२५ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा चौधरीको रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । यो सुनुवाइले चौधरीको मागमाथि अन्तरिम आदेश दिने कि नदिने भनेर तय गर्ने छ ।
चौधरीले कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गर्ने निर्णय गरेको थियो । जन्मकैदको सजाय पाएको व्यक्ति भएकाले निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार बन्न अयोग्य रहेको निष्कर्षसहित चौधरीको उम्मेदवारी खारेज गरेको थियो । सोही निर्णयउपर निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर चौधरीले सर्वोच्च पुगेका थिए ।
दुई साताअघि चौधरीको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेर निर्णयको फाइल र केही मुद्दाको मिसिल झिकाउन आदेश गरेको थियो ।
टीकापुर घटनामा संलग्न भएको आरोपमा तीन तहकै अदालतबाट दोषी सावित भएका चौधरीमाथि जन्मकैदको फैसला भएको थियो । पछि सरकारले माफीमिनाहाको माध्यमबाट उनको कैद मिनाहा गरेको थियो ।
दुई साताअघि सर्वोच्चले चौधरीसँग सम्बन्धित चारवटा फाइल पेस गर्न आदेश दिएको थियो । पहिलो, २ जेठ २०८० मा भएको फैसला पेस गर्न भनेको थियो । जसमा सर्वोच्चले चौधरीमाथि टीकापुर घटनामा संलग्न भएको आरोप सदर गर्दै चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो ।
दोस्रो, चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा निर्वाचित गरिएको भन्ने नागरिक उन्मुक्ति पार्टीको निर्णयलाई निर्वाचन आयोगले अद्यावधिक गर्न अस्वीकार गरेको थियो । त्यो निर्णयविरुद्ध पनि चौधरी सर्वोच्च अदालत पुगेका थिए, सर्वोच्चले त्यो विवरण समेत पेस गर्न आदेश दिएको हो ।
तेस्रो, चौधरीलाई माफीमिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् । सर्वोच्चले त्यो फाइल पनि अध्ययनका लागि पेस गर्नु भनेको थियो ।
चौथौ, सर्वोच्चले कैलाली–१ का निर्वाचन अधिकृतको निर्णयको प्रमाणित प्रति पेस गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया 4