+
+
Shares

मतदानबारे कुनै अलमल छ ? घर-घर आउँदैछन् स्वयंसेवक

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार स्वयंसेवकले एक महिनासम्म नागरिकका घर–घर पुगेर मतदान गर्ने तरिकाबारे सिकाउनेछन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ माघ २२ गते ८:३५

२२ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत मतदाता शिक्षा कार्यक्रम लिएर निर्वाचन आयोग नागरिकका घर–घर पुग्दैछ ।

आयोगले यही माघ १९ गते मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम नै स्वीकृत गरेको छ । जसअनुसार हरेक वडामा एक/एक जना स्वयंसेवक खटाइँदैछ ।

मतदान प्रक्रियाको विशिष्टता र मतदान गर्ने विधि र प्रक्रियाबारे मतदातालाई जानकारी गराउन सूचना सामग्री तथा कार्यक्रमसम्बन्धी जानकारी प्रवाह गर्ने कार्यलाई मतदाता शिक्षा भन्ने गरिन्छ ।

यसलाई निर्वाचनसम्बन्धी मतदाता सचेतना कार्य पनि भनिन्छ । यस अन्तर्गत मतदातालाई निर्वाचन प्रक्रिया, निर्वाचन प्रणाली, मतदान गर्ने तरिका, उम्मेदवार, राजनीतिक दल लगायतका विषयमा जानकारी दिने उद्देश्य राखिएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार स्वयंसेवकले एक महिनासम्म नागरिकका घर–घर पुगेर मतदान गर्ने तरिकाबारे सिकाउनेछन् ।

‘मतदाता शिक्षाको कार्यक्रम एक महिनासम्म चल्नेछ । टोल–टोल र घर–घर पुगेर स्वयंसेवकले मतदातालाई प्रशिक्षित गर्नेछन्’ उनी भन्छन्, ‘भोट कसरी हाल्ने ? कसरी मत सदर गराउने ? के–के गर्‍यो भने मत बदर हुन्छ ? भनेर स्वयंसेवकहरूले मतदातालाई नमुना मतपत्रमार्फत मतदान गर्न सिकाउँछन् ।’

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत निर्वाचित हुन्छन् । यसपटकको निर्वाचनमा समानुपातिकतर्फ ६३ दलले चुनाव लड्दैछन् । एकल र संयुक्त चुनाव गरेर समानुपातिक तर्फको मतपत्रमा भने ५७ वटा मात्रै चुनाव चिह्न रहनेछ ।

फाइल तस्वीर

समानुपातिक तर्फको मतदान राजनतिक दललाई गर्ने मतदान हो । यस अन्तर्गत सिंगै देशलाई एउटा निर्वाचन क्षेत्र मानिन्छ । दलहरूले प्राप्त गरेको कूल मतका आधारमा सांसदहरू छानिन्छन् । यसका लागि दलहरूले गत पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदारको नाम निर्वाचन आयोगमा बुझाइसकेका छन् ।

त्यसउपर आयोगले अध्ययन गरेर अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । यसपटक ११० सिटका लागि ६३ वटा दलबाट तीन हजार १३५ उम्मेदवार छन् ।

प्रत्यक्ष तर्फको निर्वाचनमा भने उम्मेदवारले भोट पाउँछन् । सम्बन्धित निर्वाचन क्षेत्रमा खसेको मतमा जसले बहुमत ल्याउँछ उनी विजयी हुन्छ । यस अन्तर्गत निर्वाचित हुने १६५ जनाका लागि सबै राजनीतिक दल र स्वतन्त्र समेत गरी तीन हजार ४०६ जना उम्मेदवार मैदानमा छन् ।

यस किसिमको मिश्रित निर्वाचन प्रणाली अन्तर्गत नेपालमा यसअघि २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचन भइसकेको छ ।

कसरी छानिन्छन् स्वयंसेवक ?

मतदाता शिक्षाका लागि स्वयंसेवक छान्ने र नियुक्त गर्ने अधिकार जिल्ला निर्वाचन कार्यालयलाई दिइएको छ ।

निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुसार ‘स्कुलका बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्ये एकजना स्वयंसेवक छानिनेछन् ।

स्वयमसेवकको शैक्षिक योग्यता एसएलसी वा सो सरह हुनुपर्ने भनिएको छ । अनुभवीलाई प्राथमिकता दिइनेछ ।

निर्वाचन आयोगले मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि कल सेन्टर नै स्थापना गरेको छ । जहाँ दिनहुँ जिज्ञासा तथा प्रश्नहरू पुगिरहेका हुन्छन् ।

‘अनुभवी हुँदा राम्रो हुने भयो । साथसाथै मतदाता शिक्षाका लागि अग्रसर र तत्परता देखाउने व्यक्ति पनि हुनुपर्‍यो’ स्वयंसेवक छनोटबारे आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले अनलाइनखबरसँग भने ।

