+
+
Shares

शैक्षिक विवरण नखुलाउने ६७९ उम्मेदवार

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा यस्ता उम्मेदवार पनि छन् जसले आफ्नो शैक्षिक योग्यता लगायतका व्यक्तिगत विवरण लुकाउने प्रयास गरेका छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ माघ २३ गते २१:१०

२२ माघ, काठमाडौं । संसदीय व्यवस्थामा सरकार संसद्प्रति उत्तरदायी हुन्छ भन्ने मान्यता छ । संसद् स्वयं जनताप्रति खुला र पारदर्शी हुने अपेक्षासमेत गरिन्छ ।

राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख कृष्णहरि बास्कोटाका नजरमा संसद् जनताको प्रतिनिधिमूलक संस्था भएकाले त्यसका सदस्यहरू आफ्नो व्यक्तिगत, शैक्षिक र राजनीतिक पृष्ठभूमिबारे खुला र पारदर्शी हुनुपर्छ । संसद् सदस्यको सन्दर्भमा पारदर्शिता भनेको शैक्षिक योग्यता, आर्थिक अवस्था र सम्पत्ति विवरण, पेसा, लगानी र स्वार्थ, आफूउपर कुनै मुद्दा भए/नभएको लगायतका विषय सार्वजनिक पहुँचमा रहनु हो ।

तर, आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा यस्ता उम्मेदवार पनि छन् जसले आफ्नो शैक्षिक योग्यता लगायतका व्यक्तिगत विवरण लुकाउने प्रयास गरेका छन् ।

निर्वाचन आयोगको तथ्यांकअनुसार प्रत्यक्षतर्फबाट निर्वाचित हुने १६५ सिटका लागि तीन हजार ४०६ जना उम्मेदवार छन् । त्यसमध्ये ६७९ जनाले आफ्नो शैक्षिक योग्यता खुलाएका छैनन् । शैक्षिक योग्यता नखुलाउने उम्मेदवारहरूमा पीएचडी गरेकाहरू समेत छन् ।

डा. मिनेन्द्र रिजाल मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । रिजालले अमेरिकाको न्युयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् । तर उम्मेदवारको शैक्षिक विवरणमा उनले यो योग्यता खुलाएका छैनन् ।

डा. दीपकप्रकाश भट्ट कञ्चनपुर–३ बाट उम्मेदवार छन् । भट्टले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् । उनी २०७४ सालको प्रतिनिधिसभाका सदस्य पनि थिए । तर यसपटक उम्मेदवारी दर्ता गर्दा शैक्षिक विवरण भरेनन् ।

ठूला दलकै धेरै

शैक्षिक विवरण नखुलाउनेमा ठूला दलका उम्मेदवार धेरै छन् । नेपाली कांग्रेसबाट उम्मेदवार रहेका ३४ जनाले शैक्षिक विवरण खुलाएका छैनन् । कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

नेकपा एमालेका ३१, नेपाली कम्युनिस्ट पार्टीका २९, राष्ट्रिय स्वतन्त्र पार्टीका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३२ जना उम्मेदवारले आफ्नो शैक्षिक विवरण खुलाएका छैनन् ।

नेकपा एमाले र राप्रपाले १६३, नेपाली कम्युनिस्ट पार्टी र रास्वपाले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का २५, नेसनल मंगोल अर्गनाइजेसनका २५, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का २५, श्रम संस्कृति पार्टीका २३, उज्यालो नेपाल पार्टीका १७, जनता समाजवादी पार्टी नेपालका ६, नेपाल जनमुक्ति पार्टीका पाँच, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चार जना उम्मेदवारले पनि शैक्षिक विवरण खुलाएका छैनन् ।

नेमकिपाले १२०, श्रम संस्कृति पार्टीले १०९, नेसनल मंगोल अर्गनाइजेसनले ११३, उज्यालो नेपाल पार्टीले १०६, जनता समाजवादी पार्टी नेपालले ९४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

ऐच्छिक भएकाले खाली

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार उम्मेदवारका लागि शैक्षिक योग्यता भर्ने विषय ऐच्छिक राखिएको थियो । उनी भन्छन्, ‘शैक्षिक योग्यता भर्ने विषय एैच्छिक थियो । यसकारण कतिपयले नभरेका पनि हुन सक्छन् ।’

