+
+
Shares

फ्याक्ट चेक : के सोबिता गौतमले बलात्कार र थप्पड हान्नु एउटै हो भनेकी हुन् ?

१४ मिनेट लामो प्रसंगको १५ सेकेन्ड काटेर पूरा भनाइ नराखी काँटछाँट हुँदा भ्रामक देखिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते २१:४२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान सांसद तथा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार सोबिता गौतमले ‘बलात्कार र थप्पड एउटै हो’ भनेको दाबी गरिएको पोस्ट र छोटो भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

तर हाम्रो तथ्यजाँचले यो दावी पूरै सन्दर्भ लुकाएर भ्रम फैलाउने हिसाबले भाइरल भएको भेट्टाएको छ । गौतमले ‘बलात्कार र थप्पड एउटै हो’ भनेकी छैनन् । १४ मिनेट लामो प्रसंगको १५ सेकेन्ड काटेर पूरा भनाइ नराखी काँटछाँट हुँदा भ्रामक देखिएको हो ।

दाबी के हो ?

१२ हजार फलोअर्स रहेको ईश्वर अर्याल नामक फेसबुक प्रोफाइलमा २०२६ जनवरी १ मा ‘बलात्कार र थप्पड एउटै हो त ?‘ शीर्षकमा एउटा स्टाटस पोस्ट गरिएको छ।

उक्त स्टाटसमा, ‘बलात्कार र थप्पड एउटै हो भन्नेले कस्तो कानून बनाउलान् ? म अचम्म परिराछु…. बलात्कार र थप्पड एउटै हो भने, निर्मला पन्तलाई थप्पड हानेर कसैले ह’त्या गरेको हो भनेर भन्न सक्नुपर्‍यो’ लगायतका विवरण लेखिएको छ।

हेर्नुस्, अर्काइभ लिंक

यो स्टायटसमा कुनै भिडियो छैन तर तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा २३७ रियाक्सन, ५६ वटा कमेन्ट छ भने ७० पटक सेयर गरिएको छ।

हामीले ‘बलात्कार र थप्पड’ किवर्ड राखेर थप सर्च गर्‍यौँ। त्यो क्रममा सोही आशयका कयौँ स्टाटस तथा भिडियो क्लिप सामाजिक सञ्जालमा कयौँ प्रोफाइलबाट अपलोड तथा सेयर भएको भेट्यौँ ।

२३ हजार फलोअर्स रहेका राजु पहारी दर्शन नामक फेसबुक पेजमा पनि गौतमको सोही क्लिप भाइरल छ।

उनले ‘झापड हान्नु र बलात्कार हुनु एउटै हो ? …. कसैले शारीरिक क्षति नपुर्‍याई बलात्कार गर्‍यो भने झापड सरह मानेर चुपचाप बस्नु हुन्छ होला कि कानुनी उपचार खोज्नु हुन्छ होला। उहाँलाई भेटे भने यो प्रश्न सोध्न मन छ’ क्याप्सन राखेर एउटा भिडियो क्लिप अपलोड गरेका छन्।

१५ सेकण्ड अवधिको भिडियो क्लिपमा गौतमले भन्दै गरेको सुनिन्छ- ‘बलात्कृत महिला जसको शरीरमा उसलाई चाहीँ कुनै हानी नोक्सानी भएको छैन,… बलात्कृत भइसकेपछि पनि उसलाई केही पनि छैन भनेदेखि बलात्कृत हुनु र उसलाई कसैले झापड लगाउनुमा केही पनि फरक छैन भन्छु के म।’

हेर्नुस्, भिडियो क्लिपको स्क्रिन रेकर्ड :

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा ४७ सय रियाक्शन, ८४१ कमेन्ट र ४७३ पटक सेयर गरिएको छ।

तथ्य के हो ?

यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले सोबिता गौतमको भाइरल भिडियोमा देखिएको दृश्यलाई गुगलमा रिभर्स इमेज सर्च गर्‍यौँ। त्यसैगरी युट्युबमा सोबिता गौतम भाइरल भिडियो किवर्ड राखेर सर्च गर्‍यौँ।

त्यो क्रममा नेक्स्ट रिभोलुसन नामक युट्युब च्यानलबाट सात वर्षअघि ‘Daju Bhai talk show E #14 with Ms. Sobita Gautam’ शीर्षकमा अपलोड भएको एउटा भिडियो भेट्यौँ। यो भिडियो र सामाजिक सञ्जालमा भाइरल भएको क्लिप्समा देखिएको स्टुडियो र गौतमको पहिरन उस्तै देखिन्थ्यो ।

उक्त भिडियो ३९ मिनेटभन्दा लामो छ । त्यसमा बलात्कार सम्बन्धी प्रसंग करिब १४ मिनेटसम्म चलेको छ । तर सामाजिक सञ्जालमा भाइरल भएको भिडियो भने त्यसको केवल १५ सेकेन्डको अंश हो ।

