+
+
Shares
प्रतिनिधिसभा निर्वाचन :

दार्चुला : बडूले छाडेको मैदानमा ठगुन्नासँग भिड्दै नयाँ प्रतिद्वन्द्वी

दार्चुलामा २०६४ सालको संविधानसभा निर्वाचनबाहेक अधिकांश प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुँदै आएको छ ।

नरेन्द्रसिह कार्की नरेन्द्रसिह कार्की
२०८२ माघ १८ गते १२:१७

१८ माघ, दार्चुला । दार्चुलाबाट २०७० को संविधान सभा र २०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका पूर्व मन्त्री गणेशसिंह ठगुन्ना यसपटक तेस्रो जित निकाल्ने सपनासहित नयाँ अनुहारसँग प्रतिस्पर्धामा छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक रहेका ठगुन्ना २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने नेपाली कांग्रेसका दिलेन्द्र बडूसँग पराजित भएका थिए ।

अहिले ठगुन्नाविरुद्ध कांग्रेसका धर्मानन्द जोशी, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का लक्ष्मणदत्त जोशी र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का राजेशसिंह सामन्त चुनावी प्रतिस्पर्धा छन् । मुख्य प्रतिस्पर्धा भने एमालेका ठगुन्ना र कांग्रेसका जोशीबीच नै हुने आँकलन गरिएको छ ।

कांग्रेस उम्मेदवार जोशी पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । काठमाडौंको टोखा नगरपालिका–६ का बासिन्दा जोशीको पुर्ख्याैली थलो दार्चुला नै हो । शैल्यशिखर नगरपालिका–८ पपरथलामा उनको पुर्ख्याैली घर छ । संयुक्त राष्ट्रसंघ (युएन) मा काम गरेका जोशी कानुनी पृष्ठभूमिका व्यक्ति हुन् । दार्चुलाबाट प्रतिनिधित्व गर्ने कांग्रेसका पुराना नेता बडूले यसपटक निर्वाचन नलड्ने घोषणा गरेपछि राजनीतिमा नयाँ अनुहारका रूपमा जोशी दार्चुला भित्रिएका छन् ।

चुनावी पृष्ठभूमि

२०७९ सालको निर्वाचनमा कांग्रेससँग तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन थियो । जसको जगमा लडेका बडूले एमालेका ठगुन्नालाई दुई हजार १३४ मतले पराजित गरेका थिए । बडूले २८ हजार ५१५ मत ल्याएर विजयी हुँदा ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन थियो । जसको बलमा एमालेका ठगुन्ना विजयी भएका थिए । त्यो बेला कांग्रेसबाट उम्मेदवार रहेका विक्रमसिँह धामीले २२ हजार २३३ मत ल्याउँदा पराजित हुँदा एमाले उम्मेदवार ठगुन्नाले २८ हजार ९९८ मतसहित जित निकालेका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा सबै दल एक्लाएक्लै लडेका थिए । त्यो बेला एमालेबाटै ठगुन्ना विजयी भएका थिए । दार्चुलामा २०६४ सालको संविधानसभा निर्वाचनबाहेक अधिकांश प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुँदै आएको छ ।

२०६४ मा भने तत्कालीन माओवादीका उम्मेदवार लक्ष्मणदत्त जोशी निर्वाचित भएका थिए । उनै जोशीलाई अहिले नेकपाले आफ्नो उम्मेदवार बनाएको छ । २०६४ पछि भने उनी कुनै पनि संसदीय निर्वाचनमा उम्मेदवार बन्न पाएका थिएनन् । २०७० मा तत्कालीन माओवादीले ललितसिंह ठगुन्नालाई उम्मेदवार बनाएको थियो ।

नेकपा र रास्वपाको चुनौती

सांगठनिक रूपमा दार्चुलामा यसअघि हाल नेकपामा समाहित भएको माओवादी केन्द्र तेस्रो शक्ति मानिँदै आएको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा गठबन्धनका कारण उसले राम्रो सफलता हासिल गरेको थियो ।

२०७९ सालको निर्वाचनमा कांग्रेससँग तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन थियो । जसको जगमा लडेका बडूले एमालेका ठगुन्नालाई दुई हजार १३४ मतले पराजित गरेका थिए । बडूले २८ हजार ५१५ मत ल्याएर विजयी हुँदा ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका थिए ।

स्थानीय तह निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले अपि हिमाल, मार्मा, लेकम र नौगाड गरी तीन गाउँपालिकामा अध्यक्ष जितेको थियो । यस्तै व्याँस गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । तर, गठबन्धन गर्दा कांग्रेसलाई भने कुनै राम्रो नतिजा निकाल्न सकेन । अपि हिमाल, मार्मा, नौगाड गाउँपालिकामा मात्रै कांग्रेसका उपाध्यक्ष जितेका थिए ।

स्थानीय तहमा एमालेले भने महाकाली र शैल्यशिखर नगरपालिका, दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिका जितेको छ । लेकम गाउँपालिकामा उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य पनि एमालेकै हातमा छ ।

यसपटक स्थानीय तहमा मजबुत रहेको नेकपाले त्यसको बलमा प्रतिनिधिसभामा बलियो चुनौती दिनसक्ने सम्भावना छ ।

यस्तै पहिलोपटक रास्वपाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सामन्तले छोटो समयमै जिल्लाभर संगठन विस्तार गरेका छन् । उनी यसअघि राष्ट्रिय माध्यमिक विद्यालय दत्तुका प्रधानाध्यापक थिए । शिक्षक हुँदा उनी कांग्रेसनिटक नेपाल शिक्षक संघको राजनीतिमा थिए । त्यहाँबाट बिदा लिएर उनी अहिले रास्वपामा जोडिएका हुन् ।

रास्वपा उम्मेदवार सामन्त महाकाली नगरपालिका–९ का स्थायी बासिन्दा हुन् भने एमाले उम्मेदवार ठगुन्ना र नेकपा उम्मेदवार जोशीको घर पनि महाकाली नगरपालिका–५ मै पर्छ ।

दार्चुलामा प्रतिनिधिसभा निर्वाचनका लागि ११ वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?