News Summary
Generated by OK AI. Editorially reviewed.- दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले कथावस्तु, चित्रण र सांस्कृतिक पक्षको खुलेर प्रशंसा पाएको छ।
- फिल्मलाई कतिपय समीक्षकले ‘धमाकेदार’ र ’लामो समयपछि आएको उत्कृष्ट नेपाली फिल्म’ भनेका छन्।
- निर्देशक राउतले फिल्ममा युवा दर्शकको उल्लेख्य उपस्थिती रहेको र उनीहरूको रुचि आत्मसात गरेको बताए।
काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । फिल्म समीक्षकले यसको कथावस्तु, त्यसको चित्रण र सांस्कृतिक पक्षको खुलेर प्रशंसा गरेका छन् ।
प्रेमकथा र महिला संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको यो फिल्मलाई कतिपय समीक्षकले ‘धमाकेदार’ र ’लामो समयपछि आएको उत्कृष्ट नेपाली फिल्मको’ को रुपमा उल्लेख गरेका छन् ।
तीमध्ये केहीले पटकथा र प्रस्तुतिको प्रशंसा गरेका छन् । एक समीक्षामा भनिएको छ, ‘यो चलचित्र विशेष गरी छोरीहरूले हेर्नै पर्ने बनेको छ । केही पुरुष दर्शकले कथाको गहिराइ तुरुन्तै नबुझे पनि महिला दर्शकका लागि भने यो चलचित्र अत्यन्तै मर्मस्पर्शी र अर्थपूर्ण छ ।’
फिल्मले सामाजिक संस्कार, परम्परा र संस्कृतिलाई पनि पर्दामा निकै सुन्दर र कलात्मक ढङ्गले प्रस्तुत गरेको उनीहरूको भनाइ छ । फिल्मको प्रचारप्रसारका लागि कलाकार अभिषेक खड्का, आकृति राजभण्डारी, मधु खड्का लगायत हल भिजिटमा ब्यस्त देखिएका छन् ।

पछिल्लो सप्ताहन्त फिल्मको प्रचारका लागि उनीहरू हल–हलमा पुगे र दर्शकसँग साक्षात्कार पनि गरे । निर्देशक राउतले हलमा युवा दर्शकको उल्लेख्य उपस्थिती रहेको र उनीहरूको रुचिलाई फिल्मले आत्मसात गरेको बताए ।
लभस्टोरी फिल्मको रुपमा निर्देशकीय करिअर थालेका राउतको यो लभस्टोरी फिल्ममा पुनरागमन पनि हो । सुशान्त केसीको ग्लोबल हिट ‘बार्दली’ गीतको म्युजिक भिडियोबाट पहिचान बनाएकी आकृतिको यो डेब्यू अभिनय फिल्म पनि हो । अभिषेकको पनि यो डेब्यू फिल्म हो ।
प्रतिक्रिया 4