News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेब्रुअरी ४ मा मनाइन्छ र यसको मुख्य उद्देश्य क्यान्सर रोगबारे जानकारी दिनु हो।
विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेब्रुअरी ४ मा मनाइन्छ । सन २००० मा फ्रान्सको पेरिसमा आयोजना गरिएको क्यान्सर विरुद्धको विश्व शिखर सम्मेलनदेखि यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिनको मुख्य उद्देश्य मानिसहरूलाई क्यान्सर रोगबारे जानकारी दिनु, रोकथामको उपायहरू सिकाउनु, र क्यान्सर पीडितहरूको सहयोग गर्नु हो ।
क्यान्सर भनेको के हो ?
क्यान्सर एक रोग हो, जसमा हाम्रो शरीरका कोषिका अनियन्त्रित रूपमा बढ्न थाल्छ । सामान्य अवस्थामा, कोषिका पुरानो भएपछि मर्छन् र नयाँ कोषिका बन्ने क्रम हुन्छ । तर क्यान्सरमा, केही कोषिकाहरू अत्यधिक बढ्ने र शरीरको अन्य भागमा फैलिने काम गर्छन् ।
‘क्यान्सर’ शब्द ल्याटिन भाषाको ‘गंगटा’ बाट आएको हो । पहिलेका चिकित्सकहरूले मुख्य शरीरका नसा वा ट्युमरहरूलाई गंगटा जस्तो देखिन्छ भनेर यसलाई क्यान्सरयुक्त भनिरहेका थिए ।
क्यान्सरको इतिहास धेरै पुरानो छ । प्राचीन इजिप्टियनहरूले यसलाई पहिलोपटक रोगको रुपमा वर्णन गरेका थिए । १६०० ईसापूर्वको एडविन स्मिथ पपाइरसमा स्तन ट्युमर हटाउने विवरण भेटिएको छ । त्यसमा ‘फायर ड्रिल’ नामक उपकरण प्रयोग गरी ट्युमर हटाइएको उल्लेख छ । त्यस समयमा उपचारको कुनै निश्चित उपाय थिएन । अहिले क्यान्सरको सुरुवाती चरणमा छन् भने समयमै पहिचान भए उपचार सम्भव छ । ढिला हुँदा भने ज्यान जाने जोखिम हुन्छ ।
त्यसैले, क्यान्सर लाग्न नदिन यसबाट बच्ने केही उपाय बेलैमा अपनाउनु उचित हुन्छ ।
१. स्वस्थ सन्तुलित आहार
क्यान्सरबाट बच्नका लागि स्वस्थ सन्तुलित आहार खानु धेरै महत्वपूर्ण छ । दैनिक खानामा फलफूल, तरकारी, दाल, अण्डा, माछा र कम चिनी भएको खाना समावेश गर्न सकिन्छ । धेरै तेल, प्रशोधित गरिएको खाना र फास्ट फुड कम गर्नुहोस् । फलफूल र तरकारीमा भएका भिटामिन, मिनरल र एन्टिअक्सिडेन्टहरूले शरीरको कोषिका स्वस्थ राख्छ र रोगसँग लड्ने क्षमता बढाउँछ ।
हरियो सागसब्जी, गाजर, काँक्रो, सुन्तला, अम्बाजस्ता खानेकुराले शरीरलाई पोषण दिन्छ । प्रोटिनयुक्त खाना, जस्तै दाल, अण्डा वा माछाले कोषिकाको मर्मत गर्छ । सन्तुलित आहारले तौल नियन्त्रणमा राख्छ र क्यान्सरको खतरा घटाउँछ ।
२. पर्याप्त पानी पिउनु
शरीरलाई विषाक्त पदार्थबाट सफा राख्न र कोषिकालाई स्वस्थ बनाउन पर्याप्त पानी पिउनु जरुरी छ । दैनिक कम्तीमा आठदेखि दश गिलास पानी पिउन सकिन्छ । पानीले शरीरमा रहेको विषाक्त र फोहोर पदार्थलाई पिसाबमार्फत निकाल्छ । पर्याप्त पानी नपिए शरीरमा डिहाइड्रेसन, थकान, छालामा समस्या र पाचन समस्या आउन सक्छ । पानीले शरीरको तापक्रम नियन्त्रण गर्छ, रक्तसञ्चार सुधार गर्छ र मांसपेशीलाई स्वस्थ राख्छ । गर्मी मौसममा पानीको मात्रा बढाउनु आवश्यक छ । केवल पानी नभई, हरियो चिया, जुस, सूप पनि शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ ।
३. धूम्रपान र मदिराबाट बच्नु
क्यान्सरको जोखिम घटाउन धुम्रपान, गुट्खा, सिगरेट, हुक्का र अन्य नशालु पदार्थ तथा अत्यधिक मदिरा सेवन पूर्णरूपमा छोड्नु अत्यावश्यक छ । धूम्रपानले फोक्सो, मुख, घाँटी र पेटको क्यान्सरको सम्भावना धेरै बढाउँछ भने मदिराले कलेजो, पेट र अन्नप्रणालीको क्यान्सरको खतरा बढाउँछ । यदि धूम्रपान वा मदिरा खाने लत छ भने तत्काल रोक्नु उचित हुन्छ ।