२१ फागुनमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता यही माघ ६ गते भएको थियो । मनोनयन दर्ता गर्दा व्यक्तिगत विवरण भर्नुपर्ने गरी आयोगले त्यसको ढाँचा नै तयार पारेको थियो । जसमा नाम, जन्ममिति, जन्म स्थान, शैक्षिक योग्यता, विगतको अनुभव लगायतका विवरण उल्लेख गर्ने ठाउँ थियो । पेसा, व्यवसाय, विगतको सामाजिक, राजनीतिक अनुभव र जिम्मेवारीका विवरण भर्न मिल्ने गरी उक्त ढाँचा तयार गरिएको थियो ।

तर, विभिन्न राजनीतिक दलका र स्वतन्त्रसमेत गरी ६७९ जना उम्मेदवारले शैक्षिक योग्यता भर्नुपर्ने ठाउँमा खाली छोडिदिएका हुन् । यसमा २११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी दलीय उम्मेदवार हुन् ।

राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख बास्कोटा जेसुकै तर्क गरे पनि शैक्षिक विवरण नखुलाउनुलाई राम्रो मान्न नसकिने बताउँछन् ।

‘विवरण खुलाउनुपर्ने विषय ऐच्छिक थियो वा थिएन भन्ने कमजोर तर्क हो । किनभने, जो माननीय हुन खोज्दैछ उसले आफ्नोबारे अधिकतम जानकारी मतदातालाई दिनुपर्छ,’ उनी भन्छन्, ‘आयोगले मागेको विवरणसमेत ऐच्छिक हो भनेर लुकाउने प्रवृत्तिलाई उत्तम मान्न सकिँदैन ।’

बास्कोटाका बुझाइमा औपचारिक शिक्षा सबथोक होइन । ‘नपढेको हुनसक्छ, तर जीवन भोगाइ अरूको भन्दा पृथक हुनसक्छ । जसले मुलुकको सही नीति बनाउन योगदान गर्न सक्छ,’ उनी भन्छन्, ‘अहिले जस्तो पहिले औपचारिक शिक्षा लिने पनि त कम थिए ।’

नेपालले समानुपातिक समावेशी नीति अंगिकार गरेको छ । सीमान्तकृत समुदाय, पछाडि परेका समुदाय, वर्ग र क्षेत्रको प्रतिनिधित्वको सुनिश्चित गरिएको छ । यस्तोमा सबैले औपचारिक शिक्षा लिएकै हुन्छन् वा औपचारिक शिक्षा लिएकै हुनुपर्छ भन्ने छैन ।

बास्कोटा भन्छन्, ‘सम्बन्धित समुदायको आवाज बोल्ने थलो हो संसद् । त्यहाँ जानेले औपचारिक शिक्षा लिएकै हुनुपर्छ भन्ने छैन । जनताको आवाज राख्न सके हुन्छ । खाली संसद् सदस्य हुन खोज्नेले आफ्ना विवरण लुकाउनु भएन । प्रश्न यत्ति हो ।’

संविधानत: २५ वर्ष उमेर पुगेको जो कोही नागरिक जुनसुकै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनसक्छ । शैक्षिक योग्यताको विषयमा केही भनिएको छैन ।

खुलेका विवरणमा केही त्रुटि

तथापि, ठूलो संख्याका उम्मेदवारहरूले आफ्नो शैक्षिक विवरण खुलाएका छन् ।

१२ जना उम्मेदवारले निरक्षण रहेको विवरण भरेका छन् । शैक्षिक योग्यतामा साक्षर लेख्नेको संख्या २६५ छ । एक जनाले कक्षा तीनसम्म अध्ययन गरेको लेखेका छन् । कक्षा पाँचसम्म अध्ययन गर्ने उम्मेदवारको संख्या १४ छ ।

तीन जनाले कक्षा ६, ११ जनाले कक्षा सात, ७० जनाले कक्षा आठ, २४ जनाले कक्षा ९ पढेको विवरण खुलाएका छन् । ८११ जनाले कक्षा १० वा कक्षा १० पास लेखेका छन् ।

कक्षा १२ वा सो सरहको अध्ययन गर्ने उम्मेदवारको संख्या ५७७ छ । स्नातकसम्मको अध्ययन गरेको विवरण खुलाउनेको संख्या ५९८ छ । ३३९ जना उम्मेदवारले शैक्षिक योग्यतामा स्नातकोत्तर लेखेका छन् । आठ जनाले एमफिल र ५५ जनाले पीएचडी गरेको विवरण उल्लेख गरेका छन् ।

तर, कतिपय उम्मेदवारहरूले खुलाएको विवरणमा केही गल्ती रहेको पाइएको छ । अध्ययन गरिरहेको तह नै उल्लेख गरेका कारण त्यस्तो हुन पुगेको हो । यस्तोमा स्नातक, स्नातकोत्तर र पीएचडी लेख्नेहरू छन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?