पूरै भिडियोमा गौतमले बलात्कार र थप्पड एउटै हो (अर्थात्, उस्तै प्रकृतिको वा बराबर गम्भीरताको अपराध हो) भनेर भनेकी छैनन्। उनले यी दुई घटनालाई समाजले हेर्ने दृष्टिकोण र पीडितमा पर्ने मानसिक दबाबको सन्दर्भमा तुलना गर्न खोजेको देखिन्छ ।

गौतमले बलात्कारको विषयलाई समाजले अत्यधिक “ग्लोरिफाइ” गरेको (इज्जत, जीवन समाप्त भएको जस्तो बनाएको) बताएकी छन्। उनका अनुसार बलात्कारलाई यसरी प्रस्तुत गर्दा पीडित महिलाले “अब मेरो जिन्दगी सकियो” भनेर सोच्न बाध्य हुन्छन्, जसले पुनर्स्थापनालाई झन् गाह्रो बनाउँछ ।

उनले उदाहरणका लागि “थप्पड” को कुरा उठाएकी हुन्। कसैले थप्पड खाँदा त्यो पनि हिंसा हो, पीडा हुन्छ, तर समाजले त्यसलाई जीवन समाप्त भएको घटनाजस्तो बनाउँदैन। तर बलात्कारको हकमा भने समाजले पीडितलाई छि–छि, दुर–दुर गर्दै उसको भविष्य नै सकिएको जस्तो व्यवहार गर्छ—यही सोच बदल्नुपर्ने उनको मुख्य तर्क हो ।

उनको भनाइको सार के हो भने, बलात्कार जघन्य अपराध नै हो तर, यदि जीवनमा नहुनुपर्ने यस्तो घटना भइसकेको छ र पीडितको शरीरमा दीर्घकालीन हानी भएको छैन भने, समाजले पीडितलाई “अब त सबै सकियो” भनेर हेर्नु हुँदैन। बरु पुनः जीवन अघि बढाउन सहयोग गर्नुपर्छ।

छोटकरीमा बुझ्दा

सोबिता गौतमले बलात्कारलाई थप्पडजस्तै सामान्य अपराध भनेकी होइनन् । उनले उदाहरण (analogy) प्रयोग गरेर समाजको दृष्टिकोण बदल्नु पर्ने बताएकी हुन् । उनको जोड अपराधको गम्भीरता घटाउन होइन, पीडितलाई थप मानसिक पीडा नदिई पुनर्स्थापनामा सहयोग गर्नुपर्ने कुरामा देखिन्छ ।

पूरा भिडियो हेर्न लिङ्कका लागि यहाँ क्लिक गर्नुस्।

हेर्नुस्, स्क्रिनरेकर्ड

तर बलात्कारको प्रसंगमा १० मिनेट भन्दा लामो उनको भनाइको एक टुक्रा काटेर सञ्जालमा हाल्दा भ्रम फैलिएको हो ।

छोटकरीमा भन्दा गौतमले भनेकी छिन्- बलात्कृत हुनु हिंसामा पर्नु हो । तर, जीवनमा नहुनुपर्ने घटना भइगयो भने समाजले ‘यसको जिन्दगी सकियो भनेर छि छि र दुरदुर’ गर्दा पीडितलाई पुनर्स्थापना हुन गाह्रो हुन्छ । त्यसलै जीवनमा नहुनुपर्ने घटना भयो र त्यो अवस्थामा शरिरमा हानी नोक्सानी भएन भने त्यो अवस्थामा थप्पड खाएको जस्तो महिला हिंसा सम्झेर पुनर्स्थापनामा लाग्नुपर्छ ।

तथ्यजाँच

दाबी : सोबिता गौतमले भनिन्, बलात्कृत हुनु र थप्पड खानु एउटै हो ।

दाबीकर्ता : ईश्वर अर्याल, राजु पहारी लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्यजाँच : भ्रामक सूचना । सोबिता गौतमले बलात्कृत हुनुलाई थप्पड हानेजस्तो सामान्य घटनाको रुपमा लिनुपर्छ भनेकी छैनन् । बलात्कारको विषयमा उनले बोलेको १४ मिनेट लामो भनाइलाई सामाजिक सञ्जालमा १५ सेकेन्डको मात्र हालिएको छ जसमा सन्दर्भ लुकाएर गलत अर्थ लाग्ने सानो टुक्रा मात्र राखिएको छ। भिडियोमा उनले प्रष्टसँग जीवनमा कथमकदाचित् बलात्कार जस्तो नहुनुपर्ने घटना घट्यो भने जिन्दगी सकियो भनेर बस्नुभन्दा पुनर्स्थापनाको लागि लाग्नुपर्ने भनेकी छिन् । र उनले यो विषय महिला सशक्तिकरणको विषयमा प्रष्ट पार्ने सवालमा भनेकी थिइन् ।

(अनलाइनखबर र नेपाल फ्याक्ट चेकको सहकार्य)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?