यी बानीहरूले रक्तनलीमा असर गर्छ, हर्मोन सन्तुलन बिगार्छ र रोगप्रतिरोध क्षमता कमजोर पार्छ । साथै, नजिक बस्ने व्यक्तिलाई पनि यसको धूँवा र असर हानिकारक हुन्छ । त्यसैले, सुरक्षित वातावरण अपनाउनु जरुरी छ ।
४. नियमित व्यायाम
शरीरलाई सक्रिय राख्न र स्वस्थ राख्न नियमित शारीरिक व्यायाम गर्नु जरुरी छ । हप्तामा कम्तीमा १५० मिनेट मध्यम व्यायाम गर्नुहोस्, जस्तै हिँडाइ, साइकल चलाउने, पौडी खेल्ने वा हल्का दौड ।
व्यायामले रक्तसञ्चार सुधार, हर्मोन सन्तुलन कायम राख्ने र मोटोपन कम गर्ने काम गर्छ । सक्रिय जीवनशैलीले शरीरमा इन्सुलिनको मात्रा नियन्त्रणमा राख्छ, जसले क्यान्सरको जोखिम घटाउँछ । व्यायाम गर्दा मनको तनाव पनि कम हुन्छ, मानसिक स्वास्थ्य राम्रो रहन्छ र निद्रा सुधार हुन्छ । घरमै योग, स्ट्रेचिङ र सामान्य व्यायामले पनि धेरै लाभ दिन्छ ।
५. विकिरणबाट बच्ने उपाय
क्यान्सरको खतरा कम गर्न अत्यधिक विकिरणबाट बच्नु आवश्यक छ । लामो समय सूर्यको सीधा किरणमा बस्दा छालामा क्यान्सरको जोखिम बढ्छ, त्यसैले सनस्क्रिन, टोपी र सुरक्षात्मक लुगा प्रयोग गर्नुहोस् । औद्योगिक क्षेत्रमा काम गर्दा रेडियोएक्टिभ वा हानिकारक उपकरणको छेउमा सुरक्षा मास्क र अन्य सुरक्षा उपकरण लगाउनु जरुरी छ । घरमा पनि धुँवा, धुलो र हानिकारक रसायनबाट जोगिनुपर्छ ।
६. पर्याप्त निद्रा र आराम
शरीर र मस्तिष्कलाई स्वस्थ राख्न दैनिक ७–८ घण्टा निद्रा लिनु अनिवार्य छ । निद्रामा शरीरले कोषिकाको मर्मत गर्छ, हर्मोनको सन्तुलन कायम राख्छ र रोगप्रतिरोध क्षमता बढाउँछ । निद्रा नपुग्दा तनाव, मोटोपन, मधुमेह र क्यान्सरको खतरा बढ्छ । राम्रो निद्राले मानसिक स्वास्थ्य पनि सुधार गर्छ, ऊर्जा बढाउँछ र शरीरले रोगसँग लड्न सक्ने क्षमता बढाउँछ ।
७. संक्रमणबाट बच्ने
केही संक्रमणहरूले पनि क्यान्सर बढाउँछन् । पेटको क्यान्सर ‘एच पाइलोरी ब्याक्टेरिया’ले हुन सक्छ । गर्भाशयको क्यान्सर एचपीभी भाइरसबाट हुन सक्छ । कलेजोको क्यान्सर हेपाटाइटिस भाइरसबाट बढ्न सक्छ । यसका लागि सम्बन्धित खोप, सफाई, सुरक्षित यौन जीवन अपनाउनु जरुरी छ । खाना, पानी र वातावरण सफा राख्नु, र समय समयमा स्वास्थ्य परीक्षण गराउनु लाभदायी छ ।
८.औद्योगिक र वातावरणीय विषाक्त पदार्थबाट बच्ने
औद्योगिक, रसायन, पेस्टिसाइड, धुलो र धुवाँ जस्ता वातावरणीय विषाक्त पदार्थले क्यान्सरको खतरा बढाउँछन् । उद्योगमा काम गर्दा सुरक्षा मास्क, ग्लोव्ज र सुरक्षात्मक लुगा लगाउन सकिन्छ ।
घरमा पनि धुँवा कम गर्ने र खाना सफा राख्ने, वातावरणीय प्रदूषण कम गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ । लामो समय हानिकारक पदार्थको सम्पर्कमा आउँदा फोक्सो, छाला, कलेजो र अन्य अंगमा समस्या आउन सक्छ ।
९. स्वास्थ्य जानकारीमा अपडेट रहनु
क्यान्सरको जोखिम कम गर्न स्वास्थ्य जानकारीमा अपडेट रहनु धेरै जरुरी छ । नयाँ उपचार पद्धति, लक्षण र रोगबारे जानकारीले समयमै रोकथाम र उपचार सम्भव बनाउँछ। स्वास्थ्य समाचार, वेबसाइट, पुस्तिका वा डाक्टरबाट जानकारी लिनुहोस् । ज्ञानले रोकथाम र सजगता दुवै बढाउँछ ।
१०. नियमित जाँच
क्यान्सरको सुरुवाती अवस्था चाँडै पत्ता लगाउने सबैभन्दा प्रभावकारी उपाय बेलाबखतमा स्वास्थ्य परीक्षण गर्नु हो । पूर्ण शरीरको जाँच, रक्त परीक्षण, छाला परीक्षण वा आवश्यक अन्य परीक्षणले क्यान्सरको शुरुवाती अवस्था पत्ता लगाउन मद्दत गर्छ । समयमै पत्ता लागेमा क्यान्सर पुरा उपचारयोग्य हुन्छ ।
प्रतिक्रिया 4