।
१७ माघ, काठमाडौं । दोस्रो हाफको अन्तिम समयमा तीन गोल गरेपछि नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टिमले चीनको युनान युथ महिला फुटबल टिमलाई मैत्रीपूर्ण खेलमा ३-१ ले पराजित गरेको छ ।
चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार दशरथ रंगशालमा भएको खेलमा नेपाली यू-२० महिला टिमले एक गोलले पछि परेको स्थितिमा दोस्रो हाफमा पुनरागमन गर्दै जित हात पारेको हो । नेपालको लागि सुक्रिया मिया, कप्तान बिर्सना चौधरी र सजनी स्याङ्गतानले एक-एक गोल गरे ।
शी सियाओतिङले ४१औं मिनेटमा गोल गर्दै चिनियाँ युनान युथ टिमलाई पहिले अग्रता दिलाएकी थिइन् । तर त्यसलाई अन्तिमसम्म कायम राख्न सकेन । नेपाली यू-२० टिमका सुक्रियाले ८४औं मिनेटमा बराबरी गोल फर्काइन् ।
कप्तान बिर्सनाले ८७औं मिनेटमा गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाइन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सजनीले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै नेपाललाई ३-१ को जित दिलाइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको सयुक्त आयोजनामा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा नेपाल यू-२० महिला राष्ट्रिय टिम र चीनको युनान प्रान्तको युथ महिला टिमबीच मैत्रीपूर्ण खेल भएको हो ।
खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो । चीनको ड्रयागन नृत्य प्रस्तु गरिएको थियो भने नेपालकोतर्फबाट पञ्चेबाजाको प्रस्तुति थियो ।
नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले नेपाल–चीन सम्बन्ध ऐतिहासिक रूपमा मैत्रीपूर्ण रहेको उल्लेख गर्दै खेलकुद र संस्कृतिलाई जनस्तरको कूटनीतिक सेतुका रूपमा सुदृढ गर्नुपर्नेमा जोड दिएकी छन् ।
यस्तै मन्त्री श्रेष्ठले नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्लाई यस्तो अर्थपूर्ण पहलका लागि धन्यवाद दिँदै खेलकुदले भाषा, भूगोल र राजनीति भन्दा माथि उठेर मित्रता, सहकार्य र विश्वास निर्माण गर्ने प्रभावकारी माध्यम बन्ने बताइन् ।
तस्वीरहरू : नितेश जंग ओली/राखेप








प्रतिक्रिया 4