News Summary
Generated by OK AI. Editorially reviewed.- झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र बालेन शाहबीच प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिस्पर्धा छ।
- ओली र बालेनले दही चोक र दमक बजार क्षेत्रमा घरदैलो गर्दै समर्थकसँग फोटो खिच्ने र सामाजिक सञ्जालमा प्रचार गर्ने प्रयास गरे।
- झापा ५ मा २३ जना उम्मेदवार छन् र १ लाख ६३ हजार ३८९ मतदाता रहेका छन्।
२६ माघ, दमक । आइतबार साँझ ५:१७ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापाको कमल गाउँपालिकामा पर्ने दही चोकमा स्थानीयसँग भेटघाट गर्दैगर्दा स्कुलबाट फर्कदै गरेकी बालिकालाई अभिभावकले छेउमा पुर्याएँ । मतदाताको भिडमा नाबालिका देखेपछि एमाले अध्यक्ष ओलीले काखमा बोक्दै भने, ‘लु फोटो खिचौं ।’ त्यसपछि ओलीको सचिवालय, पत्रकार स्थानीयले फोटो खिचे ।
त्यसपछि पनि उनी भेटघाट र ज्येष्ठ नागरिक सम्मानमा व्यस्त भए । दही चोकमा भेला भएका स्थानीयलाई भेट्दा हरेक ठाउँमा उनले फोटोका लागि पोज दिए । उनका समर्थकले फोटो खिचे अनि नारा लगाए, ‘झापाको भक्का, ओलीको जित पक्का ।’ त्यसअघि गेउरिया चोकको दृश्य पनि उस्तै थियो ।
*****
आइतबार दिउँसो साढे २ बजे दमक बजारको लेखनाथ चोक पुग्ने सूचना पठाएर बालेन साह ३:२० बजे पुगे । चोकमा भेला भएका समर्थकलाई हात हल्लाएर अभिवादन गरे । उनी आउँदा चोकमा पहिल्यै भिड लाग्यो । करिब १ मिनेट पैदल यात्रा गर्दा उनको अघिपछि मोबाइल तैनाथ थिए । त्यसपछि गाडी चढ्न खोज्दा स्थानीयले घेरेर समर्थकले भने, ‘यता हेरिदिनु न ।’ गाडीमा चढ्नु अघि बालेनले मुस्कुराउँदै हेरे । बालेनले मुस्कुराएपछि अगाडि रहेको भिड खुसीले चिच्यायो ।
त्यसपछि बालेन नमुना बस्ती हुँदै आफ्नो चुनावी अभियानमा लागे । दमक ३ मा प्रतिस्पर्धी केपी शर्मा ओलीको चुनावी कार्यालयमा भेला भएकासँग हात मिलाए । स्थानीयसँग भेट गरे ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली र बालेन शाह प्रतिस्पर्धी हुन् । उनीहरुसँगै नेकपाबाट रञ्जित तामाङ, कांग्रेसबाट मन्थरा पौडेल चिमरियासहित साना दल र स्वतन्त्र उम्मेदवार मैदानमा छन् । तर, राजनीतिको केन्द्रमा बालेन र ओली छन् । त्यसपछि रञ्जित तामाङ छन् ।
ओली र बालेन आफ्नो दलबाट प्रधानमन्त्रीको रुपमा प्रस्तुत भएका हुन् । रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ । एमालेले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने बताएको छ ।
गत माघ ६ गते मनोनयन दर्तापछि पाँच दिन पूर्वमा बिताएर १० गते काठमाडौं फर्किएका बालेन शाह माघ १९ गते झापा फर्किएका थिए । २० गते घरदैलो गरेका उनी फेरि अन्य जिल्लाको यात्रा गर्दै आइतबार फर्किएर घरदैलो गरेका थिए । मनोनयन दर्तापछि केही दिन झापामा बिताएर काठमाडौं फर्किएका ओली पनि शुक्रबार झापा आएका थिए ।

आइतबार केपी शर्मा ओलीले कमल गाउँपालिका क्षेत्रमा गाउँमा घरदैलो गरेका थिए । बालेन शाह दमक बजार क्षेत्रमा केन्द्रित थिए । दुवैको चुनावी अभियानमा समान दृश्य देखियो, फोटो क्रेज ।
केपी ओलीको घरदैलोमा बालबालिका अभिभावकसँग उपस्थित भएका थिए । बालेनसँग फोटो खिच्न जेनजी पुस्ताको बाक्लो उपस्थिति थियो । दुवै नेताको ध्यान भने सेल्फी पोज दिनमा केन्द्रित थियो ।
