१८ माघ, काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरलाई स्थानीय जनताले वन्यजन्तु–मानवबीचको द्वन्द्व व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् ।
मतदातासँगको अन्तरक्रियामा स्थानीयले बाँके र बर्दिया निकुञ्जका कारण दिनहुँजसो जङ्गली जनावर बस्तीमा पस्ने, हिंस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु हुनेलगायत घटना बढिरहेकाले वन्यजन्तु–मानव द्वन्द्व प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका हुन् ।
बाँके र बर्दियाका मध्यवर्ती क्षेत्रसहित आसपासका नागरिकले असुरक्षित महसुस गरेकाले कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार राठौरसँग विद्यमान समस्या समाधानका लागि पहल गरिदिन माग गरिएको ठाकुरबाबा नगरपालिका–३ का कमानसिंह साउदले बताए ।
अन्तरक्रियामा नेता राठौरले पछिल्लो समय मानव र जनावरबीचको द्वन्द्व व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको बताउँदै यसका लागि आफूले सरोकार भएका निकायसँग छलफल र समन्वय गरी समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
हालसम्म मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, कृषकका समस्या, सडक स्तरोन्नतिलगायत समयसामयिक विषयमा सुझाव सङ्कलन भएको ठाकुराबाबा नगरपालिकाका प्रमुख एवं कांग्रेस नेता तिलक लम्सालले बताए ।
प्रतिक्रिया 4