२८ माघ, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका र ग्रामीण क्षेत्रको बहुदरमाई नगरपालिकालाई जोड्ने गण्डक नहरस्थित तिलावे पुल लामो समयदेखि जीर्ण अवस्थामा पुगेपछि सवारी साधनको आवागमन प्रभावित भएको छ ।
ग्रामीण भेगका लागि ‘लाइफलाइन’ का रूपमा चिनिने उक्त पुल प्रयोग गर्न नपाउँदा हजारौं स्थानीय बासिन्दा, किसान, व्यापारी, विद्यार्थी तथा बिरामीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
करिब दुई वर्षदेखि पुलबाट चार चक्के तथा ठूला सवारी साधन चल्न नसक्दा दैनिक आवतजावतमा गम्भीर कठिनाइ भइरहेको यात्रुहरूले गुनासो गरेका छन् ।
पुल जीर्ण भई जोखिमपूर्ण बनेपछि सुरक्षाका कारण सवारी आवागमन रोकिएको भए पनि सम्बन्धित सरकारी निकायले समयमै मर्मत, पुनर्निर्माण वा वैकल्पिक व्यवस्थामा ध्यान नदिँदा समस्या झन् जटिल बन्दै गएको स्थानीयवासीको गुनासो छ ।
बहुदरमाई नगरपालिका वडा नं. ४ का प्रेम साह तुराहाले पुलको अवस्था पटक–पटक सरकारी निकायले अनुगमन गरेपनि खासै उपलब्धि हासिल हुन नसकेको गुनासो गरे ।
‘सम्बन्धित निकायका मानिसहरू आउँछन्, निरीक्षण गरेजस्तो गर्छन् अनि फर्किन्छन्’, उनले भने, ‘पुल भत्किएको करिब दुई वर्ष हुन लागिसक्यो, तर कहिलेसम्म बन्ने हो भन्ने कुरा यहाँका जनतालाई अहिलेसम्म थाहा छैन ।’
तुराहाका अनुसार करिब एक महिनादेखि पुलको डाइभर्सन निर्माणको काम सुरु भएपनि हाल पैदल यात्री र हलुका सवारी साधन मात्र आवतजावत गर्न सक्ने अवस्था छ । अन्य चार चक्के र ठूला गाडी गुड्ने कुनै बाटो छैन, जसले गर्दा व्यापार, उपचार र दैनिक कामकाज सबै प्रभावित भएका छन्, उनले बताए ।
यात्रु रमिता साहले पनि पुल जीर्ण भएपछि सधैं आवागमनमा समस्या भोग्नुपरेको बताइन् । वर्षौं बितिसक्दा पनि पुल मर्मतमा जनप्रतिनिधि र सरकारी निकायले ध्यान नदिँदा यस क्षेत्रका सर्वसाधारण निकै मारमा परेका छन्, उनले गुनासो गरिन् । उनका अनुसार विशेषगरी वर्षायाममा गण्डक नहरमा पानी बढ्दा पैदल यात्रा समेत जोखिमपूर्ण बन्ने गरेको छ ।
स्थानीय किसान भौराटार निवासी हरिनारायण साहले पुल नचल्दा कृषि उपज बजारसम्म पुर्याउन कठिनाइ भइरहेको बताए ।
तरकारी, धान र गहुँ बोकेर टाढा–टाढाको वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा ढुवानी खर्च बढेको छ, उनले भने, समयमै बजार पुर्याउन नसक्दा उत्पादनको उचित मूल्य पनि पाउन गाह्रो भएको छ । उनले सम्बन्धित निकायले यस समस्यालाई गम्भीर रूपमा नलिएकोप्रति आक्रोश व्यक्त गरे ।
त्यसैगरी दैनिक मजदुरीका लागि वीरगञ्ज आवतजावत गर्ने सर्वसाधारण गेना साहले पुल बन्द हुँदा जोखिम मोलेर यात्रा गर्नुपरेको बताए । ‘पैदल हिँड्दा सधैं डर लाग्छ, पानी बढ्दा झन् समस्या हुन्छ’, उनले भने, ‘छिटो पुल बनेको हेर्न चाहेका छौं, तर कहिले बन्छ भन्ने थाहा छैन ।’
स्थानीयवासीका अनुसार पुल बिग्रनु नयाँ समस्या होइन । समयमै मर्मत सम्भार गरिएको भए यस्तो अवस्था नआउने उनीहरूको भनाइ छ । तर, दीर्घकालीन योजना र नियमित अनुगमनको अभावका कारण पुल पूर्ण रूपमा जीर्ण भई आवागमन बन्द हुन पुगेको उनीहरू बताउँछन् ।
यसैबीच चालु आर्थिक वर्ष २०८२/०८३ मा नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, पर्साबाट बोलपत्र आह्वान भएपछि ममता इन्टरप्राइजेज कन्स्ट्रक्सन प्रा.लि., लोकन्थली–१, भक्तपुर ले पुलको डाइभर्सन निर्माणका लागि २ करोड ४६ लाख ६० हजार रुपैयाँमा ठेक्का सकार गरेको छ । सम्झौताअनुसार निर्माण कार्य २०८२ माघ २३ गते सुरु भई २०८३ जेठ १ गतेभित्र सम्पन्न गर्ने उल्लेख छ ।
ठेक्का प्राप्त कम्पनीले निर्माण कार्य सुरु गरिसकेको र तोकिएको समयभित्रै डाइभर्सन निर्माण सम्पन्न गर्ने जनाएको छ । यद्यपि स्थानीयवासी भने विगतका अनुभवका कारण अझै आशंकित छन् । स्थानीयको माग छ – सम्झौता कागजमै सीमित नहोस्, काम समयमै सम्पन्न होस् ।
प्रतिक्रिया 4