राजनीतिक पृष्ठभूमि र उमेर समूह फरक भए पनि दुवै नेताले ‘सामाजिक सञ्जाल’को प्रयोगलाई प्राथमिकता दिएका छन् । गेउरिया चोकमा ओलीसँग फोटो खिच्ने क्रममा समर्थकले मोबाइलबाट फोटो खिच्न खोज्दा ओलीको सचिवालयका कर्मचारीले भने, ‘मोबाइलले नखिच्नु सबै फोटो भरे बालकोटमा आउँछ ।’ केपी शर्मा ओलीको सचिवालयले ‘बालकोट’ नामक फेसबुक पेज सञ्चालन गर्छ । समर्थकले मात्रै होइन । ओली आफैं पनि फोटो खिच्न चासो दिइरहेका थिए ।
बालेन शाह सामाजिक सञ्जालको प्रयोगबाट उदाएका नेता हुन् । पछिल्लो समय ओली पनि उत्तिकै ‘डिजिटल’ देखिएका छन् । घरदैलोमा उनी फोटोका लागि पोज दिइरहेका हुन्छन् । सचिवालयका कर्मचारीलाई फोटो खिच्न निर्देशन दिइरहन्छन् । दुवै नेताले आफ्ना समर्थकहरूसँग मुस्कुराउँदै तस्बिर खिचाउने र ती तस्बिरहरूलाई तत्कालै सामाजिक सञ्जालमा सेयर गरेर मतदाताको ध्यान तान्ने प्रयास गरिरहेका छन् ।
एमालेको सम्पर्क कार्यालयमा पुगे बालेन
चुनावी दौडधुपका बीच दमक नगरपालिका वडा नम्बर ३ मा फरक दृश्य देखियो । केपी शर्मा ओलीको प्रचारका लागि खोलिएको सम्पर्क कार्यालयमा बालेन शाह पुगे । त्यहाँ एमालेका झण्डा र ब्यानर मुनि बसेका कार्यकर्ताहरूसँग बालेनले हात मिलाएर फर्किए । प्रतिस्पर्धा र वैचारिक भिन्नताका बीच बालेनले देखाएको यो शालीनताको सामाजिक सञ्जालमा चर्चा भयो ।

घरदैलोको क्रममा ओलीको स्वागतमा कार्यकर्ताहरू परम्परागत शैलीमा फूलका गुच्छा र माला बोकेर बाटोमा लाइन लागेर उभिन्छन् । दही चोक र गेउरियामा ओली आउनु अघि नै एमाले कार्यकर्ताले लाइन बस्नु भन्दै अराएका थिए । बालेनको हकमा भने अलिक अव्यवस्थित भिड थियो । युवाहरु उनीसँग फोटो खिच्न लालायित थिए । भिड अनियन्त्रित जस्तो देखिन्थ्यो । अर्थात् ओलीको जस्तो लाइनबद्ध भिड थिएन ।
‘बा’ भन्दै ढोग्ने र आशीर्वाद लिने वृद्धवृद्धाहरूको लर्कोले ओलीको पुरानो विरासतलाई झल्काउँथ्यो । बालेनको हकमा भने दृश्य फरक थियो । उनीसँग भेट्न फूल र माला भन्दा धेरै मोबाइल क्यामराहरू तेर्सिएका थिए । बालेनको एक झलक कैद गर्न र उनीसँग एउटा सेल्फी खिच्न आतुर युवाहरूको भिड थियो ।
लेखनाथ चेकमा विनोद खतिवडा बालेनलाई हेर्न उभिएका थिए । २०७९ सालमा ताप्लेजुङमा एमाले उम्मेदवारलाई मतदान गरेको बताउने उनी यसपटक बालेन शाहको समर्थकको रुपमा आफूलाई चिनाउँछन् । केपी ओली र बालेन शाह दुवैले आफ्नो पक्षमा पार्नका लागि प्रयास गरिरहेका छन् ।
कांग्रेस नेकपा उम्मेदवारले पनि मतदाता फकाइरहेका छन् । नेकपा उम्मदेवार तामाङ मनोनयन दर्तापछि अभियानमा छन् । कांग्रेस उम्मेदवार कडरियाले आइतबार दकम १ बाट घरदैलो सुरु गरिन् ।
दुई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिएका उम्मेदवरको फोटो क्रेजले गर्दा झापा ५ को चुनाव गाउँ–घरमा मात्र सीमित रहेन, सामाजिक सञ्जालको भित्तासम्म पुगेको छ । घरदैलोसँगै उम्मेदवारहरुले फेसबुक र टिकटकमा सामजिक सञ्जाल प्रयोगलाई प्राथमिकता दिएका छन् ।
यो पटक झापा क्षेत्र नम्बर ५ मा २३ जना प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । १ लाख ६३ हजार ३८९ मतदाता छन् ।
प्रतिक्रिया 4