News Summary
Generated by OK AI. Editorially reviewed.- हालसम्म चार खेलाडीले दुई फरक राष्ट्रबाट टी–२० विश्वकप खेलिसकेका छन् ।
- डर्क नानेसले नेदरल्यान्ड्स र अस्ट्रेलियाबाट टी–२० विश्वकप खेलेका थिए। डेभिड विजाले दक्षिण अफ्रिका र नामिबियाबाट खेलेका छन् ।
- रोलफ भान डर मर्वेले दक्षिण अफ्रिका र नेदरल्यान्ड्सबाट टी–२० विश्वकप खेलेका छन् भने मार्क चापमानले हङकङ र न्युजिल्यान्डबाट विश्वकप खेलेका छन्।
२१ माघ, काठमाडौं । विश्व क्रिकेटमा दुई फरक राष्ट्रका लागि अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीहरूको संख्या पछिल्लो समय बढिरहेको छ ।
दुई फरक राष्ट्रबाट टी-२०आई खेलेका खेलाडीहरूको संख्या धेरै भएपनि पुरुष टी–२० विश्वकपमा दुई फरक देशको प्रतिनिधित्व गर्ने खेलाडीहरूको संख्या कम नै छ ।
हालसम्म केवल चार खेलाडीले मात्र दुई राष्ट्रबाट टी–२० विश्वकप खेलेका छन् । अर्का एक खेलाडीले अब हुन लागेको टी-२० विश्वकप २०२६ मा यो उपलब्धि हासिल गर्ने संघारमा छन् ।
डर्क नानेस, रोलफ भान डर मर्वे, डेभिड विजा, मार्क चापमानले दुई फरक देशबाट टी-२० विश्वकप खेलिसकेका छन् । शेहान जयसुर्या अब हुने विश्वकपमा दोस्रो टिमबाट विश्वकप खेल्दै छन् ।
डर्क नानेस

नेदरल्यान्ड्सका डर्क नानेसले सन् २००९ मा नेदरल्यान्ड्सबाट टी-२० विश्वकप खेलेका थिए । त्यसपछि उनले अस्ट्रेलियाबाट सन् २०१० को टी-२० विश्वकपमा खेले ।
नेदरल्यान्ड्सबाट डेब्यू गरेको दुई महिनामा नै उनलाई अस्ट्रेलियन टी-२०आई टोलीमा समावेश गरिएको थियो ।
त्यसपछि उनले अस्ट्रेलियाबाट पनि टी-२० विश्वकप खेलेका हुन् ।
रोलफ भान डर मर्वे

रोलफ भान डर मर्वेले सुरुमा दक्षिण अफ्रिकाबाट खेलेका थिए । सन् २००९ र २०१० मा उनले त्यही टोलीबाट टी-२० विश्वकप खेलेका थिए ।
सन् २०१५ मा नेदरल्यान्ड्सको पासपोर्ट ग्रहण गरेपछि उनले नेदरल्यान्ड्सका लागि नेपालविरुद्धकै खेलमा डेब्यू गरेका थिए ।
भान डर मर्वेले नेदरल्यान्ड्सबाट सन् २०१६, २०२१, २०२२ र २०२६ का संस्करणमा सहभागिता जनाएका छन् ।
डेभिड विजा

डेभिड विजाले सन् २०१३ मा दक्षिण अफ्रिकी टोलीका लागि टी–२०आईमा डेब्यू गरेका थिए । यद्यपी धेरै खेल खेल्न भने पाएनन् ।
सन् २०१६ को टी-२० विश्वकपमा दक्षिण अफ्रिकाबाट खेले । दक्षिण अफ्रिका सुपर १० मा पुगेर बाहिरिएको थियो ।
सन् २०१७ मा काउन्टी टिम ससेक्ससँग कोलपाक डिल गरेपछि उनी दक्षिण अफ्रिकी टोलीका लागि खेल्न अयोग्य भए । त्यसपछि उनी सन् २०२१ देखि नामिबियाबाट खेल्न थाले ।
विजाले नामिबियाबाट सन् २०२१, २०२२ र २०२४ का विश्वकप खेलेका छन्।
मार्क चापमान

मार्क चापमानले सुरुमा हङकङबाट खेलेका थिए । उनले सन् २०१४ र २०१६ मा हङकङका लागि टी-२० विश्वकप खेलेका थिए ।
त्यसपछि केही वर्ष हङकङकै राष्ट्रिय टोलीबाट खेलेका उनले न्युजिल्यान्डको अकल्यान्ड क्रिकेट टोलीसँग गरेको सम्झौताका कारण हङकङको टोलीमा खेलिरहन योग्य भएनन् ।
त्यसपछि उनले न्युजिल्यान्डकै टोलीमा स्थान बनाए । उनले न्युजिल्यान्डको प्रतिनिधित्व गर्दै सन् २०२४ र २०२६ को टी-२० विश्वकपमा सहभागिता जनाएका छन् र पछिल्लो समय नियमित सदस्यका रूपमा छन् ।
शेहान जयसुर्या

आगामी टी–२० विश्वकपमा शेहान जयसुरिया पनि यही उपलब्धि हासिल गर्ने क्रममा छन् । यसअघि श्रीलंकाबाट खेलेका जयसुर्या अब अमेरिकाबाट विश्वकप खेल्ने टोलीमा परिसकेका छन् ।
जयसुर्याले सन् २०१५ मा श्रीलंकाका लागि टी-२०आईमा डेब्यू गरेका थिए । उनले सन् २०१६ मा श्रीलंकाबाट टी-२० विश्वकप पनि खेले ।
श्रीलंका समूह चरणबाट बाहिरिएको थियो । जयसुर्याले दुई खेल खेलेका थिए ।
सन् २०२१ मा उनले श्रीलंकन क्रिकेटबाट सन्यास लिँदै परिवारका साथ अमेरिका बसाइ सरेका थिए ।
प्रतिक्रिया 4