२७ माघ, काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ ।
दुर्घटनास्थबाट ११ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ । उद्धार गरिएका मध्ये पाँच जनाको अवस्था चिन्ताजनक छ । उनीहरु बेहोस अवस्थामा रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
उद्धार गरिएका बिरामीहरुलाई मन्थली र खुर्कोट अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए । बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको भट्टले बताए ।
रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशीमा खसेको प्रहरीले बताएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन ।
उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको टोली पनि खटिएको छ ।
अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बसमा चालक, सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको खुलेको छ ।
प्रतिक्रिया 4