स्वयमसेवक घर–पुग्नु अगाडि निर्वाचन आयोगले उनीहरूका लागि सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम राख्दैछ ।

यो कार्यक्रम आगामी फागुन ३ गतेदेखि सातै प्रदेशमा सञ्चालन हुनेछ । अभिमुखीकरण पछ्चात स्वयमसेवकहरू टोल–टोल र घर–घरमा पुग्नेछन् ।

यसका साथै सञ्चारमाध्यमबाट समेत प्रचार/प्रसारका कार्य हुनेछ । यसका लागि आयोगले सरकारी सञ्चारमाध्यमहरूसँग सम्झौता गरेको छ । जसअनुसार सञ्चारमाध्यमहरू (नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति)बाट मतदानको तरिकाबारे सचेतनामुलक समाचार र समाचारजन्य सामग्री सम्प्रेषित हुनेछन् ।

फाइल तस्वीर

मतदाता शिक्षा कति आवश्यक ?

निर्वाचन आयोगले मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि कल सेन्टर नै स्थापना गरेको छ । जहाँ दिनहुँ जिज्ञासा तथा प्रश्नहरू पुगिरहेका हुन्छन् ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचनसँग सम्बन्धित विषयमा अलमल भए वा कुनै प्रश्न रहे निःशुल्क टोल–फ्री नम्बर ११०२ मा कल गर्न सकिन्छ ।

५ माघमा स्थापना भएको कल सेन्टरमा मंगलबारसम्म एक हजार आठ सय बढी जिज्ञासा तथा प्रश्नहरू प्राप्त भएका छन् । ती जिज्ञासा तथा प्रश्नहरूमा धेरैजसो मतदाता शिक्षा र मतदाता नामावली सम्बन्धी छन् ।

राष्ट्रिय परिचयपत्रमा पति र पत्निको नाम फरक छ । यस्तोमा मतदान गर्नका लागि कुनै अवरोध हुन्छ कि हुँदैन ? मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य हो कि होइन ? लगायतका प्रश्न समेत कल सेन्टरमा पुगेका छन् ।

निर्वाचन आयोगका अनुसार मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिवार्य छ । मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ ।

मतदाता परिचयपत्र नभएको वा नासिएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जा मध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।

निर्वाचन आयोगमा जिज्ञासा राख्नेले यस्तो जवाफ पाएका छन् । तर, निर्वाचन आयोगको सम्पर्कमा नआएकाहरूलाई यी लगायतका प्रश्न र जिज्ञासाको सम्बोधन गर्नका लागि आयोगले टोल–टोल र घर–घरमा स्वयंसेवक पठाउन लागेको हो ।

कल सेन्टरमा प्राप्त जिज्ञासा तथा प्रश्नले समेत मतदाता शिक्षाको आवश्यकता औंल्याउने निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।

मतदाता शिक्षाले निर्वाचनमा सहभागिता र सदर मत दुवै बढाउने विश्वास पनि गरिन्छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता जीसी भन्छन्, ‘दिनहुँ ५०/५५ वटा जिज्ञासा तथा प्रश्नहरू कल सेन्टरमा आउने गरेका छन् । जस्ता प्रश्न र जिज्ञासाहरू आएका छन् त्यसले मतदाता शिक्षाको आवश्यकता स्वतः औंल्याउँदछ ।’

विगतका पनि निर्वाचनको सम्मुख मतदाता शिक्षा सञ्चालन हुने गरेका थिए । मतदाता शिक्षाबाट नागरिकले मतदाता सूचीमा आफ्नो नाम रहे, नरहेको र मतदाता सूचीमा नाम समावेश नभएको अवस्थामा मतदान गर्न सकिने वा नसकिने जस्ता विषयको जानकारी पाउन सक्दछन् ।

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार व्यवहारतः मतदाता शिक्षा निर्वाचन प्रक्रियासँग सम्बन्धित आधारभूत ज्ञान तथा निर्वाचनका बारेमा जानकारीमूलक सन्देश प्रवाह गर्ने कार्य हो । यस्तो कार्यक्रमले निर्वाचन प्रक्रियालगायत निर्वाचनसँग सम्बन्धित विविध पक्षको सन्दर्भमा जनचेतना अभिवृद्धि गर्ने कार्यमा सहयोग पुर्‍याउँछ ।

मतदाता शिक्षाले निर्वाचनमा सहभागिता र सदर मत दुवै बढाउने विश्वास पनि गरिन्छ । महिला, युवा, आदिवासी जनजाति, दलित एवं अन्य विशिष्ट समूहलाई निर्वाचनमा सहभागी गराउन समेत मतदाता शिक्षा लगायतका कार्यक्रमले प्रोत्साहित गर्ने आयोगको अनुभव छ ।

यसका साथै निर्वाचन प्रक्रियाको स्पष्टताले सही बुझाइमा मद्दत पुर्‍याउनुका साथै बदर मत कम गर्नमा समेत मद्दत गर्दछ ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?