+

मुक्तिनाथमा पाँचौं राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न

२०८२ माघ  २५ गते २३:५१ २०८२ माघ २५ गते २३:५१
मुक्तिनाथमा पाँचौं राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्की संघले मुस्ताङ जिल्लाको बारागाउँ मुक्तिनाथ क्षेत्रमा पाँचौं राष्ट्रिय स्की प्रतियोगिता आयोजना गरेको छ।
  • प्रतियोगितामा ४० खेलाडीमध्ये १४ पुरुष र १० महिला खेलाडी मात्र प्रतिस्पर्धा योग्य भएका थिए।
  • पुरुष सिनियरतर्फ रसुवाका छेवाङ मिंगुर तामाङ प्रथम भएका छन् र नेपाल ओलम्पिकमा सहभागी भइसकेका छन्।

२५ माघ, काठमाडौं । नेपाल स्की संघले मुस्ताङ जिल्लाको बारागाउँ मुक्तिनाथ क्षेत्रमा प्रशिक्षण तथा पाँचौं राष्ट्रिय स्की प्रतियोगिता आयोजना गरेको छ।

बारागाउँ मुक्तिनाथ क्षेत्रमा चौथो पटक प्रतियोगिता आयोजना गरेको हो। सन् २०२२ मा तेस्रो राष्ट्रिय प्रतियोगिता सम्पन्न भएपछि हिउँको अभावका कारण तीन वर्षसम्म प्रतियोगिता आयोजना हुन सकेको थिएन। शनिबार सम्पन्न पाँचौँ राष्ट्रिय स्की प्रतियोगितामा ४० खेलाडीमध्ये १४ पुरुष र १० महिला खेलाडी मात्र प्रतिस्पर्धाका लागि योग्य भएका थिए।

प्रतियोगितामा पुरुष सिनियरतर्फ रसुवाका छेवाङ मिंगुर तामाङ प्रथम, झापाका समिप लामिछाने दोस्रो र दोलखाका पुन्दरीक पाण्डे तेस्रो भए। पुरुष जुनियरतर्फ दोलखाका सामदेन खेल्नु शेर्पा प्रथम, भक्तपुरका अर्थ सिंह बोहरा दोस्रो र मुस्ताङका केशाङ गुरुङ तेस्रो भए।

महिला जुनियरतर्फ काठमाडौंकी नयना शाक्य प्रथम, महोत्तरीकी मेनका कुमारी आले दोस्रो र काठमाडौंकी आसिया तामाङ तेस्रो भइन्। महिला सिनियरतर्फ नुवाकोटकी संगिता लामा प्रथम र आयुशी महर्जन दोस्रो भइन्।

पुरुष सिनियरतर्फ प्रथम भएका छेवाङ मिंगुर तामाङ सन् २०२५ मा दक्षिण कोरियामा आयोजना भएको चौथो विन्टर युथ ओलम्पिकमा नेपालबाट सहभागी भइसकेका खेलाडी हुन् भने दोस्रो भएका समिप लामिछाने २०२५ मा चीनमा आयोजना भएको एसियन स्की प्रतियोगितामा सहभागी भइसकेका खेलाडी हुन्।

प्रतियोगितामा विजयी खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठ, संघका उपाध्यक्षहरू शम्भु लामा र अन्जु भट्टराई, कोषाध्यक्ष जीतेन्द्र श्रेष्ठ तथा बारागाउँका मुखिया ग्याल्जेन गुरुङले मेडल तथा प्रमाणपत्र प्रदान गरे।

सो अवसरमा अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीलाई बधाई दिँदै मुस्ताङको मुक्तिनाथ क्षेत्र नेपालको हिमाली जिल्लामध्ये स्की खेलका लागि सबैभन्दा उपयुक्त स्थान भएको बताए। उनले शीतकालीन खेलको विकास र विश्वका स्की खेलाडीहरूको गन्तव्यका रूपमा यस क्षेत्रलाई विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे।

धार्मिक दृष्टिले समेत प्रसिद्ध पवित्र भूमि भएकाले खेल पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको भन्दै उनले व्यवस्थित पूर्वाधार विकासका लागि प्रदेश तथा संघीय सरकारले ध्यान दिनुपर्ने बताए। कार्यक्रम सञ्चालन संघका महासचिव विजय श्रेष्ठले गरे।

पाँचौं राष्ट्रिय स्की प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय